कारोबार संवाददाता
बुधवार, चैत्र १२, २०७६
301

ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिकाले चालू आर्थिक वर्षको ८ महिनामा पुँजीगततर्फ ४३.६२ प्रतिशत खर्च गरेको छ । नगरपालिकाको सातौ नगरसभामा प्रस्तुत प्रतिवेदन अनुसार चालू आर्थिक वर्ष २०७६-०७७ को चालुतर्फ भने ४०.३१ प्रतिशत खर्च भएको छ । छैटौ नगरसभाले आर्थिक वर्ष २०७६-०७७ का लागि ५३ करोड ७७ लाख २७ हजार ३ सय ३४ रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट पारित गरेको थियो । यद्यपी यो अवधिमा प्रदेश तथा संघका विभिन्न मन्त्रालयबाट सर्शत अनुदानमार्फत थप बजेट प्राप्त भएको उल्लेख छ ।
तीमध्ये स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत संघीय सांसद कोषबाट १ करोड २९ लाख, प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट ८१ लाख ५५ हजार, संघमार्फत समपुरक अनुदानवापत ५३ लाख र प्रदेशको समपुरक अनुदान १ करोड रुपैयाँ प्राप्त भएको छ । यसैगरी प्रदेशबाट विशेष अनुदान ६५ लाख ९१ हजार, सामाजिक सुरक्षा भत्तामा थप बजेट १ करोड २ लाख ४ हजार, जिल्ला समन्वय समितिबाट (अन्तर स्थानीय अनुदान) ३० लाख र संघ स्थित समाज कल्याण केन्द्रबाट ९ लाख रुपैयाँ प्राप्त गरेको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट १२ लाख ६ हजार, निर्वाचन क्षेत्र विशेष कार्यक्रमबाट ३७ लाख ५० हजार, प्रदेश सर्शत अनुदान ३० लाख र संघीय सर्शत अनुदान १ करोड २४ लाख ९४ हजार रुपैयाँ प्राप्त भएसँगै बजेटको आकार बढेको हो । थप भएका बजेटसँगै बजेटको आकारमा वृद्धि भई ६१ करोड ५२ लाख २७ हजार ३ सय ३६ रुपैयाँ पुगेको नगरपालिकाले जनाएको छ ।
छैटौ नगरसभाबाट २ सय ५९ वटा विकास योजना स्वीकृत भएका थिए । तीमध्ये २ सय १० वटा उपभोक्ता समितिसँग (ठेक्का सहितको) सम्झौता गरी योजना सञ्चालनमा रहेका छन् । जसमध्ये एक सय १३ वटा योजना सम्पन्न भएका छन् । बाँकी योजना चाँडो सम्पन्न गर्न उपभोक्ता समितिसँग सम्झौता गर्ने तयारी छ ।
यसैबीच नगरपालिकाले चालू आवको लक्ष्यअनुसार ९२ प्रतिशत आन्तरिक आय संकलन गरेको छ । फागुन मसान्तसम्मको अवधिमा १ करोड २४ लाख ३७ हजार ३ सय ३६ रुपैयाँ संकलन गरेको हो । चालू आवको बजेट निर्माण गर्दा १ करोड ३५ लाख रुपैयाँ आन्तरिक आय संकलन हुने अनुमान गरेको थियो ।
नगरसभाले चालू आवमा स्वीकृत भएका तर विविध कारणले सञ्चालन हुन नसकेका योजना संसोधन गर्ने निर्णय पारित गरेको छ । नगरपालिका भित्रका ११ वटा वडाबाट सिफारिस भई आएका योजनालाई संसोधनसहित पारित गरेको हो । १२ वटा निर्णय गर्दै सकिएको नगरसभाले ३८ वटा योजनाको बजेट तथा शिर्षक संसोधन गरेको छ ।