कारोबार संवाददाता
बुधवार, चैत्र १२, २०७६
545

सरकारले पेट्रोलियम पदार्थदेखि दैनिक उपभोग्य वस्तुको मौज्दात प्रयाप्त रहेकाले बजारमा अभाव नहुने बताएको छ ।
सीमा नाका बन्द गरेपनि पेट्रोलियम पदार्थको आयात नियमितरुपमा भइरहेकाले अभाव नभएको सरकारले बताएको हो । चामल, चिनी, पेट्रोलियम पदार्थको माज्दात प्रयाप्त भएकाले बजारमा अभाव नहुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । अहिले सरकारसँग २५ हजार ७ सय ३३ मेट्रिक टन चामल रहेको छ । यस्तै पाँच हजार मेट्रिक टन चिनी गोदाममा र पाँच हजार मेट्रिक टन बाटोमा रहेको छ ।

नेपाल आयल निगमसँग पेट्रोलियम पदार्थको मौज्दात प्रयाप्त रहेको छ ।
पेट्रोल पाँच हजार ९ सय ४७ किलोलिटर, डिजेल ३४ हजार १ सय ७४ किलोलिटर रहेको छ । यस्तै हवाई इन्धन सात हजार एक सय ७६ किलोलिटर रहेको निगमले जनाएको छ । दैनिक पेट्रोलको माग चार हजार किलोलटर, डिजेल १० हजार किलोलिटर, हवाई इन्धन आठ सय किलोलिटर रहेको छ । यस्तै खाना पकाउने ग्यासको दैनिक माग एक हजार तीन सय मेट्रिक टन रहेको छ । मासिक ३८ हजार ग्यास आयात हुने गरेकोमा मार्च महिनको २३ तारिखसम्म ३१ हजार २ सय २४ मेट्रिक टन ग्यास आयात भएको छ । ग्यासको आयात नियमित भएकाले बजारमा आपूर्ति व्यवस्था सहज भएको निगमको भनाई छ ।
अत्यावश्यक वस्तुको आयात नियमितरुपमा भइरहेको र प्रयाप्त मौज्दात रहेकाले उपभोक्तालाई नआत्तिन सरकारले आग्रह गरेको छ । कोरोना भाइरसको त्रासले बजारमा अभाव हुन सक्ने भन्दै उपभोक्ताले दैनिक उपभोग्य वस्तुको खरिद गर्न थालेका छन् ।