नीरज पिठाकोटे
सोमवार, चैत्र १०, २०७६
357

वीरगञ्ज-जिल्लास्तरीय अनुगमन समितिले वीरगञ्ज महानगरपालिका भित्र खुला स्थानमा बिक्री वितरण गरेको माछामासु जफत गरेको छ ।
जिल्लास्तरीय अनुगमन टोलीले यसअघि माछा मासु व्यवसायीलाई व्यवस्थित गर्न १५ दिनको समयावधि दिएकोमा सो अवधिमा पनि मासु व्यवसायीहरुले व्यवस्थित नगरेपछि आइतबार अनुगमन टोलीले बजारमा अनुगमन गरेको हो । अनुगमनको क्रममा खुला स्थानमा बिक्री गरीरहेको फेला परेपछि मासु नियन्त्रणमा लिएर जफत गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए ।

वीरगञ्ज महानगरपालिकाकालाई खुला स्थानमा माछा मासु बिक्री वितरण गर्न रोक लगाउन जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगञ्जले परमादेश जारी गरेपनि कार्यान्वयन नभएको गुनासो बढेको थियो ।
महानगरपालिकाको अनुगमन समितिलाई माछा मासु व्यवसायीहरुले अटेर गरेर खुला स्थानमै माछा मासु बिक्री वितरण गरेपछि जिल्लाका सरोकारवाला निकायले अनुगमन सुरु गरेका हुन । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कार्कीको नेतृत्वमा रहेको अनुगमन टोलीले वीरगञ्ज महानगरको मुख्य सडकको छेउछाउमा खुला स्थानमा बिक्री गरिएको मासु जफत गरेको हो ।
पर्साका प्रमुख जिल्ला कार्कीको नेतृत्वमा रहेको अनुगमन टोलीले महानगरपालिकाको मुख्य सडकको मूर्ली, पावरहाउस चोक शाखा रोडको अदालत रोडलगायतका स्थानमा अनुगमन गरेको थियो । पटक पटक चेतावनी दिएर पनि अटेर गरेका मासु पसलको मासु अनुगमनका क्रममा जफत गरिएको र यसलाई अझै निरन्तरता दिने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारीसहित वीरगञ्ज महानगरपालिकाका उपमेयर शान्ति कार्की, सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेत, प्रहरी उपरीक्षक गंगा पन्त, महानगरपालिकाका खाद्य अधिकृत विपिनलाल दास, उपभोक्ता हित संरक्षण मञ्च प्रदेश नम्बर २ का अध्यक्ष केसी लामिछाने, वाणिज्य तथा उपभोत्ता हित संरक्षण कार्यालयका सूचना अधिकारी दिलिप खंग, माछा मासु व्यवसायी संघका सचिव ग्यासु मियाँ देवान, नगर प्रहरी लगायत सरोकारवाला कार्यालयका प्रतिनिधिहरुको टोलीले माछा मासु बिक्री वितरण गर्ने स्थानको अनुगमन गरेको हो ।
यसअघि खुला स्थानमा गरिएको माछा मासु बिक्रीले उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर परेको र त्यसलाई नियन्त्रण गर्न वीरगञ्ज महानगर पालिकासँग उपभोक्ता हित संरक्षण मञ्च वीरगञ्ज महानगर कमिटीले विभिन्न चरणमा माग गर्दा समेत सुनवाई नभएपछि अदालतमा मुद्दा हालेपछि उच्च अदालतको अस्थायी इजलास वीरगन्जले खुला स्थानमा माछामासु बिक्री वितरण गर्न रोक लगाउन महानगरपालिकाको नाममा परमादेश जारी गरेको थियो ।
अदालतको आदेशको कार्यान्वयमा तदारुकता नदेखिए र उपभोक्ताले स्वास्थकर माछा मासु उपभोग गर्न नपाउने अवस्था रहिरहे अदालतको अपहेलनाको मुद्धामा जाने मञ्चका महानगर कमिटीका अध्यक्ष अजित भूजेलले चेतावनी दिए ।