कारोबार संवाददाता
सोमवार, चैत्र १०, २०७६
544

 

कोरोना प्रभाव


सरकारले अत्यावश्यकीय सेवा बाहेकका सबै क्षेत्र चैत २१ गतेसम्मका लागि बन्द गरेपछि यसको असर दुग्ध क्षेत्रमा पनि परेको छ । सहरका उपभोक्ताहरू गाउँ पसेको र ठूला होटेल, रेष्टुरेन्ट, शैक्षिक संस्थाहरूसमेत बन्द एपछि दैनिक दूधको खपत ३० प्रतिशतसम्म कम भएको हो ।

कोभिड १९ बाट बच्न रोग प्रधिरोधात्मक क्षमता बढाउने धेरै गुण भएको दूधको खपत बढाएर दुग्ध क्षेत्रको समस्या र उपभोक्ताको जोखिम कम गर्न सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल डेरी एशोसिएसनले कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसाललाई ज्ञापनपत्र बुझाइ यससम्बन्धी समस्या समाधान गर्न अनुरोध गरेको हो ।
दूध चाँडो विग्रने तथा अति आवश्यकीय एवं अति संवेदनशील खाद्य वस्तुसमेत भएकाले जनयुद्ध, नाकाबन्दी, महाभूकम्प लगायतका संकटमा घाटा नै व्यहोेरेर खपत नरोकेको र हाल पनि नरोक्ने प्रतिवद्धता उद्योगीहरूको छ । “छिमेकी देश चीन र अष्ट्रेलिया लगायतका देशले स्वच्छ एवं प्रशोधित दूध तथा दुग्धजन्य पदार्थमा विद्यमान पौष्टिक तत्वले मानव सुस्वास्थ्य एवं रोगसँग लड्न सक्ने प्रतिरोधी क्षमता अभिवृद्धि हुने भएकोले दैनिक ३०० मि.लि. दूध खपत गर्न आफ्ना नागरिकलाई आह्वान गरिरहेका छन्,” एशोसिएसनका महासचिव प्रल्हाद दाहालले भने । राष्ट्रिय दुग्ध विकास बोर्डमार्फत सरोकारवालाको सल्लाह र समन्वयमा दुग्ध खपत गर्न सचेतना कार्यक्रम गर्नुपर्ने उनले बताए ।
एशोसिएसनले विपतका बेलामा स्वदेशी उद्योगले सेवा गरिहेको तर यही समयमा अनियन्त्रित रुपमा दुग्ध पदार्थ आयात भएको भन्दै नियन्त्रण गर्न मन्त्री भुसाललाई अनुरोध गरेको छ । धुलो दूध (स्कीम मिल्क पाउडर), होल मिल्क पाउडर, स्प्रेड मिल्क पाउडर, बटर, घिउ, बटर आयल, आइसक्रिम, फ्रोजन डेजर्ट, चीज, पनिर, दही, दूधबाट बनेका मिठाइ एवं परिकारलगायत स्वदेशमै प्रशस्त भएकाले आयातमा तत्काल प्रतिवन्ध लगाउन ज्ञापनपत्रमार्फत् माग गरिएको हो ।
धुलो दूध कन्भरसन गर्दा उत्पादित बटर–१८ डिग्री सेल्सियसमा राख्नुपर्ने हुँदा हाल निजी डेरी उद्योगहरूमा भएका कोल्ड स्टोरहरू फ्लस सिजनमा कन्भरसन गरी आएको बटरले भरिएको हुँदा एउटा ठूलो क्षमताको कोल्ड स्टोर स्थापना गरी कन्भरसन भएको बटर रााख्ने व्यवस्था गर्न समेत माग गरिएको छ । “कात्तिक महिनादेखि किसानको दूध खरिद गर्दै हाल करिव १ करोड ५० लाख लिटर दूध कन्भरसन हुदा १,२९० टन धुलो दूध र ७५० टन बटर औपचारिक क्षेत्रका निजी डेरी उद्योगसँग हाल मौज्दातमा रहेको छ,” ज्ञापनपत्रमा भनिएको छ, “सो मौज्दातको हुन आउने रकम करिब १५० करोड भन्दा बढिको सामान डेरी उद्योगमा रहेको हुदा किसानको भुक्तानी दिन कठिनाई भएकोले हाल थप कन्भरसन गरी किसानलाई यस पेशाप्रति प्रोत्साहन गर्न लागि धुलो दूध बनाउन अपरिहार्य छ ।”
धुलो दूध थप बनाउदै जादा किसानलाई किसानलाई प्रत्येक १५÷१५ दिनमा गर्नुपर्ने भुक्तानी दिन डेरीहरूलाई थप ठूलो समस्या पर्ने भएकाले हाल डेरीहरूमा कन्भरसन गरी मौज्दात रकेको सामान तत्कालै बिक्री वितरण हुने सम्भावना न्यून भएको हुँदा हाल कायम रहेको ५ करोडसम्मको कृषि सहुलियत कर्जाको ऋण रकमको सीमा वृद्धि गरी कन्भरसन सामानको मौज्दातलाई आधार मानी १० करोडसम्म सहुलियत कर्जा प्रदान अनुरोध गरिएको छ ।