कारोबार संवाददाता
बिहिवार, फाल्गुन १५, २०७६
632

बुधबार सुनको मुल्यमा सामान्य गिरावट आएको छ । लगातार मुल्य बढेर प्रतितोला ८० हजार तिन सय रुपैयाँ पुगेको सुनको मुल्यमा सामान्य गिरावट आएको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य घटेकाले त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा परेको हो । बुधबार तोलामा पाँच सय रुपैयाँ घटेर प्रतितोला ७९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको थियो ।
गत सोमबार सुनको मुल्यम नयाँ रेकर्ड कायम गरेर प्रतितोला ८० हजार तीन सय रुपैयाँ पुगेको थियो । मंगलबार तोलामा तीन सय रुपैयाँ घटेको थियो ।

चीनमा फैलिएको कोरोना भाइरसको प्रभावले सुनको मुल्य एक्कासी बढेको थियो ।
कोरोना भाइरसका कारण चिनियाँ अर्थतन्त्र प्रभावित भएको छ । क्रमिक रुपमा विश्व सेयर बजारमा गिरावट आएसँगै लगानीको सुरक्षा खोज्दै लगानीकर्ता सुनको कारोबारमा आकर्षित भएका छन् ।
सुनको मुल्यले दिनप्रतिदिन नयाँ रेकर्ड कायम गदै गएपनि सुनको कारोबार ठप्प जस्तै भएको छ । लगनको सिजन भएपनि मुल्य बढेकाले कारोबार नै ठप्प भएको व्यवसायीको भनाई छ ।
सुनको मुल्य अझै बढ्नसक्ने संकेत देखिएपछि बजारमा खरिदबिक्री प्रभावित भएको छ । सेयर लगानीकर्ता क्रमिक रूपमा सुन कारोबारमा आकर्षित भएसँगै सुनले मूल्यवृद्धिमा रेकर्ड कायम गरेको हो । अघिल्ला वर्ष यो सिजनमा दैनिक ३० देखि ४० किलो सुनको बिक्री हुने गरेकोमा अहिले दैनिक १० देखि १५ किलोमा सीमित भएको व्यवसायीको भनाई छ ।