सागर परियार
शुक्रवार, फाल्गुन २, २०७६
490

प्रमाणबिना चरित्र हत्या भयो : मेयर

जुम्ला-स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ उपदफा ४ बमोजिम योजनाको अनुगमन तथा सुपरिवेक्षण गर्ने जिम्मेवारी उपमेयर तथा उपाध्यक्षलाई तोकेको छ । साथै, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को उपदफा १ ले न्यायिक समितिको संयोजक पनि उपमेयर तथा उपाध्याक्षलाई नै तोकेको छ भने अनुगमन संयोजकको अनुगमन बिना कुनै पनि योजनाको भुक्तानी नहुने व्यवस्था छ ।
तर चन्दननाथ नगरपालिका जुम्लाका मेयर कान्तिका सेजुवाले भने ०७५-७५ देखि यताका सबै योजना ऐनविपरीत आफै अनुगमन गर्ने, लाखौंका योजना अनुगमनबिनै भुक्तानी गर्ने, न्यायिक समितिको जिम्मेवारीमा हस्तक्षेप गर्ने, नगरपालिकाको सवारी दुरुपयोग गर्ने, काम नगर्ने ठेकेदार तथा ढिला भएका योजना नियमविपरीत म्याद थप्नेलगायत थुप्रै ऐनविपरीत आफ्नो जिम्मेवारीभन्दा बाहिरको काम गर्दै आएको पाइएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै, उपमेयर अप्सरादेवी न्यौपाने महतले मेयर सेजुलवा ऐन कानुनभन्दा माथि उठेर काम गर्दै आएको र आर्थिक अनियमिततामा पनि मेयरकै संलग्नता रहेको आरोप लगाइन् ।
उपमेयर न्यौपानेसहित ६ जना वडाध्यक्ष र ४ जना कार्यपालिका सदस्यद्वारा हस्ताक्षरित पे्रस विज्ञप्तिमा आव ०७४-७५ को सबै योजना मेयर सेजुवालले ऐनविपरीत आफै अनुगमन गरेको, उक्त आव ०७४-७५ को कुनै पनि बजेट नियमअनुसार खर्च नभई बजेटमा अनियमितता भएको उल्लेखित छ । साथै, आव ०७४-७५ मा चालूतर्फ विनियोजित १८ करोडमध्ये हिसाब गर्दा २ करोड अपुग भएको अहिलेसम्म उक्त बजेट मिलान नभएकाले बजेटको नीतिगत अनियमितता भएको समेत आरोप लगाइएको छ ।
२ करोड बजेट अपुग भएका कारण आव ०७५-७६ को सार्वजनिक सुनुवाइ समेत कार्यपालिकाको बहुमतले स्थगित गरेको थियो । त्यस्तै कार्यालयको कामभन्दा पनि घरको प्रयोजनका लागि बढी सवारी दुरुपयोग गरेर एक लाख ५० हजार बराबरको इन्धनमा भ्रष्टाचार भएको ठहर उपमेयर न्यौपानेको छ ।
साथै आव ०७४-७५ मै तलिउम शनिगाउँ लगायत क्याम्पस सडकका करिब १ करोड २० लाख बजेटमा समेत अनियमितता भएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । न्यायिक समितिको अधिकारमा हस्तक्षेप गर्दै अनुदानका सोलार बेच्ने व्यापारीलाई मेयरले रहस्यमय तरिकाबाट बचाउन खोजेको समेत आरोप लगाइन् ।

४२ लाखका योजना अनुगमन बिनै भुक्तानी
स्थानीय सरकार सञ्चालन ऐन ऐन २०७४ को दफा १६ उपदफा ४ ले उमेयरलाई अनुगमन संयोजकको जिम्मेवारी दिँदादिँदै, मेयरले ऐन मिच्दै कतिपय योजना आफै अनुगमन गर्ने गरेकी थिइन् । तर हुँदाहुदै लाखौँको योजना अनुगमन बिल भरपाइ गरी भुक्तानी गरिएको तथ्य उमेयरले सार्वजनिक गरेकी छन् । आव ०७४-७५ कै योजनाअन्तर्गत करिब ४२ लाखका योजना अनुगमन बिनै तथा एकल निर्णयमा भुक्तानी गरेको पाइएको हो ।
जसमा नगरपालिका ८ लामासिम सडक निर्माण १० लाख, त्यस्तै वडा नं.२ मा रहेको खाली भदाली सडकको १४ लाख, जुगाडखोला तटबन्ध निर्माण १० लाख र नगरपालिकाको कम्पाउन्ड पर्खाल निर्माण ८ लाख ५० हजार गरी करिब ४२ लाख ५० हजारका योजना अनुगमनबिनै भुक्तानी भएका छन् । उपमेयरसँग बिना समन्वय एकल निर्णयमा बजेट भुक्तानी दिन ऐनविपरीत भएको उल्लेख छ ।
आव ०७४-७५ मा आगामी दिनमा स्वइच्छाले बजेट खर्च गर्ने परिपाटीको अन्त्य गरी नगर विकासका लागि संयुक्त रूपमा अगाडि बढ्ने निर्णय भए पनि पटकपटक मेयर सेजुवालले आफै निर्णय उल्लंघन गर्दै आएको वडा नम्बर २ का वडाध्यक्ष धनराशी भण्डारीले बताए ।
ऐनले दिएको काम कर्तव्य र जिम्मेवारी भन्दा माथि उठेर काम गर्नु भनेकै जनतालाई सास्ती दिनु हो । उपमेयर न्यौपाने भन्छिन्, “अब पनि सुधार नभए प्रमाणसहित फिल्डमा उत्रिन्छु । ०७४-७५ को बजेटमा २ करोड अपुग थियो, अनुगमन बिनै बजेट भुक्तानी भएको थियो । तर अडिट कसरी सम्पन्न भयो भन्ने विषय पनि अनुसन्धानमै छ ।” उनले भनिन्, “अख्तियार पनि मुखमा बुझो लगाएपछि चुप लाग्दो रैछ भन्ने उदारहण देखिएको छ ।”

मेयरले गरिन् उपमेयरको खण्डन
उपमेयर अप्सरादेवी न्यौपानेले मंगलबार पत्रकार सम्मेलन गरी आफूमाथि लगाएका आरोपको खण्डन गर्दै मेयर कान्तिका सेजुवाले प्रमाणबिना चरित्र हत्या गर्ने काम भएको बताएकी छन् । मेयर सेजुवालले बिहीबार पत्रकार सम्मेलन गरी बजेट विनियोजन, योजना अनुगमनदेखि सवारी साधन प्रयोगको सन्दर्भमा दुई जनाको संलग्नता रहेको दाबी गरेकी छन् ।
गत आवमा हुन लागेको लगानी सम्मेलन उपमेयरकै असहयोगले स्थगित भएको आरोप लगाउँदै, आव ०७४-७५ का सबै योजना उपमेयरकै अनुगनमा भुक्तानी भएको समेत दाबी गरेकी छन् । मेयर सेजुवालले भनिन्, हरेक विकास निर्माणका क्षेत्रमा दुईजना बीच ६०–४० भागभण्डा हुँदै आएको कुरा पनि खुलाइन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ अनुरुप उपप्रमुखलगायत अन्य कर्मचारीले गरेका काम कारबाही बारे जानकारी लिने, रेखदेख गर्ने अधिकार मेयरलाई भए पनि हालसम्म उपमेयर कुनै पनि कामको विवरण प्रमुखसमक्ष पेस नगरेको समेत आरोप लगाइन् ।
आव २०७४ देखि हालसम्म विभिन्न योजना छनोटदेखि बजेट विनियोजनमा स्वयं उपप्रमुखको हस्ताक्षर भएको प्रमाणले देखिन्छ । तर उल्टै सवारी साधन दुरुपयोग भएको आरोप लगाउनु हास्यपद भएको मेयरको जिकिर छ । मनका कुण्ठा पोख्ने, राजनीति भावनाले बदला लिने, तथ्यहीन आरोप लगाएर चरित्र हत्या गरेको प्रति घोर आपत्ति जनाएकी छन् । उपमेयरले लगाएका आरोपप्रति पत्रकार सम्मेलनमार्फत जारी गरिएको विज्ञप्तिमा मेयरले सबै आरोप निराधार, चरित्र हत्या गर्नका लागि भएको समेत प्रष्ट पारेकी छन् ।