कारोबार संवाददाता
मंगलबार, माघ ७, २०७६
372

रौतहट-वर्षाका कारण रौतहटमा करोडौं रुपैयाँको इटा नष्ट भएको छ । गत बिहीबार र शुक्रबार भएको वर्षाका कारण रौतहटमा करोडौंको इटा नष्ट भएको हो । जिल्लामा पोल्नको लागि तयार पारिएको काँचो इटा पानीले क्षति पु-याउँदा १७ करोड भन्दा बढीको क्षति भएको इटा उत्पादक संघ रौतहटले जनाएको छ ।
बेमौसमी वर्षाले प्रत्येक इटा भट्टाहरुमा पोल्नलाई तयार अवस्थामा राखिएको काँचो इटा गलेर कामै नलाग्ने अवस्थामा पुगेको इटा उत्पादक संघ रौतहटका अध्यक्ष रामविनोद साहले बताएका छन् । जिल्लाको मध्यभाग गरुडा नगरपालिका ८ महमदपुरस्थित रहेको एसपीएल इटा उद्योगमा पोल्नको लागि तयार पारिएकोे १० लाख भन्दा बढी काँचो इटा वर्षाको पानीले गलेर नष्ट भएको सञ्चालक राम विनोद साहले बताए ।
काँचो इटालाई सुुकाएर पोल्नका लागि तयार गर्दासम्म प्रति इटा दुुईरुपैयाँ उत्पादकको न्यूनतम खर्च हुने गरेको साहको भनाइ छ । रौतहट जिल्लाभरीमा यस आर्थिक वर्षमा घरेलुु तथा साना उधोग कार्यालयमा दर्ता रहेका एकसय ६१ वटा इटा भट्टा सञ्चालनमा छन् ।