विप्लव काफ्ले
मंगलबार, माघ ७, २०७६
534

भरतपुरको चितवन प्रदर्शनी केन्द्र निर्माणले पूर्णता पाउन सकेको छैन । २०७३ माघमा तत्कालिन प्रधानमन्त्री पुुष्पकमल दाहालले शिलन्यास गरेको प्रर्दशनी केन्द्र सार्वजनिक निजी साझेदारी मोडलमा निर्माण थालिएको हो । हालसम्म करिव २५ करोड खर्च भइसकेपनि प्रदर्शनी केन्द्रले अझै पूर्णता पाएको छैन ।
घरेलु तथा साना उद्योग कार्यालयको २ विघा ७ कठ्ठा ९ धुर जग्गा २९ वर्षका लागि भोगाधिकार लिएर चितवन उद्योग संघको अगुवाइमा निर्माण थालिएको थियो । हालसम्म प्रर्दशनी स्टलका रुपमा रहने ‘ए’ ब्लकमा तीनवटा भवन बनिसकेका छन् । यी भवनमा करिव ३ सय स्टल राख्न सकिन्छ । फलामे पिल्लर तथा स्टिलबारले भवन बनाइएको छ । आकर्षक प्रवेशद्वार बनाइएको छ । ३ सय ५० जना अट्ने क्षमताको ‘बी’ ब्लकमा भित्रको सभाहल निर्माणको काम पनि पुरा हुन नसकेको उपाध्यक्ष युगराज वस्तीले बताए । “तीन वटा ब्लक बनाउने योजना थियो, सी ब्लकको काम सुरु हुनै सकेको छैन”, उनले भने, “बी ब्लक छाउने काम बाँकी छ, वाल उद्यान पनि बनेको छैन ।” उनले फुर्डकोट ‘फिनिसिङ’ को काम बाँकी रहेको बताए ।

आर्थिक वर्ष २०७४÷०७५ मा नेपाल सरकारले १५ करोड अनुदान दिएको थियो । नेपाल उद्योग परिसंघबाट ३ करोड, कार्यसमिति, पूर्वअध्यक्षहरु सहितका उद्योगी व्यवसायीबाट करिव ७ करोड संकलन भएको थियो । सुरुमा ४२ करोड लागत लाग्ने अनुमान गरिएको प्रर्दशनी केन्द्र बजेट अभावले केही पूर्वाधार नबनाउने गरी पूरा गर्न लागिएको छ ।
संघका अध्यक्ष राजु पौडेलले संघीय सरकारसँग बजेट माग गरिएको बताए । “१० करोड अनुदानका लागि ध्यानाकर्षण गराएका छौँ”, उनले भने, “प्रदेश सरकारले पनि अनुदान दिनेमा आशावादी छौँ ।” उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसँग यही पुस २८ गते अन्तरक्रिया गरेर प्रदर्शनीलाई सहयोगको खाँचो रहेको बताएका थिए । गत फागुनमा बाग्मती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले ‘सक्दो सहयोग गर्ने’ वचन दिएका थिए । “करिव ८ करोड भुक्तानी गर्नै बाँकी छ”, अध्यक्ष पौडेलले भने, “केही पूर्वाधार बजेट अभावले बनाउन सकेका छैनौँ ।” उनका अनुसार ‘ए’ ब्लकमा करिव ४ करोड बराबरको जडान गरिएका ‘एसी’ को भुक्तानी गर्नै बाँकी छ । सचिवालयमा निर्माण गरिएका केही पूर्वाधारको रकम भुक्तानी हुन सकेको छैन ।
“उद्योग संघले अझै ३ करोड जुटाउने छ, सरकारी अनुदान पनि आउनुप¥यो”, उनले भने, “बजेट अभावले अहिले निर्माणका काम रोकिएका छन् ।” प्रदर्शनी केन्द्रभित्रको सडक कालोपत्रेको काम सुरु हुन नसक्दा सामान्य वर्षा हुँदासमेत परिसर हिलाम्मे हुने गर्छ । प्रदर्शनी केन्द्रमा ४४.५ प्रतिशत क्षेत्रफलमा संरचना हुनेछन् भने ५५.५ प्रतिशत क्षेत्र खाली क्षेत्र रहने गरी डिजाइन गरिएको थियो । “बजेट अभावले गर्दा लागत घटाउन बाध्य भयौँ, अब ३८ करोडमा निर्माण सक्ने योजना छ”, उनले भने, “अनुदान पाएमा तीव्र गतिमा निर्माण सुरु हुने थियो ।” उद्योगमन्त्री भट्टले अनुदान उपलब्ध गराउने आश्वासन दिएका थिए । प्रदर्शनी केन्द्र स्थापना भएसँगै स्थानीय उद्योग व्यवसायको प्रवद्र्धन, स्थानीय स्रोत साधन, कच्चापदार्थलाई अन्तर्राष्ट्रियस्तरमा बजारीकरण सघाउँदै आएको छ ।