कारोबार संवाददाता
आइतवार, माघ ५, २०७६
1130

पूर्वी नेपालको झापादेखि सीमावर्ती भारतीय सहर सिलगुडीसम्मपेट्रोलियम पाइपलाइन विस्तार गर्न भारतीय पक्ष सहमत भएको छ । पेट्रोलियम पदार्थको नियमित एवं सहज आपूर्ति गर्नका लागि मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारसँगै दोस्रो चरणमाझापा–सिलगुडी पेट्रोलियम पाइपलाइन विस्तार गर्न भारत सकारात्मक भएको हो । साथै अमलेखगन्जदेखि चितवनको लोथरसम्म पाइपलाइनविस्तार गर्नका लागि भारतीय पक्ष सहमत भएको हो ।
भारतमा हालै सम्पन्न नेपाल भारत पेट्रोलियम तथा प्राकृतिक ग्याससम्बन्धी ज्पाइन्ट वर्किङ ग्रुपको सहसचिवस्तरीय पहिलो बैठकमा चितवनको लोथर र सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण गर्ने सम्बन्धमा भारतीय पक्ष सहमत भएको हो । बैठकमा नेपालबाट उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव ध्रुव घिमिरेले प्रतिनिधित्व गरेका थिए।

मन्त्रालयका अनुसार मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन चितवन लोथरसम्म विस्तार गर्न अध्ययन टोली बनाउने सहमति पनि भएको छ । सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण गर्ने सम्बन्धमा नेपाल–भारत संयुक्त अध्ययन टोली गठन गरी प्राविधिक प्रतिवेदन बनाउनेसमेत निर्णय भएको मन्त्रालयका सहसचिवघिमिरेले जानकारी दिए।अध्ययन टोलीले तयार पार्ने अध्ययन प्रतिवेदन नेपाल–भारत ज्वाइन्ट वर्किङ गु्रपमा पेश गरिनेछ।
झापा र धनुषामा निगमले बनाउने बोटलिङ प्लान्ट निर्माणमा पनि आईओसीले प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। बोटलिङ प्लान्ट निर्माणका लागि आयल निगमले विस्तृत अवधारणापत्र तयार गरी आईओसीलाई उपलब्ध गराउने सहमति भएको मन्त्रालयको भनाइ छ ।
नेपालकोतर्फबाट वार्ता टोलीको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव घिमिरेले गरेका थिए भने भारतको तर्फबाट पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयका सहसचिव बीएन रेड्डीले नेतृत्व गरेका थिए ।
पेट्रोलियम पदार्थको नियमित एवं सहज आपूर्ति, झापा, सर्लाही र भैरहवामा पेट्रोलियम भण्डारण डिपो स्थापना, अमलेखगंजमा भर्टिकल पेट्रोल भण्डारण टैंक निर्माण, वीरगंज भन्सार कार्यालयमा डिजिटल डिस्प्ले मिटर जडान, झापा र महेन्द्रनगर (धनुषा) मा बोटलिङ्ग प्लान्ट निर्माण गर्ने सहमति भएको मन्त्रालयले जानकारी दिएको छ । गोरखपुरदेखि सुनौलीसम्म प्राकृतिक ग्यासको पाइपलाइन निर्माण, पेट्रोलियम तालिम केन्द्ररव्यावसायिक तालिम केन्द्ररसीप विकास केन्द्र स्थापना, भारतको लखनउबाट बन्डेड हवाइ इन्धन ल्याउने लगायतका विषयमा छलफल भएको मन्त्रालयले जानकारी दिएको छ ।
मोतिहारी–अमलेखगंज पाइपलाइनको दोस्रो चरणअन्तर्गत नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेसनबाट निर्माण गरिने पेट्रोलियम टैंकका विषयमा निगम र इण्डियन आयल कर्पोरेशनले अवधारणा पत्र र लागतअनुमान तयार गर्ने सहमति भएको छ । पेट्रोलियम पाइपलाइन चितवनको लोथरसम्म विस्तार गर्ने तथा सिलिगुढी झापा पेट्रोलियम पाइपलाइन निर्माण गर्ने सम्बन्धमा नेपाल भारत संयुक्त अध्ययन टोली बनाई विस्तृत प्राविधिक प्रतिवेदन तयार गरी नेपाल भारत ज्वाइन्ट वर्किरूग्रुपमा पेश गर्ने सहमति भएको छ ।
झापा र धनुषामा निगमको बोटलिङ प्लाण्ट निर्माण गर्ने विषयमा इण्डियन आयल कर्पोरेसन लिमिटेडले प्राविधिक सहायता उपलब्ध गराउने निगमले विस्तृत अवधारणापत्र तयार गरी इण्डियन आयल कर्पोरेसन लिमिटेडलाई उपलव्ध गराउने छ ।वीरगंज भन्सार कार्यालयमा डिजिटल डिस्प्ले मिटर राख्ने विषयमा निगम र इण्डियन आयल कर्पोरेसनको संयुक्त टोलीले आवश्यक कारवाही अगाडि बढाउने विषयमा समेत बैठकमा छलफल भएको छ ।
भारतको लखनउबाट बन्डेड हवाई इन्धन आयात गर्ने विषयमा पुनरावलोकन गर्ने र सो विषयमा थप सहजीकरण गर्न निगम र इण्डियन आयल कर्पोरेसनले नजिकको वैकल्पिक मार्ग खोजी गर्ने विषयमा छलफल भएको मन्त्रालयले जानकारी दिएको छ । नेपाल भारत संयुक्त कार्यदलको अर्को बैठक नेपालमा बस्ने लगायत द्विपक्षीय हितका विषयमा सहमति भएको मन्त्रालयले जानकारी दिएको छ ।