कारोबार संवाददाता
बुधवार, पुष २, २०७६
497

नेपालगञ्ज- नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले कारोबार दैनिकका बाँके संवाददाता लक्ष्मण ढुंगानालाई उत्कृष्ट पत्रकारिता अवार्ड प्रदान गरेको छ । जिल्लामा रहेर स्थानीयस्तरमा सुशासन र पारदर्शिता सम्बन्धी उत्कृष्ट समाचार सम्प्रेषण गरेको भन्दै ढुंगानालाई नगद सहित पुरस्कृत गरिएको हो ।
सेजनले अमेरिकी दूतावाससँगको सहकार्यमा स्थानीय निकायका कर्मचारी र पत्रकारहरुका लागि संघीय संरचनामा बजेट निर्माण र वित्तिय पारदर्शिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अमेरिकी दूतावासका प्रवक्ता एन्डी डी आरमेन्ट र नेपालगञ्ज उपमहानगरपालिका मेयर डा.धवल शमसेर राणााले नगद २५ हजार सहित ढुंगानालाई अवार्ड प्रदान गरेका हुन् ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाबाट उत्कृष्ट कार्यसम्पादन गर्ने दुईजना वडाध्यक्षलाई पनि उत्कृष्ट जनप्रतिनिधि अवार्ड प्रदान गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष प्रमोद रिजाल र वडा नम्वर २ का अध्यक्ष सुनिलसिंह हमाल उत्कृष्ट जनप्रतिनिधि अवार्डवाट सम्मानित भएका हुन् ।