कारोबार संवाददाता
मंगलबार, पुष १, २०७६
720

गुणस्तरीय कृषि उपज उत्पादनको लागि असल कृषि अभ्यास मापदण्ड कार्यान्वयनमा ल्याइएको छ । उपत्यकाका तीन कृषि फार्मले पहिलोपटक यस्ता प्रमाणपत्र पाउने भएका छन् ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अन्तरष्ट्रिय स्तरमा अभ्यासमा रहेको गुड एग्रिकल्चर प्राक्टिस् (ग्याप) लागू गर्दै प्रमाणपत्र उपलब्ध गराउने प्रक्रिया अगाडि बढाएको हो । पहिलो ग्याप प्रमाणपत्र पाउनेमा ललितपुरको महालक्ष्मी नगरपालिकाको टीकाथलीस्थित कृषि परियोजना टीकाथली, काठमाडौंको रामकोटस्थित विशेष सदावहार कृषि फार्म र रामकोटकै मैत्री मंगलम् अग्र्यानिक कृिष फार्म हुने भएका छन् ।

सरकारले यसअघि नै असल कृषि अभ्यास कार्यान्वयन निर्देशिका, २०७५ जारी गरिसकेको छ । निर्देशिकाको आधारमा कृषकलाई ग्याप प्रमाणपत्र उपलब्ध गराउने क्षेत्राधिकार विभागलाई तोकेको छ । “ग्याप कार्यान्वयन निकायको रूपमा हामीले काम थालिसकेका छौं, यसले गोठदेखि ओठसम्म, आलीदेखि थालीसम्म स्वच्छ खाद्य वस्तु उपभोग गर्ने जनताको अधिकारको रक्षा गर्ने विश्वास लिएका छौं,” विभागकी महानिर्देशक मतिना वैधले भनिन् । संविधानले ग्यारेन्टी गरेको खाद्य अधिकारको कार्यान्वयन गर्ने उद्देश्यले निर्देशिका लागू गरिएको उनले बताइन् ।
विभागले पहिलो प्रमाणिकरण संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठन (एफएओ) को सहयोगमा गर्न थालेको हो । जसअन्तर्गत टीकाथली परियोजनालाई २ सय रूपनी, सदावहार फार्मको ४६ रोपनी र मैत्रीमंगलनम् फार्मको १०१ रोपनी जग्गामा तरकारी उत्पादनलाई प्रमाणीकरण गर्न लागिएको हो । प्रमाणपत्र प्राप्तिी गर्नका लागि भने माटोको गुणस्तर, विषादी, मलखाद, सिंचाइ, बीउ, बेर्ना, कर्मचारी (१८ वर्ष मुनिकाले नगरेको), प्रयोग गर्ने सामग्री, वातावरणीय अवस्था आदि धेरै मापदण्ड पुरा गर्नुपर्ने हुन्छ । “प्रमाणीकरणको लागि विभागमा निवेदन दिन सकिन्छ, तर निवेदन दिनु अधि तोकिएको मापदण्ड अनुसार फार्म तयारी अवस्था राखिएको हुनुपर्छ,” विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले भने, “बालीको समयअवधिअनुसार तीन महिनादेखि एक वर्षसम्म प्रमाणपत्र उपलब्ध गराइन्छ ।”
करिब २ सय प्रकारका मापदण्ड ग्याप सर्टिफिकेट लिनु अगाडि पूरा गर्नुपर्ने हुन्छ भने बर्सेनि नवीकरण गर्नुपर्ने व्यवस्था छ । शतप्रतिशत लागू गर्नुपर्ने, ९० प्रतिशत र ५० प्रतिशत लागू गर्ने गरि मापदण्डलाई वर्गीकरण गरिएको छ । यससम्बन्धी कृषकतहमा जनचेतना अभिवृद्धि नभइसकेकाले जनचेतना प्रमुख चुनौती रहेको महर्जनको भनाइ छ । “कृषि विभाग वा अन्तर्गतका निकायले यससम्बन्धी जनचेतना जगाई किसानलाई ग्यापमा जान तयारी गर्नुपर्ने हुन्छ,” उनले भने, “त्यसपछि हामीलाई निवेदन दिएपछि हाम्रा ग्याप अडिटरले सटिफिकेट दिनेछन् ।”

 
चार महिनामा ४६४ नमूना परिक्षण

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग मातहतका कार्यालयहरूले संकलन गरेका ४६४ वटा खाद्यका नमूना परीक्षण गरिएको छ । चालू आर्थिक वर्षको प्रथम चौमासिक समिक्षा प्रतिवदेन बारे आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउँदै विभागले यस अवधिमा ६१ नमूना मापदण्ड अनुसार नपाइएको जनाएको छ । जसमध्य २९ वटा दूषित, २४ वटा न्यून गुणस्तर र ८ वटा खाद्य ऐन नियमको प्रावधानबमोजिम नपाइएको छन् ।
चार महिना अवधिमा १ हजार ७ सय ९० पटक बजार अनुगमन गरिएको, खाद्य ऐनविपरीत पाइएका २२ वटा उद्योग तथा व्यवसायीलाई उत्पान रोक्का, सिलबन्दी गरी कारवाही अगाडि बढाइएको छ । यय अवधिमा १७० नयाँ उद्योग अुनज्ञापत्र जारी, ५३० उद्योग अनुज्ञापत्र नविकरण र ५३५ नयाँ उद्योग सिफारिस गरिएको विभागले जनाएको छ । चार महिनामा ७ हजार ७७२ आयात अनुमति जारी गरिएको र कागजात पुरा नभएका कन्फेक्सनरी, पेय पदार्थ लगाएत ४९ वटा खाद्य पदार्थको कन्साइमेन्टहरूको अनुमती अस्किृत गरिएको विभागले जनाएको छ ।