दिलबहादुर केसी
सोमवार, मंसिर ३०, २०७६
1713

दोलखा-जुँगुमा ११६ प्रजातिका जडिबुटीजन्य वनस्पति रहेको पाइएको छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) ले २ वर्षमा गरेको अध्ययनबाट ती जडिबुटी पाइएको हो । गौरीशंकर गाउँपालिका वडा नं. १ र २ मा पर्ने जुँगेमा पाइने जडिबुटी परम्परागत आयुर्वेदिक औषधोपचारमा प्रयोग हुने गरेको देखिएछ ।
समुद्री सतहदेखि ९ सय २० मिटरदेखि ३ हजार मिटरसम्म फैलिएको जुँगुमा उच्च हिमाली क्षेत्र र बेंसीमा पाइने धेरै प्रकारका वनस्पति पाइने अध्ययन टोलीमा संलग्न संग्राम कार्कीले जानकारी दिए । ती वनस्पतिमध्ये ७२ प्रजातिका वनमा हुने फलफूल, २३ प्रजातिका धार्मिक कामका लागि प्रयोग हुने गरेको बताए । त्यसैगरी १९ प्रजातिका काठ, १३ प्रजातिका रेशाजन्य, ३४ प्रजातिका घाँस, ३१ प्रजातिका दाउरा र १३ प्रजातिका रङको रुपमा प्रयोग गर्न सकिने छन् ।

अध्ययन प्रतिवेदन अनुसार स्थानीयले परम्परागत रुपमा जडिबुटीको रुपमा प्रयोग गर्दै आइरहेका छन् । ती वनस्पतिमध्ये २७ प्रजातिका जरा, १९ प्रजातिका पात, १४ प्रजातिका बोक्रा र १९ प्रजातिका १९ लागि औषधीको रुपमा प्रयोग भइरहेको छ । नेपालमा मात्र पाइने लोपोन्मुख प्रजाति प्याउली जुँगुमा रहेको छ । त्यसैगरी हाडे उन्यू, सुनाखरी, सुनगाभा, सिउँडी र लौठसल्ला महत्पूर्ण वनस्पति जुँगुमा रहेका छन् । ५ प्रकारका वनस्पति मिचाहा प्रजातिका वनस्पति पनि यहाँ पाइएको उनले बताए ।
स्थानीयस्तरमा परम्परागत ज्ञान र सीप प्रयोग गर्दै जडिबुटीको प्रयोग गर्नेहरुसँगको सोधपुछ, छलफल, स्थानीयस्तरमा गरिएको नमूना संकलन, व्यक्तिगत भेटघाटका आधारमा यी वनस्पतिको पहिचान गरेको आइयुसिएनका डा. यादव उप्रेतीले बताए । जैविक स्रोतको आनुवंसिक स्रोतलाई लोप हुनबाट जोगाउन नमूना परियोजनाको रुपमा सञ्चालन गरिएको उनले बताए ।
परम्परागत ज्ञान, सिप र प्रविधिमा जैविक आनुवंशिक स्रोतमा वन तथा वातावरण मन्त्रालय र आयुसिएनले गरेको नमूना परियोजनामार्फत अध्ययन गरेको हो । मन्त्रालयले यस बारेमा दोलखाको जुँगु र कास्कीमा नमूना अध्ययन गरेको वन तथा वातावरण मन्त्रालयका उपसचिव ज्ञानेन्द्रकुमार मिश्रले जानकारी दिए । जैविक स्रोतको व्यापारमा सीमित वर्गले मात्र फाइदा लिने भन्दा पनि लाभलाई स्थानीयलाई सोझै बाँडफाँड हुने गरी कानुनी व्यवस्था गर्न लागेको उनले बताए ।
डिभिजन वन कार्यालय दोलखाका प्रमुख सन्तमाया श्रेष्ठले स्थानीयको परम्परागत ज्ञान सीपलाई दस्तावेजीकरण गर्न वन लाग्ने बताए ।