कारोबार संवाददाता
सोमवार, मंसिर ३०, २०७६
463

दोलखाको भिमेश्वर नगरपालिका १ स्थित सुष्पाक्षमावती पानीपोखरीमा निर्माणाधीन एकीकृत नमूना बस्तीमा निजी आवास निर्माणको काम सुरु भएको छ । लाभग्राहीहरुले घर बनाएपछि मात्र पूर्जा पाउने भएपछि भूकम्प पीडितहरु घर बनाउन सुरु गरेका हुन् ।
भीमेश्वर नगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा शनिबार ३ नं. प्रदेशका आर्थिक मामिता तथा योजना मन्त्री कैलाश ढुङ्गेलले निजी आवास निर्माणको सिलान्यास गरे । सिलान्यास कार्यक्रममा बोल्दै मन्त्री ढुङ्गेलले एकीकृत बस्तीलाई नमूना बनाएर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताए । एकीकृत वस्तीका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोगका लागि प्रदेश सरकारले समेत सहयोग गर्ने बताए ।

पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिले सुस्पास्थित पानीपोखरीमा रहेको सार्वजनिक जग्गामा भूकम्प पीडितहरुलाई सार्ने निर्देशन दिएसँगै जिल्लास्थित जग्गा दर्ता समितिले बस्ती निर्माणको प्रकृया टुंग्याएको छ । २०७२ को भूकम्प र त्यसपछि आएको पहिरोले सुष्पाक्षमावतीका २ वटा गाउँहरु बोसिम्पा र बुमा बस्ती बसाउन नमिल्ने गरी क्षति पु¥याएपछि प्राधिकरणले ती दुई गाउँका स्थानीयलाई नजिकैको सरकारी जग्गा रहेको पानीपोखरीमा एकीकृत बस्तीका रुपमा स्थानान्तरण गर्न लागेको हो ।
भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले एकीकृत बस्तीलाई होमस्टेसहितको बनाउन लागेको बताए । प्राधिकरणले पानीपोखरी क्षेत्रमा एकीकृत बस्ती निर्माणका लागि घडेरी निर्माणको काम पूरा गरेको छ । एकीकृत बस्ती निर्माणका लागि पानीपोखरीस्थित भिरालो अवस्थामा रहेको सार्वजनिक जग्गामा सडकको पहुँच पुग्ने गरी घडेरी तयार गरिएको छ । प्राधिकरणको जिल्लास्थित आयोजना कार्यान्वयन इकाइ भवनका इन्जिनियर भिषण राईले भिरालो जग्गालाई बस्ती बसाउन योग्य हुने गरी काम गरिएको बताए ।
उनका अनुसार करबाहेक झण्डै २ करोड ४५ लाखको लागतमा मेसिनरी पर्खालसहितको संरचना तयार भइसकेको छ । थप पूर्वाधार निर्माणका लागि प्राधिकरणबाट थप ३ करोड ५० लाख बजेट विनियोजन भएको र सोही अनुसारको पूर्वाधार तयारी गर्न अर्को डीपीआरको काम भइरहेको उनले बताए ।
पानीपोखरीमा ५७ वटा घरहरु निर्माण हुनेछन् । एउटै मोडालिटीका हुने घरहरु सकेसम्म पुरातत्व झल्किने किसिमका हुने गरी प्राधिकरणले डिजाइन गरेको छ । एकीकृत बस्ती निर्माणका लागि भीमेश्वर नगरपालिकाले नक्सा पास गर्ने भीमेश्वर नगरपालिकाका प्राविधिक शाखा प्रमुख सुरेश राउतले बताए । एकीकृत बस्तीसम्म आउने ७ सय मिटर सडक सुधारका लागि नगरपालिकाले काम गर्दै आएको छ ।
यसअघि नै तयार भएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार बस्तीमा ऐतिहासिक पानीपोखरी, प्रवेशद्वार, प्राथमिक तहको विद्यालय र चिल्ड्रेन पार्कसमेत निर्माण हुनेछ । बस्तीमा खानेपानी, विद्युत्लगाएतका अन्य कामका लागि मातहतका कार्यालयहरुसँग समन्वय गरेर काम भएको भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले बताए ।