लक्ष्मी सापकोटा
मंगलबार, मंसिर ३, २०७६
1498

 

निर्यात प्रवद्र्धन गरी आयात प्रतिस्थापनमा सघाउ पु-याउने अपेक्षा


सातै प्रदेशमा सम्भावित उत्पादनको प्रोफाइल तयार गरिएको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सातै प्रदेशमा भएका वस्तुको पहिचान गरेर प्रोफाइल तयार गरेको हो । सातै प्रदेशमा भएका सम्भावित उत्पदनको पहिचान गरेर निर्यात प्रवद्र्धन गरी आयातलाई प्रतिस्थापन गर्न सघाउ पु-याउने उदेश्यका साथ केन्द्रले उत्पादनको प्रोफाइल तयार गरेको हो ।
केन्द्रले सातै प्रदेशको प्रोफाइल तयार गरेर उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयका साथै सातै प्रदेशमा प्रतिवेदन पेश गरिसकेको छ । केन्द्रकी सुचना अधिकारी शान्तिदेवी मल्लले उत्पादन र निर्यातको सम्भावना भएका वस्तुको पहिचान गरिएको बताईन । प्रदेशस्तरमा वस्तुको उत्पादन सहित बजारको पहिचान गरिएको उनले जानकारी दिइन ।
प्रोफाइलमा अन्तरप्रदेश व्यापार हुन सक्ने वस्तुहरू, निर्यात भइरहेका तथा निर्यातयोग्य वस्तुहरू, नेपालको आयात निर्यातको अवस्था, प्रदेशमा उत्पादन भएका कृषिजन्य वस्तु तथा सेवाहरूको तथ्यांकको विवरणहरू समावेश गरिएको केन्द्रले जानकारी दिएको छ ।
प्रदेशलाई आर्थिक रुपमा आत्मनिर्भर बनाइ निर्यात अभिवृद्धि मार्फत मुलुकको बढ्दो व्यापारघाटा कम गर्न सहयोग पुग्ने अपेक्ष गरिएको सुचना अधिकारी मल्लको भनाई छ ।
अन्तर प्रादेशिक व्यापारलाई अभिवृद्धि गरी आयातित वस्तुहरूलाई कम गर्न सकिने अपेक्षा गरिएको छ ।
यस प्रोफाइल प्रतिवेदनबाट प्रत्येक प्रदेशले निर्यात सम्भावना भएका वस्तु तथा सेवाहरूको जानकारी पाउने छन् । अध्ययनका आधारमा निर्यात सम्भावना भएका, आयात प्रतिस्थापन हुने र अन्तर प्रदेश व्यापार सम्भावना बारेमा प्रदेशलाई नीति तर्जुमा गर्न सहयोग पुग्ने केन्द्रको विश्वास छ ।
केन्द्रका अनुसार प्रदेश १ मा उत्पादन भएका र अन्तरप्रदेश व्यापार भएका प्रमुख वस्तुहरूमा धान चामल, गहुँ, मकै, कोदो, फापर जौ, ताजा तारकारी, फलफूल, दलहन, तेलहन रहेका छन् ।
अन्तरप्रदेश व्यापार भएका प्रमुख औद्योगिक वस्तुहरूमा कागज, तयारी पोशाक, जुत्ता, फर्चिचर, खेलौना, कलम, पेन्सिल, प्लाष्टिकका भाडाकुँडा, टुथपेष्ट, साबुन, सेम्फु, तालाका सामानहरू, स्पिरिट, मदिरा, विस्कुट, इलेक्ट्रिक भेहिकल, विजुलीका सामानहरू, प्लाइउड, खानेतेल, प्रशोधित पेट्रोलियम, फलाम तथा स्टिलका उत्पादनहरू पर्छन् ।
प्रदेश प्रदेशबाट निकासी भएका प्रमुख वस्तुहरूमा चिया, अलैंची, अदुवा, अम्लिसो, रुद्राक्ष, सुपारी, ताजा तरकारी, छुर्पी, चिज, तिराइतो धागो, जुटका सामान, छालाका सामानहरू र जस्तापाताहरू रहेका छन् ।
यस्तै प्रदेश २ बाट निकासी गर्न सकिने वस्तुहरूमा धान चमल, गहुँ, मकै, उखु, आलु, चिनी, आँप, माछा रहेको छन् । यस प्रदेशबाट आयात प्रतिस्थापन गर्न सकिने वस्तुहरूमा दलहन, तेलहन, तरकारी, फलफूल, केरा, मासु, मसला, जुस, दुग्ध पदार्थ, फुल, पशु आहार, काठ, कागज, सिमेन्ट, सिमेन्ट क्लिंकर, औषधी तयारी पोशाक, सेरामिक्सका उत्पादनहरू, फर्निचर, छालाका सामानहरू, राखिएको छ ।
३ नम्बर प्रदेशमा कृषिजन्य वस्तु उत्पादनमा धान चमल, गहुँ, मकै, जैविक तरकारी, जडिबुटी, साथै औद्योगिक उत्पादनमा नेपाली गलैंचा, तयारी पोशाक, फेल्टका विस्तुहरू, हस्तकलाका सामग्री निर्यात गर्न सकिने वस्तुको रुपमा पहिचान गरिएको छ ।
यस प्रदेशबाट आयात प्रतिस्थापन गर्न सकिने वस्तु तथा सेवाहरूमा तयारी पोशाक, दैनिक उपभोग्य सामानहरू, प्लाष्टिकका सामानहरू, फर्चिचर, तेल, मकै, गहुँ तथा दूग्ध पदार्थ रहेका छन् । त्यस्तै, हस्तकलाका सामान र विजुलीलाई पनि लिइएको छ ।
अन्तरप्रदेश व्यापार सम्भावना भएको वस्तुहरू तथा सेवाहरूमा छाला, धान, दाल, मासु, अन्य खाद्यान्न, काठ, रोजिन, दाउरा, तयारी पोशाक, गलैंचा, धागो, तेल, प्लाष्टिकका सामानलाई राखिएको छ ।
गण्डकी प्रदेशमा धान चमल, गहुँ, मकै,उखु, आलु, जैविक तरकारी, जडीबुटी, तेल, ऊन, स्याउ, सुन्तला लगायतका फलफूल, दुग्धजन्य पदार्थ, जलविद्युत र सेवाव्यापारको पहिचान गरिएको छ । साथै सेवा क्षेत्रमा जलयात्रा प्याराग्लाइडिङ दृष्यावलोकन पदयात्रा तथा साहसिक पर्यटन होटल होमस्टेलाई विकास गर्न सकिने भने सुझाव पेश गरिएको छ ।
यस प्रदेशबाट खानीमा आधारित उत्पादनहरू सिमेन्ट धातु लगायतका वस्तुहरूको उत्पादनबाट आयात प्रतिस्थापन एवं अन्तरप्रदेश व्यापारको सम्भावना रहेको भनिएको छ।
धान, मकै, स्याउ, सुन्तला, माछा, लसुन, प्याज, खुर्सानी, मह, ऊन, फलाम, सिमेन्ट, चाउचाउ, चकलेट जस्ता वस्तुको आयात प्रतिस्थापन गर्न सकिने भनिएको छ भने जडिबुटी, अलैची, अुदवा, स्याउ, कफी, मह, पानीलाई निर्यात योग्य वस्तुको रुपमा राखिएको छ ।
गहुँ, मकै, कोदो, फापर जौ, उवा, स्याउ, सुन्तला, जातका फलफूल, लप्सीका परिकार, लसुन, प्याज, खुर्सानीलगायका वस्तुलाई अन्तरप्रादेशिक व्यापार सम्भावना भएका वस्तुका रुपमा राखिएको छ।
यस प्रदेशका तराइ र पहाडका जिल्लाहरूमा विभिन्न किसिमका खानी तथा खनिजजन्य पदार्थहरू रहेका छन्। चुनढुंगा, कोइला, फलाम, सुन, तामा, स्टेट जस्ता वस्तुको प्रचुर सम्भावना रहेको औंल्याइएको छ ।
यस्तै प्रदेश ५ मा निर्यात गर्न सकिने सम्भावित वस्तु तथा सेवाहरूमा रोजिन र रेजिन, कत्था, सारयुक्त तेल, पोलिष्टर धागो, पिपि ओभन फेब्रिक, पिना र धुटो, चाउचाउ, कपडा, जबिडुबटी, मुसुरो, कफी र अदुवा, बेसार रहेका छन्।
यस्तै कर्णाली प्रदेशबाट हाल निर्यात भइरहेका वस्तुहरूमा अदुवा, विभिन्न प्रकारका जडिबुटीहरू, रत्नपत्थर, गलैंचा, प्राकृतिक रेशाजन्य कपडा, टिमुर रहेका छन् ।
यस प्रदेशबाट बेसार, प्राकृतिक रेशाजन्य वस्तुहरू, मह, अलैंची, दुधजन्य पदार्थ, खनिजजन्य वस्तुहरू निर्यातजन्य वस्तु भनेर सिफारिस गरिएको छ ।
यस्तै, सुदूरपश्चिम प्रदेशबाट आयात प्रतिस्थापन गर्न सकिने वस्तु तथा सेवाहरूमा बाख्रा, माछा, मासु, दुग्धजन्य पदार्थ, अण्डा, मह, वनस्पति उत्पादनहरू, फूल तथा विरुवाहरू, दलहन, मसलाजन्य, खाद्यान्न र तेहलन वस्तुहरूलाई राखिएको छ ।
भैसीको दूध र यसबाट उत्पादन हुने वस्तुहरू, काठजन्य वस्तुहरू, हस्तकलाका सामग्रीहरू लगायतका वस्तुहरू अन्तरप्रदेश व्यापार सम्भनावना भएका वस्तुमा राखिएको छ ।