अमरराज आचार्य
आइतवार, मंसिर १, २०७६
384

दाङ- घोराही उपमहानगरपालिका—८ स्यानीगाउँ निवासी चन्द्रप्रसाद चौधरीले विगतका वर्षमा १२÷१३ जना मानिस लगाएर धान काट्ने गरेका थिए । तर यस वर्ष उनले १ विगाहाको धान साढे दुइ घण्टामै काटेर सके । उनले अहिले आएको धान काट्ने मेसिनको प्रयोग गरेपछि थोरै समयमा नै धान काटेर सकेको उनको भनाइ छ ।
‘मेसिनको प्रयोग गरेपछि थोरै समयमा नै धान काटेर सकियो’, त्यो मात्र होइन, श्रमको मूल्यपनि निकै कम प¥यो’ चौधरीले भने । यो मेसिन गाउँमा भित्रिएसँगै दैनिक धान काटिरहनु पर्ने समस्या समेत नभएको उनको भनाइ छ ।

‘प्रविधिको प्रयोगले सहजता बढदै गएको छ’ चौधरीले भने । धान काटनका लागिप्रति घण्टा ६ सयका दरले रकम तिर्नु परेको उनले बताए । कृषकहरु उक्त क्षेत्रमा अहिले तरकारी रोप्नका लागि तयारी समेत गरेका छन् ।
प्रविधिको प्रयोग गरेर तरकारी खेती गरेपछि उत्पादन राम्रो हुने भएपछि यसतर्फ कृषकहरुको आकर्षण बढेको चौधरीले बताए । स्मार्ट कृषिगाउँका संयोजक समेत रहेका चौधरीका अनुसार सो स्थानमा अहिले १ सय किलोको प्याजको बिउ राखिएको छ । ‘यहाँ प्रत्येक घरले प्याज लगाउने गर्नु हुन्छ’ चौधरीले भने । यहाँबाट लाखौंको प्याज बिक्री हुने गरेको छ । प्याजबाट आम्दानी समेत राम्रो हुने गरेको कृषकहरुको भनाइ छ । त्यसैगरी ४४ वटा टनेल निर्माण गरेर खेती गरिएको स्यानीगाउँ स्मार्ट कृषि समितिका सचिव होमबहादुर सिजवालले जानकारी दिए ।
कृषकहरुलाई प्रविधिले सहयोग गरेको कृषि ज्ञान केन्द्रका प्रमुख कृष्णबहादुर बस्नेतले बताए । ‘प्रविधिले समय तथा आर्थिक रुपमा समेत कृषकलाई सहयोग गरेको छ’ प्रमुख बस्नेतले भने । स्मार्ट कृषिगाउँका लागि प्रदेश सरकारले पूर्वाधार निर्माण, प्रविधि खरिदका लागि सहयोग गर्ने गरेको उनको भनाइ छ ।
प्रविधिको प्रयोग हुँदा लागत समेत कम हुने उनको भनाइ छ । ‘प्रविधिको प्रयोग गरेर उत्पादन गरेमा कृषकलाई बजारमा प्रतिस्पर्धा गर्न समेत सहज हुने छ’ प्रमुख बस्नेतले भने । जिल्लामा गतवर्षदेखि स्मार्ट कृषिगाउँ कार्यक्रम लागु भएको हो ।