दमौली- आन्तरिक राजश्व कार्यालय दमौलीमा ५६ हजारभन्दा बढी करदाता करको दायरामा आएका छन् । तनहुँ, लमजुङ, गोरखा र मनाङ कार्यक्षेत्र रहेको कार्यालयमा हालसम्म ५६ हजार ६०० करदाता करको दायरामा आएका हुन् ।
कार्यालय प्रमुख सूर्यप्रसाद सेढाइँका अनुसार व्यावसायिक लेखा नम्बरतर्फ ३१ हजार २८०, मूल्य अभिवृद्धि करतर्फ तीन हजार ३३६ र व्यक्तिगत स्थायी लेखा नम्बरतर्फ १८ हजार ९२७ समेत गरी जम्मा ५६ हजार ६०० करदाता करको दायरामा आएका छन् । राजश्व असुलीको तथ्याङ्क र करदाताको दर्ता संख्या हेर्दा कार्यालयको कार्यक्षेत्र र जिम्मेवारी निरन्तररूपमा वृद्धि हुँदै गइरहेको कार्यालय प्रमुख सेढाइँले बताए ।
विसं २०६९ वैशाख ९ गते करदाता सेवा कार्यालयको रूपमा स्थापना भएको कार्यालय विसं २०७५ असार २० गते आन्तरिक राजश्व कार्यालयको रुपमा स्तरोन्नति भएको थियो । कार्यालय साविक डिभिजन सहकारी कार्यालयको भवनमा सञ्चालन हुँदै आएको छ । विसं २०७५ असोज ४ गते कार्यालयको उद्घाटन भएको थियो भने २०७५ मङ्सिर १ गतेदेखि कार्यालय पूर्णरूपमा सञ्चालनमा आएको थियो ।
दमौलीमा आन्तरिक राजश्व कार्यालय स्तरोन्नति भएपछि सेवाग्राहीलाई सहज भएको छ । यस अगाडि करसम्बन्धी सेवा लिन पोखरा जानुपर्ने अवस्था रहे पनि गत वर्षदेखि भने दमौलीमै सेवा पाउँदा सहज भएको गोरखाका करदाता दीपक विकले बताए ।
गत आर्थिक् वर्ष २०७५-०७६ मा पाँच अर्ब १९ करोड रुपैयाँ राजश्व सकलन गर्ने लक्ष्य राखेको कार्यालयले पाँच अर्ब ३० करोड रुपैयाँ राजश्व संकलन गरेको थियो । चालू आव २०७६-७७ मा आठ अर्ब ६१ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ ।