कारोबार संवाददाता
शुक्रवार, कार्तिक २२, २०७६
332

धनगढी-सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा लगानी भित्र्याउने उद्देश्यले वित्तीय सम्मेलन गर्ने निर्णय गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषद्ले बिहीबारको बैठकमा प्रदेश मंसीर २० गते वित्तीय सम्मेलन गर्ने निर्णय गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा सो निर्णय गरिको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेशका ठूला आयोजना तथा उद्योगहरुका लागि लगानी जुटाउन प्रदेश सरकारले वित्तीय सम्मेलन गर्ने योजना बनाएको छ । सम्मेलनमा देश विदेशका लगानीकर्तालाई सहभागी हुन र लगानी गर्न आह्वान गरिने छ ।
मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिव ओलीले आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रास्तावमा प्रदेशले स्थानीय तहहरुलाई दिने सम्पुरक अनुदान सम्बन्धी कार्यविधि २०७६ र विशेष अनुदान सम्बन्धी कार्यविधि २०७६ संशोधन गरेको बताए ।
यसैगरी, मन्त्रीपरिषद्ले प्रदेश राजधानी पूर्वाधार विकास समिति गठन आदेश २०७६ पनि पारित गरेको गरेको छ । गठनादेशका आधारमा समिति गठन गरेर प्रदेश सरकारले गोदावरीमा राजधानी बनाउने तयारी गरेको छ ।