कारोबार संवाददाता
शुक्रवार, कार्तिक २२, २०७६
291

बागलुङ- उचित मूल्य नपाएपछि बागलुङका अलैँची किसान निराश छन् । राङ्खानी, माझगाउँका किसान मनबहादुर श्रीषले अलैँची खेतीबाट आफू निरुत्साहित बनेको प्रतिक्रिया दिए ।
श्रीषले तीन रोपनी जग्गामा व्यावसायिक अलैँची खेती गर्दै आएको छ । यो वर्ष उनको बगानमा १०० किलो काँचो अलैँची उत्पादन भएको छ । उक्त अलैँची सुकाउँदा २५ किलो हुने श्रीषको भनाइ छ । काँचो अलैँची बेच्दा भने प्रतिकिलो १०० पर्छ ।

राङ्खानीमा १५ बढी किसानले व्यावसायिक अलैँची खेती गरिरहेका छन् । घरायसी प्रयोजनका लागि लगाउने किसानको संख्या भने धेरै छ । माझगाउँकै अलैँची किसान धनबहादुर रानाले मूल्य घटेपछि अलैँची खेतीको विस्तार हुन छाडेको बताए । “गत वर्षदेखि नयाँ बिरुवा कसैले लगाएको छैन”, उनले भने, “किसानले चाहेको समयमा बिक्री गर्न नपाएपछि नयाँ खेती बिस्तारमा चासो बढेको छैन । ”
मूल्य घटेपछि अलैँची खेतीमा नयाँ किसान थपिन सकेका छैनन् । मेहनत र श्रम अनुसारको मूल्य पाउने वातावरण नबन्दा यसप्रतिको आकर्षण घटेको किसान बताउँछन् ।
सरकारले तोकेको मूल्यमा अलैँची बेच्न सके किसान पनि खुशी भएर उत्पादनमा लाग्ने कृषि ज्ञान केन्द्र, पर्वतका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताए । भारतबाहेक अन्य मुलुकमा पनि अलैँची व्यापारका लागि सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ ।