मनोरञ्जन शर्मा
बिहिवार, कार्तिक २१, २०७६
1144

रुपन्देही-पछिल्लो समय तयारी खाद्य वस्तु चाउचाउ र पेय पदार्थ बियर समेत भारततर्फ निकासी हुने क्रम बढेको छ । बिगतमा अदुवा, सुठो, अम्लिसो, रद्धि कागज, सिसा बोतल जस्ता कवाडी सामान तारपिन तेल, कत्था, प्लास्टिक बोरा धागो जस्ता वस्तु निकासी हुँदै आएको भैरहवा बेलहिया नाका हुँदै चाउचाउ र बियरसमेत निकासी हुन थालेको छ ।
निकासी विस्तारै गति लिन थालेको र उत्साहप्रद नै रहेको निकासी कर्ताहरुले बताएका छन् । बेलहिया (भैरहवा) नाका हुँदै ३९ विभिन्न वस्तुको निकासी हुँदै आएका छन् । ति मध्ये चाउचाउ र बियर पनि रहेका छन् ।

चालु आर्थिक बर्षको पहिलो तीन महिनामा ३ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको २६८ टन चाउचाउ र पास्ता तथा ४० लाख १५ हजार रुपैयाँ बराबरको १ लाख ४ हजार २ सय ८० लिटर बियर यो नाका हुँदै भारत निकासी भएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत कलिराम पौडेलले जानकारी दिए ।
‘अघिल्लो वर्षबाट निकासी हुन थालेको चाउचाउ र बियर अहिले पनि गइरहेको छ, यसरी नै अनय वस्तुहरु निकासी भइरहे केही मात्रामा व्यापार घाटा कम हुन्छ’ सूचना अधिकारी पौडेलले भने । यो नाकादेखि सिद्धिबिनायक स्नयाक्स एन्ड नुडल्स प्रालिबाट उत्पादित तयारी चाउचाउ बिगत १ वर्षदेखि भारततर्फ निकासी हुँदै आएको उद्योगका प्रवन्ध निर्देशक उज्जवल कसजुले बताए ।
‘अहिले ५० ग्रामको चाउचाउ उत्तर प्रदेश र विहार राज्यमा पठाएका छांै, माग राम्रो छ’ उनले भने । नवलपरासीको रामग्राम नगरपालिकामा उद्योग रहेको सिद्धिबिनायक स्नयाक्सले गज्जबको, दोस्ती, खुसी, र कोसेली ब्रान्डका तयारी चाउचाउ उत्पादन गरी बिक्री गर्दै आएको छ ।
त्यसैगरी रुपन्देहीको तिलोत्तमा नगरमा उद्योग रहेको यसोधा फुडसले पनि एक वर्षदेखि तयारी चाउचाउ भारत निकासी गर्दै आएको उद्योगका निर्देशक श्रवण बेरिवालले बताए । ‘अहिलेका लागी उत्तर प्रदेश र बिहार राज्यमा नै हाम्रो उद्योगबाट उत्पादित लाली र टिन्टी मिन्टी ब्रान्डका चाउचाउ निकासी गरीरहेका छौ’ उनले भने, ‘राम्रो प्रतिक्रिया आएको छ ।’
जगदम्बा फुडसको उत्पादन पनि निकासी भइरहेको छ ।
त्यसैगरी रुपन्देहीमा उद्योग रहेको टाइगर ब्रुअरीको उत्पादन टेन्सबर्ग तथा लन्डन आइस बियर पनि भारतमा निकासी हुदै आएको छ । त्यसै गरी अन्य बियर पनि भारत निकासी हुँदै आएका छन् ।