कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६
187

तिज र दशैं मा सुनसान बनेको सुनचाँदीको कारोबार तिहारमा आएर ह्वात्तै बढेको छ । तिहारमा झण्डै ११ अर्ब रुपैयाँ बराबरको सुनचाँदीको कारोबार भएको छ । तिहारमा सुनको माग बढेपछि १० अर्ब रुपैयाँ बराबरको सात सय केजी सुन र झन्डै एक अर्ब रुपैयाँ बराबरको पाँच हजार किलो चाँदी बिक्री भएको सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले जानकारी दिए । तिहारमा सुनचाँदीको कारोबार सन्तोषजनक रहेको उनले जानकारी दिए ।
पाँच अर्ब रुपैयाँको कारोबार हुने अनुमान गरिएकोमा १० अर्ब रुपैयाँको सुनको कारोबार भएको उनको भनाई छ । यो वर्ष सुनको मूल्य बढेकाले गत वर्षको तुलनामा कारोबार हुन नसकेको उनको भनाई छ । यो वर्ष साउनदेखि नै सुनको मूल्य बढेकाले बजारमा सुनको कारोबार ठप्प भएको थियो । तिहारको बेला सुनको कारोबार बढेपनि व्यवसायीहरु उत्साहित भएका छन् । व्यवसायीका अनुसार तिहारमा बढीमात्रामा पूजाका सामान र सुनका गहना बिक्री भएका छन् ।

मुलुकभर २२ हजार सुनचाँदी पसल छन् । महासंघका अनुसार लक्ष्मी पूजाका दिन सबैभन्दा बढी सुनचाँदीको कारोबार भएको छ । कारोबार बढेपछि सुन आयात समेत सुरु भएको छ । सुनको मूल्य बढेपछि कारोबारमा मन्दी आएको थियो । मन्दी आएपछि वाणिज्य बैंकले साउनदेखि सुन आयात रोकेका थिए ।
नेपाल बैंकर्स संघकाका अनुसार कात्तिकमा दुई सय किलो सुन आयात भएको छ । तिहार अघि चार वाणिज्य बैकले ५० किलोको दरले दुई सय केजी सुन आयात गरेका थिए ।
६० हजार रुपैयाँको हाराहारीमा रहेको मूल्य बढेर ७० हजार रुपैयाँ भन्दा माथि उक्लिएपछि सुनको कारोबारमा शून्य भएको थियो । एक महिनाको अवधिमा सुनको मूल्य झन्डै १० हजार बढेपछि नयाँ गहना किन्ने भन्दा पनि पुराना गहना बिक्री गर्ने ग्राहकको भीडभाड थियो । अमेरिका र चीनबीचमा भएको युद्धका कारण पछिल्लो तीन महिना यता सुनको मूल्य लगातार उकालो लागिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा बढेको सुनको मूल्यको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।
यसैबीच, बिहिबार सुनको मूल्य घटेको छ । गत शुक्रबार प्रतितोला ७१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहिबार बजार खुल्दा तोलामा पाँच सय रुपैयाँ घटेको हो ।
तिहार बिदापछि खुलेको बजारमा प्रति तोला सुनको मूल्य पाँच सय रुपैयाँले घटेर ७० हजार पाँच सय कायम भएको महासंघले जानकारी दिएको । तिहार अघि प्रतितोला सुनको मूल्य ७१ हजार रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा बिहिबार प्रति औस सुनको मूल्य १४ सय ९८ डलर पुगेको छ । बुधवार सुनको मूल्य १ हजार ४ सय ८९ डलर रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अझै बढ्ने अनुमान गरिएको छ ।