कारोबार संवाददाता
मंगलबार, आश्विन २८, २०७६
510

धनगढी-सुदूरपश्चिम प्रदेशको कुल ग्राहस्थ उत्पादन कर्णाली प्रदेशलाई छोडेर सबै भन्दा कमजोर देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशको कुल ग्राहस्थ उत्पादन सात दशमलव दुई प्रतिशत मात्रै रहेको हो । कुल ग्राहस्थ उत्पादन कम रहेकै कारण सुदूरपश्चिम प्रदेशमा सबै भन्दा बढि गरीवि र भोकमरी छ ।
आर्थिक सर्वेक्षण २०७५-०७६ ले सुदूरपश्चिम प्रदेशमा निरपेक्ष गरिबीको रेखामुनी रहेको जनसंख्या १८ दशमलव सात प्रतिशत छ भने ६२ प्रतिशत परिवारहरु खाद्य असुरक्षाको स्थितिमा गुजारा गरिरहेका छन् । एक तथ्यांकले सुदूरपश्चिम प्रदेशका पूर्णरुपमा खाद्य सुरक्षित रहेको घरधुरी साढे २२ प्रतिशत मात्रै छ भने अत्यन्त खाद्य असुरक्षित घरधुरी संख्या साढे १७ प्रतिशत छ ।

२६ लाख भन्दा बढी जनसंख्या रहेको सुदूरपश्चिम प्रदेशमा देशको कुल कृषि उत्पादनको अंश नौं, कुल उद्योग क्षेत्रको उत्पादनमा अंश चार र कुल सेवा क्षेत्रको उत्पादनमा अंश पाँच प्रतिशत छ ।
त्यसैगरी, सुदूरपश्चिम प्रदेशको प्रति व्यक्ति आय वार्षिक छ सय ६० अमेरिकी डलर छ भने आर्थिक रुपले सक्रिय जनसंख्या साढे ४१ प्रतिशत जनसंख्या मात्रै सक्रिय छ । आर्थिक सर्वेक्षणले सुदूरपश्चिम प्रदेशमा दुई सय ३१ वटा मात्रै उद्योग रहेको र त्यसमा छ हजार दुई सय ५२ जनाले रोजगारी गरिरहेको जनाएको छ ।
त्यसैगरी, सुदूरपश्चिम प्रदेशमा गरिबीका कारण पोषिलो खाने कुरा नपाउँदा सुदूरपश्चिम प्रदेशका ३६ प्रतिशत जनसंख्यामा पुड्कोपना रहेको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाइ डडेल्धुराका वरिष्ठ कृषि अधिकृत खेमराज जोशीले बताए । उनका अनुसार २८ प्रतिशत सुदूरपश्चिमेली उमेर अनुसार कम तौलका छन् भने नौ प्रतिशत भन्दा बढी ख्याउटेपनाका सिकार भएका छन् ।
नेपाल राष्ट्र बैंक धनगढी कार्यालयका सहायक निर्देशक यमबहादुर शाहका अनुसार नीतिगत व्यवस्थाप्रति लक्षित समूह जानकार नहुँदा प्रदेशको कृषि लगायतका क्षेत्रको उत्पादन वृद्धि हुन सकेको छैन । उनले युवा पुस्ताको विदेश मोहले गर्दा समेत प्रदेशको आर्थिक उत्पादनमा कमी आएको बताए । उनले युवा पुस्ता विदेश जाँदा जमीन बाँझै रहने समस्याले ग्राहस्थ उत्पादन बढ्न नसकेको बताए ।
लगानी अभावका प्रशस्त उद्योग स्थापना नहुनु पनि चुनौतिको रुपमा रहेको सहायक निर्देशक शाहले बताए । बैंक तथा वित्तीय संस्थामा कृषि सम्बन्धि जानकार कर्मचारीको अभाव, बैंक तथा वित्तीय संस्थाहरु शहर केन्द्रित हुनु र कृषकसँग धितोको अभाव हुनु मुख्य चुनौति रहेको उनले बताए ।
कृषि उत्पादन तथा प्रशोधनमार्फत् प्रदेशको ग्राहस्थ उत्पादन समेत बढाउन सकिने र त्यसबाट गरिबी समेत घटाउन सकिने सहायक निर्देशक शाहले बताए । उनले प्रदेशको आर्थिक वृद्धिदर बढाउन नागरिकको वित्तीय पहुँच बढाउन आवश्यक रहेको बताए । प्राविधिक शिक्षाको विस्तार तथा स्वदेशमै रोजगार सृजना मार्फत् वैदेशिक रोजगारमा जाने संख्यामा कमी ल्याएर पनि प्रदेशको ग्राहस्थ उत्पादन तथा आर्थिक वृद्धिदर बढाउन सकिने बताए ।

 


सातामा धेरै पढिएको