मनोरञ्जन शर्मा
शुक्रवार, आश्विन १७, २०७६
519

रुपन्देही-दसैंमा दक्षिणा दिँदा जतन नगर्दा नोट छिटै झुत्रो हुने भएकाले नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाले नोट संरक्षण गर्न आग्रह गरेको छ ।
“दर्सैंका बेलामा नयाँ नोट मात्र होइन सफा नोट पनि प्रयोगमा ल्याउनु पर्छ र नोटहरु जतन गर्नु पर्छ” निर्देशक भट्टराईले भने, “नोटहरु दसैंमा विभिन्न कारणले गर्दा झुत्रो हुने भएकाले अहिले हामीले नयाँ नोट सटही गर्दा नोट बचाउने उपाए सहितको कागज दिन थालेका छौं ।”
राष्ट्र बैंक सिद्धार्थनगर शाखाले गत आर्थिक वर्ष २०७५-०७६मामात्रै १३ अर्ब ६७ करोड ६८ लाख रुपैयाँ झुत्रा नोटहरु नष्ट गरेको थियो । धेरै नोटहरु दसैंमा टीका लगाउँदा जल छर्कने, अबिर छर्कने, टीका छर्कने, जमरा राखेर दिने जस्ता कारणले झुत्रा हुने गर्दछन् । प्रत्येक वर्ष झुत्रा नोटहरु संकलन हुने क्रम बढदै गएको छ । यो शाखा कार्यालय मातहत रहेका जिल्लाका बैंक तथा बित्तिय संस्थाहरुले संकलन गरेका झुत्रा नोटहरु शाखामा आउने र त्यहा आवश्यक प्रकृया पूरा गरी नष्ट गर्ने गरीएको निर्देशक भट्टराइले बताए ।

सफा नोट प्रयोगमा जोड
राष्ट्र बैंक सिद्धार्थनगर शाखाले नयाँ नोट मात्र नभइ सफा र सुकिला नोट समेत प्रयोग गर्न सबैमा आग्रह गरेको छ । दसैँमा टीकाको दिन मान्यजनको हातबाट टीका ग्रहणपछि दक्षिणाको रुपमा नोट दिइने गरिन्छ । दसंैमा दक्षिणा बापत प्राप्त हुने नयाँ नोटको ठूलो मूल्य र सफा, सुकिलो नोटको सानो मूल्य नभई सबै नोटहरूको मूल्य एकै हुने भएकाले सफा र सुकिलो नोट पनि दक्षिणाको रुपमा ल्याउन उपयुक्त हुने निर्देशक भटराईले बताए ।

नयाँ नोट सटही सुरु
दसैंलाई मध्यनजर गर्दै नेपाल राष्ट्रबैंकको सिद्धार्थनगर शाखाले नयाँ नोट सटही सुरु गरेको छ । यस पटक १ अर्ब ५० करोड रुपैया भन्दा बढी नयाँ नोट सटही हुने अनुमान सिद्धार्थनगर शाखाको छ ।
शाखाले कार्यालय परिसरमा नयाँ नोट सटहीका लागि ५ वटा काउन्टर राखेको छ । जसमा सर्जसाधारणका लाीि २, जेष्ठ नागरिकलाई १, सरकारी कार्यालयलाई १ र सहकारी लगायतका संघ सस्थालाई १ गरी ५ वटा काउन्टरबाट नोट सटही भइरहेको कार्यालयले जनाएको छ । एक जनाले १८ हजार ५ सय रुपैयाँ बराबरका नयाँ नोट सटही गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
रुपन्देहीमा राष्ट्र बैंक बाहेक अन्यत्र बैंकहरुबाट पनि नोट सटही गर्न सकिने र सबैलाई पर्याप्त नोट दिइएको कार्यालयले जनाएको छ ।