कृञ्जला पुलामी
मंगलबार, आश्विन १४, २०७६
809

सिन्धुलीको सुनकोशी गाँउपालिका–३ बोहोरेटारको सडक छेउमा बसेर फलफूल बेच्दै गर्दा भेटिएका सीताताराम विसंखे सडक बिस्तारसँगै आफूहरुको जीवनस्तर फेरिएको बताउँछन् । पहिले त्यसै कुहिएर जाने अम्बा, आँटी, कागती लगायतका अन्य मौमसी तथा बेमौसमी फलफूलले बजार पाएको बताए । ‘पहिले हाम्रो बारीमा फलेका फलहरु त्यसै कुहिएर जान्थ्यो ।’ उनले भने, ‘अहिले त फल्ने वित्तिकै यी यसरी ल्यायो बेच्यो, यहिबाट नुन भुटुन जोहो गर्न सजिलो भएको छ ।’ पहिले हाम्रा उत्पादनले बजारको मुख देख्न पाउँदैन थियो, तर अहिले गाँउमै विक्रि भइरहेको छ । उनले भने ।
वीपी राजमार्ग र अन्य विभिन्न सहायक बाटोहरु निर्माण पछि विशंखेजस्तै बोहोरेटारकै गुणमाया श्रेष्ठ पनि फलफूल बेचेर जीविकोपार्जन गर्दै आइरहेकी छिन् । अहिले आँटी प्रति किलो १ सयदेखि १५० रुपैयाँमा बिक्री भइरहेको उनले सुनाइन् । ‘यो बाटो भएर हिड्ने सबैले गाँउ घरका मौसमी फलफूल नै खोज्छन्’ गुणमायाले भनिन्, ‘फलफूल मात्रै होइन मौसमी तरकारीको पनि बिक्री राम्रो भइरहेको छ । हामीलाई जीवनयापनमा थप सहज भएको छ ।’

वीपी राजमार्ग अन्र्तगत बोहोरेटारमा असोजदेखि कात्र्तिक महिनासम्म पाइने आँटी र अम्बाको आज भोली बजार नै लाग्ने गरेको छ । बोहोरेटारस्थित मुख्य राजमार्गको छेउछाउमा किसानहरुले आँटी बेच्दै आइरहेका छन् । यहाँका स्थानीयहरु मौसम अनुसारको फलफूल र तरकारी बेचेर आय–आर्जन गर्दै आइरहेका छन् ।
बोहोरेटारकै शिव राना मगर पनि स्थानीय उत्पादनले बजार पाएकोमा दंग छन् । ‘कहिले सोचेकै थिएनौँ, पहिले हामीलाई बजारको अनुहार देख्नै हम्मे हम्मे प¥थ्यो ।’ उनले भने, ‘बारीमा कुहिएर जाने आँटी र अम्बाले अहिले राम्रो मूल्य पाएको छ ।’ अघिल्लो वर्षहरुको तुलनामा आँटीको व्यापार राम्रो भएको उनले बताए ।
यस क्षेत्रका किसानहरुले मौसम अनुसारका स्थानीय फलफूल बिक्रीबाट राम्रो आम्दानी गर्दै आएका छन् । आँटीको सिजन सकिए लगत्तै जुनार, सुन्तला, कागतीको बजार सुरु हुने राना मगरले बताए ।
गाँउ–गाँउमा सडकको पहुँच पुगेसँगै स्थानीय उत्पादनले बजार पाएका छन् । सडकको बिस्तारसँगै तरकारी फलफूललगायतका स्थानीय उत्पादनहरु बिक्री गर्न पाएपछि जीविकोपार्जन गर्न सहज भएको स्थानीयहरु बताउँछन् ।
जापान सरकारको सहयोगमा बर्दिबास—सिन्धुली—धुलिखेलसम्म १६० किलोमिटर सडक निर्माण भएपछि स्थानीय उत्पादनले बढवा पाएको हो । राजमार्ग हुँदै दैनिक सयौं सवारी साधन साधनको आवात–जावत बढेकाले स्थानीय उत्पादनले बढवा पाएको हो ।
‘पहिले डोकोमा बोकेर सिन्धुलीमाढी बजारमा लैजाँदा पनि राम्रो मूल्य पाइन्न थियो ।’ स्थानीय किसान राना मगरले भने, ‘अहिले उत्पादनले बजार त पायो तर उत्पादन कम हुँदै गएको छ ।’ वीपी राजमार्गको निर्माणपछि गढतिरका आँटी र अम्बाले सहज बजार पाए पनि उत्पादनमा निकै गिरावट आएको किसानहरु बताउँछन् । सिन्धुली जिल्लाको गढतिर क्षेत्रमा आँटी र अम्बा व्यापक रुपमा उत्पादन हुन्छ । यद्यपि यसको व्यवसायिक उत्पादन भने हुन सकेको छैन ।