कारोबार संवाददाता
मंगलबार, भदौ ३१, २०७६
440

लमजुङ-जैविक विविधतामा नयाँ प्रजातिका झारपात र आयातित बालीले नकारात्मक प्रभाव पारिरहेका बेला परम्परागत उपेक्षित बालिलाई प्रवद्र्धन गर्न सरोकारवालाहरु लागि परेका छन् । परम्परागत कृषि उत्पादनलाई आधुनिक प्रविधिबाट खेती प्रणालीको विकास गरी उपभोग तथा व्यवसायिक प्रवद्र्धनका लागि सरोकारवालाहरु लागेका हुन् ।
जैविक विविधताको उपयोग र संरक्षणमा उचित ध्यान नदिँदा परम्परागत बाली उपेक्षामा पर्दै गएको छ । पहिचान र प्रयोगको अभावका कारण ग्रामिण भेगमा पाइने कोदो, जौ, फापर, काउनोलगायतका परम्परागत बाली उपेक्षित तथा अपहेलित अवस्थामा पुगेका हुन् । परम्परागत बालीलाई आधुनिक प्रविधिको प्रयोग गरी खेती प्रणालीको विकास गर्न सके यसबाट उत्पादन र आम्दानी बढाउनको सकिने कृषि विज्ञ एवं अमेरिकास्थित वायर क्रप्स साइन्सका प्रोफेसर डा. खुशीराम तिवारीले बताए ।

‘पोषिला खाद्यान्न उपेक्षित हुँदै गए’ डा. तिवारीले भने, ‘तर यि बालीहरुलाई आधुनिक तरिकाले खेती गर्न सकियो भने उल्लेख्य उत्पादन र आम्दानी गर्न सकिन्छ ।’
व्यवसायिक खेती गर्ने सिलसिलामा एकल बालीलाई प्रोत्साहित गर्दा परम्परागत स्थानीय रैथाने बाली उपेक्षित हुँदै गएको हो । रैथाने बालिमा भएका गुणहरुको बारेमा यथेष्ट अध्ययन–अनुसन्धान नहुँदा पनि परम्परागत बालीहरु उपेक्षामा परेको विज्ञहरु बताउँछन् । उपेक्षामा परेका परम्परागत बालीहरुलाई आधुनिक तरिकाले खेती गर्नु अहिलेको आवश्यकता रहेको कृषि ज्ञान केन्द्रका प्राविधिक सूर्यकान्त अधिकारी बताउँछन् । पछिल्लो समय कृषकहरुलाई अर्गानिक र पोषिला बाली उत्पादनका विषयमा अभिमुखीकरण गर्दै आएको अधिकारीले बताए ।
‘उपेक्षित बालीहरु उत्पादनमा कृषकहरुलाई आकर्षित गर्न विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आएका छौँ ।’ अधिकारीले भने, ‘यस्ता उत्पादनहरुमा उपभोक्ताको रोजाई छ, तर उत्पादन कर्ताको अभाव छ ।’
पोषिला तथा उपेक्षित बाली प्रवद्र्धनका लागि विभिन्न जिल्लाका कृषकहरुलाई प्रयोगात्मक प्रशिक्षण समेत दिन थालिएको छ । लिवर्ड नामक गैरसरकारी संस्थाले कृषि क्षेत्रमा क्रियाशिल प्लान्ट व्रिडर, क्रप फर द फ्युचर (सिएफएफ), बायर क्रप्स साइन्स नामक अन्तर्राष्ट्रिय संस्थाको समन्वयमा लमजुङमा प्रशिक्षण दिएको हो । तालिमपछि उपेक्षित पोषिला र परम्परागत बालीहरुलाई पुनः उत्पादन र विकास गर्न सकिनेमा कैलालीका कृषक पवनकुमार बोगटी बताए ।
‘श्रोत साधन र सिपको प्रयोग गर्नसक्यो भने पोषिला र उपेक्षित बाली उत्पादन गर्न सकिन्छ भन्नेमा विश्वस्त भयौ’ बोगटीले भने, ‘यस्तो बाली प्रवद्र्धनका लागि सरकारले पनि विशेष सहयोग गर्नुपर्छ ।’
लमजुङ सदरमुकाम बेसीशहरमा भएको कार्यशालामा अमेरीका र अष्ट्रेलियाबाट आएका विज्ञहरुले सहजिकरण गरेका थिए । लोप हुँदै गइरहेका पोषिला तथा उपेक्षित बाली प्रवद्र्धनका लागि स्थानीय जैविक विविधताको प्रयोग गर्न सकिने पनि कृषि विज्ञहरुको सुझाव छ ।

सन्देश पौडेल