कारोबार संवाददाता
बिहिवार, भदौ २६, २०७६
394

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जीसीले कृषि क्षेत्रको उत्पादन वृद्धि मन्दिरमा घण्टी बजार नहुने बताएका छन् । कृषि विकासको क्षेत्राधिकार र स्रोत स्थानीय र प्रदेश सरकारमा गइसके पनि उत्पादन वृद्धिका विषलाई लिएर संघीय सरकारलाई मात्र दोष दिने प्रवृत्ति विरुद्ध खनिएका हुन् ।
कृषिमा केही नगर्दा २५–३० अर्वको चामल आएको, उत्पादन वृद्धि नभएको जस्ता विषय उठाएर सधै कृषि मन्त्रालय र कर्मचारीले काम नै गरेन भनेर हुने गरेकोप्रति सचिव जीसीको कटाक्ष थियो । ‘सन् १९७० देखि ८० को दशकतिर नेपालको जनसंख्या एक करोड हुँदा धानको उत्पादन ३७ लाख मेट्रिक टन थियो, त्यतिबेला केही मात्रामा धानको निर्यात को विषयलाई तीन करोड जनसंख्या भएको हालको अवस्थामा ५६ लाख मेट्रिक टन धान उत्पादन भएको बिर्सेर विश्लेषण गर्नु भएन,’ नेपाल फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को २७ औं वाार्षिक साधारणसभामा उनले भने, ‘मन्दिरमा घण्टी बजाएर उत्पादन बढ्दैन, सुनसरी–मोरङको जस्तो सिँचाइको व्यवस्था मुलुकभर होस् अहिले नै ७० लाख मेट्रिक टन (हालको आवश्यकता) धान फल्ने अवस्था ल्याउँछौं ।’

उनले मन्त्रालयले उत्पादकत्वमा वृद्धि गर्ने जिम्मेबारी राम्रोसँग बहन गरेको बताउँदै आफ्नो क्षेत्राधिकरामा नरहेको सिँचाइयोग्य क्षेत्र वृद्धि गर्न नसक्नु, कृषिमा बजेट कम हुनु, वित्तिय क्षेत्रको कम लगानी हुनु, बाटोघाटाको पर्याप्त व्यवस्था नहुनु, राजनीतिक वातावरण अनुकुल नहुनुलगायतका विषयले कृषि क्षेत्रको समग्र उत्पादन वृद्धिमा चुनौति थपेको बताए ।
संघीय सरकारको क्षेत्राधिकार नीति नियम बनाउने र अन्तर्राष्ट्रिय समन्वयमा मात्र रहेकाले सोही अनुसार मन्त्रालयले काम गरिरहेको बताए । ‘नेपालको संविधानले कृषिका मुख्य काम स्थानीय र प्रदेश तहमा दिएको छ, सोही अनुसार स्रोतहरु पनि परिचालन भइसकेको छ’ उनले भने, ‘केही अन्तर्राष्ट्रिय सहयोगमा सञ्चालित आयोजनाहरु र प्रधानमन्त्री आधुनिकरण परियोजना बाहेकका कार्यक्रममा बाहेकका सबैजसो कार्यक्रम स्थानीय र प्रदेश सरकारमा छन्, हामीले यसो गर, त्यसो गर भन्न मिल्दैन ।’ विगतमा कृषिको अनुदान वितरणमा केही समस्या देखिएकाले उत्पादनमा आधारित भएर सबैजसो अनुदानलाई ५० प्रतिशत कायम गरिएको उनले बताए ।

‘नीजि क्षेत्रले विकास गरेको पुष्प क्षेत्र’
सविच जीसीले पुष्प व्यवसायीको क्षेत्र सरकारी पहले भन्दा पनि निजी क्षेत्रको बलबुताले फैलदै गएको बताए । ‘पुष्प र पोल्ट्री क्षेत्रमा सरकारले नीति, कार्यक्रम र योजना ल्याएर भन्दा पनि नीजि क्षेत्र आफैले विकास गरेको क्षेत्र हो’ उनले भने, ‘पछिल्ला वर्षहरुमा हामीले थोरै साथ मात्र दिएका छौं ।’ मन्त्रालयले पुष्प विकास नीति ल्याएर लागू गरको तर संघीयतापछि कार्यक्रमहरु स्थानीय र प्रदेश सरकारमा गएकाले प्रदेशबाट पुष्प प्रवद्र्धनका लागि कार्यक्रमहरु लागू हुनुपर्ने बताए ।
कार्यक्रममा उपत्यका कृषि ज्ञान केन्द्रका प्रमुख निर्मल गदालले यो वर्ष ७० लाख रुपैयाँ पुष्प प्रवद्र्धनका लागि विनियोजन गरेको बताए । उनले मुलुकमभरमै पुष्प उत्पादन तथा बजारमा प्रदेश तीन अगाडि रहेकाले यो क्षेत्रमा पुष्प प्रवद्र्धन गर्दै आगामी तीन वर्षभित्र आत्मनिर्भर हुने गरी कार्यक्रमहरु तय गरिएको बताए । उनले नीति क्षेत्रसँगको सहकार्यमा पुष्प विकासको क्षेत्रमा काम गर्न प्रदेश सरकारले कार्यनीति बनाइ अगाडी बढीरहेको जानकारी गराए ।
फ्यानका अध्यक्ष कुमारकसजु श्रेष्ठले संघीय सरकारबाट सहयोग भएमा पुष्प व्यवसायबाट राष्ट्रिय माग पुरा गरि निर्यात पनि गर्न आफूहरु सक्षम रहेको बताए ।