सरस्वती ढकाल
बिहिवार, भदौ २६, २०७६
266

अवसर नदेख्नु हाम्रै कमजोरीः विनोद चौधरी

नेपालको पूर्वाधार क्षेत्र लगानीका लागि उर्वर भएकोले लगानीको प्रतिफल पर्याप्त प्राप्त गर्नसकिने सम्बद्ध सरोकारवालाहरूले बताएका छन् । राजधानीमा बुधबार सुरु भएको तेस्रो पूर्वाधार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विभिन्न मुलुकका विकास विज्ञ तथा निजी क्षेत्रका अधिकारीहरूले नेपालमा गरेको लगानी खेर नजाने बताएका हुन् ।
विश्वमा नेपालजस्तो प्राकृतिक सुन्दरता, सस्तो जनशक्ति र उचित मौसम तथा ठूलो बजारको सम्भावना अन्यत्र नभएकोले लगानीका लागि उचित समय भएको उनीहरूको भनाइ छ । प्रधानमन्त्री ओली सम्मेलनमा आफैं उपस्थित हुन नसके पनि प्रेस सल्लाहकार कुन्दन अर्यालमार्फत पढेर सुनाइएको सन्देशमा नेपालमा पूर्वाधारका लागि अथाह सम्भावना हुनु भनेको लगानीका लागि अवसर पनि उत्तिकै भएको बताइएको छ । सरकारले ‘सुुखी नेपाली र समृद्ध नेपाल’को नारालाई सफल बनाउन सार्वजनिक निजी साझेदारी (पीपीपी) नीति ल्याइसकेको र थप नीतिगत सुधारसमेत अघि बढाइएको उनले बताए ।

नेपालमा लगानीका लागि अवसर अथाह भएकोले प्रतिफल पनि त्यसरी नै प्राप्त हुने भन्दै ढुक्क भएर लगानी गर्न उनले आह्वान गरे । सम्मेलनको उद्घाटन भने उपराष्ट्रपति नन्दबहादुर पुनले गरे ।सम्मेलनमा अर्थमन्त्री डा. युवराज खतिवडाले पनि लगानीका लागि नेपाल उर्वर भूमि भएको भन्दै लगानीबाट पर्याप्त लाभांश लिन सकिने बताए । नेपालमा लगानी गरेका धेरैजसो कम्पनीले २५ प्रतिशतभन्दा धेरै लाभांश लैजान सफल भएको उदाहरण दिँंदै अब लगानी लिएर आउने कम्पनीलाई पनि त्यो अवसर बाँकी रहेको उनले बताएका छन् । प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) ऋणमा रूपमा नभएर स्वपुँजी (इक्विटी)का रूपमा आउनुपर्नेमा उनको जोड थियो । “नेपालमा विदेशी लगानी आवश्यक छ, तर नपालकै ऋण उठाएर नभइ इक्विटीकै रूपमा हुनुपर्छ,” उनले भने । 
कार्यक्रममा परिसंघ अध्यक्ष सतिशकुमार मोरले सम्मेलनले ठूलो लगानी भिœयाउन टेवा पुग्ने भन्दै निजी क्षेत्रको लगानी बढ्नेमा समेत आश्वस्त देखिएको बताएका छन् । आर्थिक समृद्धिका लागि पूर्वाधारमा लगानी गर्नु छ भने त्यस्ता पूर्वाधारलाई दिगो बनाउनु पनि जरुरी रहेको उनको भनाइ छ । हरेक प्रदेशसँग सहकार्य गर्दै आयात प्रतिस्थापन गर्न प्रदेशमा के कस्ता काम गर्न सकिन्छ भनेर थप छलफल गर्ने मोरले बताए । पूर्वाधारको विकासबाट देश समृद्धितर्फ जाने भएकोल संघ प्रदेश र स्थानीय निकायको जोड यस क्षेत्रमा हुनुपर्ने उनले बताएका छन् । निवर्तमान अध्यक्ष परिसंघ हरिभक्त शर्माले गएका सात दशक नेपालको परिस्थिति अप्ठेरो रहेपनि अब भने विकासका लागि उचित समय आएको बताए ।
स्टेजमा रहेका दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री डा. हान स्योङ सूलाई इंगित गर्दै नेपालले कोरियाबाट कसरी कसरीमै परियोजना सम्पन्न गर्ने, गुणस्तरीय परियोजना निर्माण कसरी गर्ने भन्ने सिक्नसक्ने बताए । “जहाँ भावी सन्ततीले नेपालको पहाडलाई एउटा दुःखको रूपमा नहेरर सुन्दर शान्त र विश्वले भ्रमण गर्न चाहेको हिमालमा जन्मेको अनुभूती गर्न सकोस्,” उनले भने, “५० वर्षपछिको बलियो सरकार, राजनीतिक कमिटमेन्ट भएकोले अब नेपालमा लगानी गरे ढुक्क भएर प्रतिफल लिन सकिने समय आएको छ ।”  परिसंघका प्रेसिडेन्ट इमिरेट्स विनोद चौधरीले नेपालको व्यापारघाटा कम गर्न यहाँको उत्पादनले मात्रै धान्न नसक्ने भएकोले त्यसको एकमात्र विकल्प भनेको विद्युत् उत्पादन नै भएको बताए । संघीय संसद्को प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरीले निजी क्षेत्रको लगानी ८० प्रतिशतभन्दा धेरै यस क्षेत्रमा रहेकोले देशको विकासको इन्जिका रूपमा यो क्षेत्रमा लगानीका अवसर पनि अनगिन्ती रहेको बताएका छन् ।
प्रत्येक प्रदेशले अद्भूत विकासका अवसर ओगटकोे उल्लेख गर्दै चौधरीले २ नम्बर प्रदेश कृषिको हब, प्रदेश नम्वर ४ लाई प्राकृतिक पर्यटन हब, प्रदेश ५ मक्का मदिना,  कर्णाली र सुदूरपश्चिमले नेपालको अनुहार फेर्न सम्भावना बोकको बताए । 
“नेपालमा अवसर नदेख्नु हाम्रो कमजोरी मात्रै हो,” उनी भन्छन् । शिक्षा स्वाथ्य, ठूला पूर्वाधार, पर्यटन, जलविद्युत् जता लगानी गरे पनि अवसर नै अवसर रहेको उनको भनाइ छ । परिसंघ, नेपाल सरकार, लगानी बोर्ड, नेपाली युवा निर्माण व्यवसायी समुदाय समेतको सहकार्यमा आयोजना गरिएको सम्मेलनलाई गत वर्ष सम्पन्न लगानी सम्मेलन २०१९ को ‘फलोअप’को रूपमा हेरिएको छ । लगानी सम्मेलनमा प्रस्तुत प्रस्तावित परियोजनाका लागि लगानी जुटाउनसमेत यो सम्मेलन उत्प्रेरक हुने अपेक्षा आयोजकको छ ।


सातामा धेरै पढिएको