कारोबार संवाददाता
मंगलबार, भदौ २४, २०७६
258

सुर्खेत-कर्णाली प्रदेश सरकारले प्रदेश प्राङ्गारिक कृषि सम्बन्धी विधेयक ल्याएको छ । प्रदेश सरकारले प्राङ्गारिक कृषि सम्बन्धी विधेयक प्रदेश सभाबाट बहुमतले पारित भएको हो ।
बैठकमा कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले प्रस्तुत गरेको ‘कर्णाली प्रदेश प्राङ्गारिक कृषि सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ लाई प्रदेश सभाले पारित गरेको हो ।

बैठकमा प्रदेश सभा सदस्यहरुले प्राङ्गारिक कृषि सम्बन्धी अभियान चलाउन सरकारलाई सुझाव दिएका छन् । प्रदेशसभा सदस्य अमरबहादुर थापाले यसलाई अभियानका रुपमा लागू गर्नुपर्ने बताए । गाँउ–गाउमा अर्गानिकको महत्व बुझाउन सरकारले विज्ञको व्यवस्था गर्नुपर्ने थापाको भनाई छ । भौगोलिक रुपमा विकट भएको प्रदेश भएकाले राज्यले सञ्चालन गर्ने हरेक योजना तथा कार्यक्रमसँग जोडेर अभियानका रुपमा लागू गर्न सांसद थापाको सुझाव छ । कर्णालीलाई पूर्ण अर्गानिक बनाउन किसानलाई राासायनिक मलमा प्रतिबन्द लगाएर जैविक मल तथा विषाधीको उद्योग स्थापना गर्नुपर्नेमा थापाले जोड दिए ।
सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री केसीले कर्णालीलाई अर्गानिक बनाउन सरकारले अभियानका रुपमा कार्यक्रमहरु सञ्चालन गर्ने बताइन् ।
‘अर्गानिक बनाउन कानुन अभाव थियो,’ मन्त्री केसीले भनिन्, ‘अब कानूनी आधार तयार भएपछि प्रदेश अर्गा्िनक बन्छ ।’ तीन तहको उचित समन्वय र सहकार्यबाट कर्णाली प्रदेश अर्गानिक बन्ने भन्दै मन्त्री केसीले यसमा सबैको योगदान आवश्यक भएको बताइन् ।