लक्ष्मी सापकोटा
सोमवार, भदौ २३, २०७६
690

चिनीमा पाँच रुपैयाँ र घ्यूमा ५० रुपैयाँ छुट


चाडपर्वलाई लक्षितगरेर सोमबारदेखि उपत्यकासँगै उपत्यका बाहिरका विभिन्न स्थानमामा सहुलियत पसल सञ्चालन हुँदैछन् ।चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सरकारले सहुलियत पसल सञ्चालन गर्न लागेको हो ।

उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजनमा साल्टट्रेडिङ कर्पाेरेसन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दुग्ध विकास संस्थान(डीडीसी)ले सहुलियतमा सामान उपलव्ध गराउने छन् । उपत्यकासँगै मुलुकभर ७० ठाउँमा सहुलियत पसल सञ्चालन गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ । चाडपर्वमा बजारमा अस्वाभाविक मूल्यवृद्धि भइ उपभोक्ता ठगिनसक्ने भन्दै बजार मूल्य नियन्त्रण गर्नका लागि सहुलियत पसल सञ्चालन गर्न लागेको मन्त्रालयले जानकारी दिएको छ ।
कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, भक्तपुर र ललितपुरमा सहुलियत पसल सञ्चालन गरिने मन्त्रालयकी उपसचिव उर्मिला केसीले जानकारी दिइन् । उपत्यकाभन्दा बाहिरी जिल्लामा नेपाल खाद्य संस्थान र साल्ट्र टेडिङ कर्पाेरेसनको कार्यालयबाट सुपथ मूल्यमा दैनिक उपभोग्यका सामान वितरण गरिने उनले जानकारी दिइन् । निजी क्षेत्रका व्यवसायीलाई पनि सहुलियत दरमा दैनिक उपभोग्य वस्तु वितरण गर्न निर्देशन दिइएको मन्त्रालयले जानकारी दिएको छ ।
सहुलियत पसलमा मोटा चामल, प्रतिकेजी पाँच, मसिनो चामलमा प्रतिकेजी १० रुपैयाँ, चिनी प्रतिकेजीमा पाँच, खसीबोका प्रतिकेजीमा १०रुपैयाँ र नुन प्रतिकेजीमा दुई रुपैयाँ छुट दिइने मन्त्रालयकी उपसचिव उर्मिला केसीले जानकारी दिईन । डीडीसीले प्रतिकिलो घ्यूमा ५० रुपैयाँ र पनिरमा १० रुपैयाँ छुट दिने छ । डीडीसीले उपत्यकामा लैनचौर, न्यूरोड र खुमलटार र एकिकृत घुम्ती सेवामार्फत घ्यू, पनिर बिक्री गर्ने भएको छ । यस्तै उपत्यकाबाहिर विराटनगर, जनकपुर–ढल्केवर, जनकपुर हेटौंडा, कोहलपुर, नेपालगन्ज, अत्तरिया, धनगढी र बुटवटलमा गरी ११ ठाउँमा विक्रि कक्ष राखिने छ ।सरकारले सहुलियत पसल सञ्चालन गर्नका लागि गत वर्षदेखि बजेटमै रकमको व्यवस्था गर्दै आएको छ । यो वर्ष सहुलियत पसल सञ्चालन गर्नका लागि ३ करोड २५ लाख रुपैयाँ छुट्याएको मन्त्रालयले जानकारी दिएको छ । खाद्य संस्थानको लागि १ करोड ७५ लाख र साल्ट्र टे«डिङ कर्पाेरेशनको लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
चाडपर्वमा बजारमा किनमेल बढी हुने हुँदा बजारका कृत्रिम अभाव कालोबजारी हुन सक्ने भन्दै त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले प्रत्येक वर्ष सहुलियत पसल सञ्चालन गर्दै आएको छ । चाडपर्वमा बजारका बढी चहलपहल हुने हुँदा व्यवसायीले मनपरी मूल्य लिई उपभोक्ता ठग्ने गर्छन् । त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले सुपथ पसल सञ्चालन गर्न लागेको हो ।
सुपथ पसल सञ्चालन गरेसँगै उपभोक्ताले राहत पाउने छन् । सुपथ पसलमा दैनिक उपभोग्यका वस्तु नुन, चिनी, चामल, दाल, गेडागुडी, मैदा, आटा, घ्यू लगायतका अन्य खाद्य पदार्थ राखिने छ । उपत्यकामा संयुक्त रुपमा तीनवटा घुम्ति सेवामार्फत सहुलियत मूल्यमा सामान वितरण गरिने छ ।

छुट दिने वस्तुहरू
नुन प्रतिकेजी–२ रुपैयाँ
चिनी प्रतिकेजी–५ रुपैयाँ
चामल मोटा प्रतिकेजी–५ रुपैयाँ
मसिना चामल–१० रुपैयाँ
घ्यू प्रतिकेजी–५० रुपैयाँ
गेडागुडी प्रतिकेजी–१० रुपैयाँ
खसीबोका प्रतिकेजी–१० रुपैयाँ