गोपाल पोखरेल
आइतवार, भदौ २२, २०७६
543

उदयपुरको पहाडि क्षेत्रमा पर्ने एक दर्जन गाउँका सर्वसाधारण व्यवसायिक अम्रिसो खेतीमा लागेका छन् । भिरालो तथा पाखो बारीबाहेक अन्य कुनै जमिन नभएका जिल्लाको रौता, इनामे, आँपटार, सिरिसे, रुपाटार, नामेटार, हर्देनीलगायतका गाउँका स्थानीयले विगत ४ वर्षदेखि व्यवसायिक रुपमा अम्रिसो खेती गर्दै आएका हुन् ।
१० पाथी मकै र कोदो नफल्ने पाखो बारीमा रोपेको अम्रिसोबाट ३५ देखि ५० हजार रुपैयाँसम्म आम्दानी भएपछि यसको व्यवसायिक खेतीमा अन्य किसानकोसमेत आकर्षण बढेर गएको छ । ‘केही नहुने पाखाबारीमा लगाएको अम्रिसोबाट २२ हजार कमाइ भयो’ रौताका जंगबहादुर पुलामी मगरले भने, ‘एक हजार रुपैयाँको अन्न नफल्ने बारीमा रोपेको अम्रिसो बेचेर २२ हजार रुपैयाँ आम्दानी गर्दा सपना झैं लागेको छ ।’ प्रयास गरे अम्रिसोले राम्रो आम्दानी दिने उनले बताए ।

अम्रिसोबाट भएको आम्दानी देखेर यहाँका अधिकांश स्थानीयले ३ वर्षदेखि आफ्नो पाखोबारीमा अम्रिसो लगाएका छन् । घर सफा गर्न अत्यावश्यक कुचो बनाउने खरको गाउँघरमा समेत अभाव हुँदै गएकोले अम्रिसोको महत्व बढेर गएको उनीहरुको भनाई छ ।
यहाँ उत्पादित अम्रिसो छिमेकी जिल्लाहरु सिरहा, सप्तरी, सुनसरी र मोरङमासमेत निर्यात हुन थालेको छ । नामेटारका देवकुमार मगर अम्रिसो हुर्काउन किसानहरुले खासै परिश्रम गर्नु नपर्ने बताउँछन् । ‘गाईवस्तु र खसी बाख्राबाट मात्र जोगाउने हो भने यसबाट सोचेभन्दा बढी आम्दानी लिन सकिदो रहेछ’ उनले भने, ‘अहिले यहाँका किसानको वार्षिक अम्दानीको मुख्य स्रोत अम्रिसो बनेको छ ।’ यसको अम्दानीले किसानलाई छोराछोरी पढाउन र चाडपर्व मनाउन सजिलो भएको उनले बताए ।
बजारमा एउटा अम्रिसोको कुचोलाई ५० देखि ६० रुपैयाँसम्म पर्ने गाईघाटका व्यापारी रामचन्द्र साह बताउँछन् । पहिले बाहिरबाट तयारी कुचो ल्याएर बिक्री गर्दै आएकोमा गत वर्षदेखि आफैले अम्रिसो किनेर कुचो बनाई बिक्री गर्न थालेको उनले बताए ।
गतवर्ष झैं यसवर्ष पनि समयमै वर्षा भएकाले अम्रिसो खेतीबाट राम्रो आम्दानी हुने किसानको अनुमान छ । पहिले खेती गर्नेले इलाम, पाँचथर, धनकुटालगायतका स्थानबाट बिरुवा ल्याउने झन्झट गर्नु परेपनि आजभोलि किसानले यही बिरुवा तयार गरेकोले अन्य किसानलाई समेत फाइदा पुगेको छ । सरकारी निकायबाट व्यवसायिक तालिम मात्र दिइने हो भने अम्रिसो खेतीले ग्रामिण सर्वसाधारणको आर्थिकस्तरमा सुधार हुने उनीहरु बताउँछन् ।