मनिषा चम्लागाईँ
आइतवार, भदौ २२, २०७६
461

झापा-चाडपर्वलाई लक्षित गरेर झापाका महिलाले सामूहिक सयपत्री फूल खेती सुरु गरेका छन् । चार्डपर्वमा फूलको माग बढ्ने भएपछि झापाको बिर्तामोडका महिलाले सामूहिक फूलको खेती सुरु गरेका हुन् ।
यतिबेला उनीहरु फूल रोप्नका लागि आधुनिक प्रवृतिको ड्याङ (माटो उठाएर बनाइएको फूल रोप्ने ठाउँ) बनाउन, उत्पादित सयपत्रीको बिरुवा बेच्न व्यस्त छन् । आफैँले तयार पारेर रोपेको बिरुवा २ महिनापछि फूल्न थाल्ने बिर्तामोडकी गोमा भट्टराईले बताइन् । उनीहरुले बिर्तामोड–४मा डेढ विगाह जग्गा भाडामा लिएर सयपत्री फूल खेती गरेका हुन् ।

उनीहरुले फूल खेती सम्बन्धि तालिम लिएरै काम सुरु गरेका हुन् । गत वर्षदेखि नै महिलाहरुले सामूहिक रुपमा सयपत्री फूलखेती गर्दै आएका छन् । उनीहरु आफूलाई आवश्यक बिरुवा आफैँ उत्पादन गर्छन् । यस वर्ष झापा साथैै ताप्लेजुङ, पाँचथर र मोरङका बजारमा गरेर १ लाख ५० हजार रुपैयाँ बढीको बिरुवासमेत बिक्री गरेको भट्टराईले जनाइन् । यस वर्ष उनीहरुले २२ हजार बिरुवा लगाएका छन् । प्रत्येक बोटबाट औषतमा पाँचबाट माला उत्पादन हुने उनीहरुको भनाई छ । यस वर्षको तिहारमा ५ लाख रुपैयाँ बढीको माला बेच्ने लक्ष्य लिएका छन् ।
झापाको मागलाई धान्न १५ विगाह क्षेत्रफलमा फूलखेती गर्न आवश्यक रहेको भट्टराइले बताइन् । आयआर्जनको प्रमुख स्रोत फूलखेती हुने कुरामा उनीहरु विश्वस्त छन् । बिगतका वर्षमा १ विगाहमा जमिनमा लगाएको फूलबाट मनग्य आम्दानी गरेपछि फूल खेतीतर्फ आकर्षित भएको भट्टराईले बताइन् । ‘तिहारमा सयपत्री फूलले राम्रो बजार पाउने भए पनि तिहार अघिदेखि नै फूलको माग हुने गर्छ, उनले भनिन्, ‘स्थानीय संघ संस्थाले आयोजना गर्ने कार्यक्रममा पनि हाम्रो फूलको माग हुन्छ ।’ सयपत्री फूल खेतीका लागि ४ महिना खट्न सके राम्रो आम्दानी लिन सकिने उनीहरुको भनाई छ । बीउ र भाडामा लिएको जग्गाको मूल्य जोड्दा वर्षमा १ लाख रुपैयाँसम्म खर्च हुने भट्टराईले जनाइन् । उनीहरुले कलकते लोकल जातको सयपत्री रोपेका छन् ।
फूल खेतीमा भट्टराईसँगै बिर्तामोडकै शर्मिला अधिकारी, नैनकला भट्टराई, सुस्मा भण्डारी, यसोदा चापागाईँ र कञ्चना बरालको साझेदारी रहेको छ । ६ जना नै काममा अहोरात्र खटेका छन् । उनीहरुले फूल रोप्ने समयमा २० देखि २५ जनालाई दैनिक ज्यालादारीमा रोजगार दिन पनि सफल भएका छन् । टिप्ने समयमा पनि केही कामदार आवश्यक पर्र्ने बताउँछन् । आफूले उत्पादन गरेको फूलले तिहारको समयमा बिर्तामोड बजारको मागलाई धान्न सक्ने नैनकला भट्टराई बताउँछिन् । बिगतका वर्षमा उनीहरुले माला प्रतिगोटा ६० रुपैयाँका दरले बिक्री गरेका थिए । ‘यस वर्ष लागात अहिले नै अनुमान गर्न नसकेकाले फूल उत्पादन हुन थालेपछि मात्र मूल्य निर्धारण हुन्छ’ भट्टराईले भनिन्, ‘विगतका वर्षमा पनि बजार मूल्यभन्दा हाम्रो मूल्य कम थियो, यस वर्ष पनि हामी उपभोत्तालाई मार नपर्ने मूल्य निर्धारण गर्ने छौँ ।’ फूलमा गंड्यौला मलको प्रयोग गरेकाले फूल अर्गानिक हुने भट्टराईले बताइन् । तिहारको समयमा बिर्तामोडमा बिक्री केन्द्र स्थापना गरेर फूल बेच्ने योजना उनीहरुले बनाएका छन् ।
फूलमा पनि भारतसँगै निर्भर
नेपाली बजारमा भारतको फूलले राम्रो पकड जमाएको छ । नेपालमा व्यवसायीक फूल खेती गर्नेको संख्या कमै छ । तर, भारतमा भने अत्याधिक फूल उत्पादन हुने गर्दछ । जसकारण भारतले तोकेको मूल्यमा नै फूल बिक्री गर्नुपर्ने बाध्यता रहेको फूल व्यवसायीको भनाई छ । ‘हाम्रो उत्पादनले व्यापारीको मागलाई धान्न सक्दैन, त्यसले गर्दा भारतसँग सम्पर्क टुट्ने डरले भारतीय उत्पादन रोज्न नेपाली व्यापारी बाध्य छन्’ भट्टराईले भनिन् । बर्खामा भारतबाट कम फूल आयत हुने हुनाले त्यस समयमा पनि फूल उत्पादन गर्न सके राम्रो बजार पाउने उनीहरु बताउँछन् । चाडपर्वमा झापामा मात्र ३ करोड रुपैयाँको फूलको माला भारतबाट भित्र्ने जानकारहरु बताउँछन् । बजारमा फूलको माग भए पनि फूल खेतीतर्फ ध्यान दिन नसक्दा भारतबाट आयात गरेको फूल प्रयोग गर्न नेपाली बाध्य छन् । चाडपर्वमा बिर्तामोडको मागलाई मात्र धान्न सके व्यापार घाटा केही कम हुने देखिन्छ ।