मनिषा चम्लागाईँ
बिहिवार, भदौ ५, २०७६
419

झापा-युरिया मलको अभाव हुँदा झापाका कृषक चिन्तित भएका छन् । मल अभावले उत्पादन नहुने हुँदा किसान चिन्तित भएका हुन् । धानमा मल लगाउन सिजनमा मलको अभाव हुदाँ कृषक चिन्तित बनेका छन् । मल अभावले गर्दा धान नफल्ने अवस्थामा पुगेको कृषक बताउँछन् ।
झापाको अर्जुनधारा नगरपालिका –९का कृषक गणेश बुढाथोकीले पोटाउन थालेको धान मल नपुग्दा पसाउन नसकेको बताउँछन् । “धान रातो भएर बिग्रिन सुरु गरेको छ,” बुढाथोकीले भने, “अब एक सातासम्म युरिया हाल्न नपाए धान नफल्ने अवस्थामा पुग्छ ।” विगतका वर्षमा भन्दा यस वर्ष मलको अभाव बढेको बुढाथोकी बताउँछन् । उनको मात्र होइन झापामा अधिकांस किसान अहिले मलको अभाव झेलिरहेका छन् । “अगुवा धानमा भारतबाट चोरी तस्करी गरेर ल्याएको मल हालेको थिए, पछुवा धान मा त त्यो पनि छैन,” अर्जुनधाराकै अर्का किसान देवी खातीले भने ।
केही पसल सञ्चालकले लुकाएर थोरै परिमाणमा उपलब्ध गराउने भारतीय मल पनि छोइनसक्नु महँगो रहेको खाती बताउँछन् । उनले बजारमा मलको अभाव भएपछि स्थानीय व्यापारीले ४० रुपैंयाँ किलोको दरले युरिया मल बिक्रि गर्न थालेको बताए । सहकारीले थोरै परिमाणमा युरिया पाउँदा वितरमा समेत समस्या हुने गरेको छ । युरिया अभावका कारण सहकारीले आफ्ना सदस्यलाई मात्र युरिया बिक्रि गर्न गर्ने गरेका छन् । युरियाको अभावले विगत वर्षको जस्तो धान उत्पादन नहुनेमा किसान चिन्तित भएका हुन् ।
सरकारीस्तरबाट झापामा कृषि सामग्री कम्पनि र साल्ट ट्रेडिङ लिमिटेडले मल उपलब्ध गराउँदै आएका छन् । यस सिजनमा झापामा कति मल आवश्यक पर्छ भन्ने यकिन तथ्याङक छैन । यद्यपी १ लाख बोरा मल भए पर्याप्त हुने कृषि सामग्री कम्पनि बिर्तामोडका प्रमुख कमल पोखरेलले बताए । उनले आयात रोकिएको कारण सहकारीलाई मल उपलब्ध गराउन नसकेको बताए । “कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रिय कार्यालय विराटनगरमा नै मल आयात भएको छैन” पोखरेलले भने, “बिरगञ्ज, विराटनगर हुँदै मल झापा आउने हो, बिरगञ्ज आइपुग्नै एक साता बढी लाग्न सक्छ ।” यस वर्ष आवश्यक मल उपलब्ध गराउन सकेको पोखरेलले बताए । थप युरिया छिटो उपलब्ध गराउन सकेसम्म पहल गरिरहेको जानकारी उनले दिए ।

मलमा कालोबजारी
नेपालमा पाइने युरिया मलको दाम १६ रुपैयाँ प्रतिकेजी रहेको छ । तर, कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङ कर्पाेरेशनले पनि आवश्यक परिमाणमा उपलब्ध गराउन नसकेपछि युरिया मलको चरम अभाव भएको हो । अर्जुनधारा नगरपालिकाको शनिश्चरे बजारमा मल बिउ बिक्रि गर्दै आएका नन्दीकेशर भट्टराईले भारतीय युरिया मल २ हजार रुपैयाँ प्रतिबोरा बिक्रि गर्नु परेको बताए । जसरी भएपनि किसानलाई मल उपलब्ध गराउनु परेकोले मंहगो मुल्यमा किनेर बिक्रि गर्नुपरेको भट्टराई सुनाउँछन् । रोपेको बेलामा डिएपीको पनि यसरी नै हाहाकार भएको बताउँदै भट्टराईले चाहिने बेलामा मल उपलब्ध नभएपछि कालोबजारी बढेको बताए । तराई क्षेत्रमा सबैभन्दा ठुलो परिणाममा युरिया आवश्यक पर्ने यस समयमा सरकारी बेवास्ताका कारण अभाव भएको कृषकको भनाई छ ।

कुन जिल्लामा कति खपत ?
कृषि सामग्री कम्पनि बिर्तामोडले पाँचथर र ताप्लेजुङमा पनि मल निर्यात गर्दै आएको छ । भौगोलिक हिसाबले ताप्लेजुङ ठूलो भए पनि झापामा बढी मल खपत हुँदै आएको पोखरेल बताए । अहिले पनि दैनिकरुपमा झापाका २० भन्दा बढी सहकारीले मलको विषयमा बुझने गरेको पोखरेल बताउँछन् ।
आर्थिक वर्ष २०७५-७६मा झापामा ६ हजार २६५.६ मेट्रिक टन युरिया खपत भएको कृषि सामग्री कम्पनि बिर्तामोडको तथ्यांकले देखाउँछ । सोही वर्ष झापामा २ हजार ६६५.६ मेट्रिक टन डिएपी खपत भएको छ भने, ३१०.६ मेट्रिक टन पोटास खपत भएको छ । त्यस्तै ४२ मेट्रिक टन कृषि चुनको प्रयोग भएको कृषि सामग्री कम्पनि बिर्तामोडको तथ्यांकमा उल्लेख छ । यस वर्ष ताप्जेुङमा ७२.५०० मेट्रिक टन युरिया निर्यात भएको छ । डिएपी १.४ मेट्रिक टन र पोटास ०.१ मेट्रिक टन निर्यात भएको तथ्यांकमा उल्लेख छ । त्यस्तै, पाँचथरमा ४२ मेट्रिक टन युरिया निर्यात भएको छ ।
झापा बढी क्षेत्रफलमा धान उत्पादन हुने गरेपनि रासायनिक मलको प्रयोग प्रत्येक वर्ष बढ्दो क्रममा रहेको प्रमुख पोखरेलले बताए । यस वर्षको साउन महिनामा झापामा मात्र ११ सय १० मेट्रिक टन मल खपत भइसकेको भए पनि कृषकको माग पुरा गर्न नसकेको पोखरेल बताउँछन् । पहाडी जिल्लामा धानमा मलको प्रयोग नगर्ने हुदाँ पनि झापामा बढी खपत भएको विज्ञको भनाई छ ।