किरण आचार्य
मंगलबार, भदौ ३, २०७६
477

८.२८ प्रतिशतदेखि १४.२९ प्रतिशतसम्म बढाउन सिफारिस

दूधको उत्पादन दरअनुसार वर्षमा दुईथरी मूल्य निर्धारण गरिने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले गठन गरेको कार्यदलले दूध उत्पादन बढी उत्पादन हुने (फ्लस सिजन) र कम उत्पादन हुने (लिन) सिजनमा फरक फरक मूल्य निर्धारणको सिफारिस गरेको हो । दूधको उत्पादन दरअनुसार वर्षमा दुईथरी मूल्य निर्धारण गरिने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले गठन गरेको कार्यदलले दूध उत्पादन बढी उत्पादन हुने (फ्लस सिजन) र कम उत्पादन हुने (लिन) सिजनमा फरक फरक मूल्य निर्धारणको सिफारिस गरेको हो । नेपालमा असोजदेखि फागुनसम्म फ्लस सिजन र चैतदेखि भदौसम्म लिन सिजन चल्ने गर्छ ।
हालको बजार मूल्य प्रतिलिटर ७० रुपैयाँलाई आधार भानेर फ्लस सिजनको लागि ८.२८ प्रतिशत र लिन सिजनमा प्रतिलिटर १४.२९ प्रतिशत मूल्य बढाउन दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको संयोजकत्वको कार्यदलले सिफारिस गरेको हो । जसअनुसार ४ प्रतिशत चिल्लोपना (फ्याट) र ८ प्रतिशत ठोस (एसएनएफ) भएको दूधको उपभोक्ता मूल्य भदौदेखि फागुनसम्मका लागि प्रतिलिटर ६ रुपैयाँ र चैतदेखि भदौसम्मका लागि प्रतिलिटर १० रुपैयाँ थप गर्न प्रस्ताव गरिएको कार्यदलका सदस्य तथा डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारीले बताए ।दूध बढी उत्पादन हुने सिजनमा दूध नबिकेर किसानहरूले मिल्क होलिडे गर्नुपर्ने र दूध कम उत्पादन हुने सिजनमा माग अनुसार आपूर्ति गर्न नसक्दा उद्योगीहरू मारमा पर्दै आएको गुनासो गर्दै आएका छन् ।

“किसान, उद्योग र उपभोक्तासमेतलाई दुई थरि मूल्य निर्धारणले लाभ पुग्दछ,” नेपाल डेरी एशोसिएसनका महासचिव प्रल्हाद दाहालले भने, “पहिलोपटक दोहोरो मूल्य सिफारिस भएको छ, यो लागू भएमा सरकारको ऐतिहासिक र सराहनिय कदमको रूपमा स्थापित हुनेछ ।” विदेशमा पनि यस्तो अभ्यास भएको बताउने उनले दूधको उत्पादन लागत कम गर्न र गुणस्तरीय दूध उत्पादनको  मापदण्डअनुसार उत्पादन गर्न सरोकारवाला सबैले सामूहिक रूपमा अगाडि बढ्नुपर्ने बताए ।कार्यदलको सिफारिसअनुसार मूल्यवृद्धिको निर्णय मंगलबार गर्ने मन्त्रालले जनाएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डको अध्यक्षको हैसियतमा कृषि तथा पशुपंक्षी विकास मन्त्रीले कार्यदलको सिफारिसअनुसार सरकारी स्वामित्वको दुग्ध विकास संस्थानलाई मूल्य समायोजनको निर्देशन दिँदै आएका छन् । निर्देशनअनुसार संस्थानले वृद्धि गर्ने दिनदेखि नै निजी डेरीले पनि पोकाको दूधको मूल्यवृद्धि गर्ने गर्दै आएका छन् । विगतमा जस्तै वृद्धि हुने मूल्यको ६९ प्रतिशत हिस्सा किसानलाई र ३१ प्रतिशत उद्योगीको हिस्सामा पर्ने गरि मूल्य बढाउन सिफारिस गरिएको हो ।
सिफारिस गरिएअनुसार मूल्यवृद्धि गरेमा तत्काललाई किसान र उद्योगीका समस्या समाधान हुने र उपभोक्तालाई पनि धेरै मार नपर्ने केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले बताए । उनले दीर्घकालमा दुग्ध क्षेत्र सुधार गर्न सरकारले ठोस कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । कार्यदलले गरेको सिफारिस अुनसारको मूल्य लागू भएमा फ्लस सिजनमा किसानले हाल पाइरहेको मूल्यमा थप ४ रुपैयाँ १४ पैसा र उद्योगले १ रुपैयाँ ८६ पैसा पाउनेछन् भने यो सिजनमा उपभोक्ता मूल्य प्रतिलिटर ७६ हुनेछ । लिन सिजनमा भने उपभोक्ताले प्रतिलिटर ८० रुपैयाँ तिर्नुपर्नेछ, जसबाट आउने रकमको प्रतिलिटर ६ रुपैयाँ ९० पैसा किसानलाई र ३ रुपैयाँ १० पैसा उद्योगले पाउनेछन् । कार्यदलको प्रतिवेदनमा विगत दुई वर्षमा मुद्रास्फीतिदर ९ प्रतिशतले बढेको, पशु आहारको मूल्य ३९ प्रतिशत र श्रम ऐन अनुसार श्रमिक ज्यालामा ११६ प्रतिशतले वृद्धि भएकाले किसान तथा उद्योगतर्फ दूधको उत्पादन लागत मूल्य १९.९ प्रतिशतले वृद्धि भएको उल्लेख छ । 
 यसअघि किसान र उद्योगीहरूले सरकारलाई दूधको मूल्यवृद्धि गर्न दबाब दिँदै आएका छन् । फ्लस सिजनमा बढी भएको दूधलाई पाउडर प्लान्टमा धुलो दूध र क्रिम निकालेर स्टोर गर्ने गरिन्छ भने कम उत्पादन हुने (लिन) सिजनमा बजारको  मागलाई पूर्ति गर्न धुलो  दूध र क्रिमको प्रयोग गरिन्छ । सरकारले यसअघि २०७१ पुस १ गते प्रतिलिटर ८ रुपैयाँ बढाएर ६४ रुपैयाँ प्रतिलिटर पु-याइएको थियो भने २०७४ भदौ १ गतेदेखि लागू हुनेगरी प्रतिलिटर ६ रुपैयाँ बढाएर ७० रुपैयाँ प्रतिलिटर पु-याइएको थियो ।  सिफारिसअनुसारको दूधको मूल्य बढाउदा मिल्क होलिडेको समस्या समाधान हुने र धुलो दूध आयातसमेत घट्ने प्रतिवेदनमा उल्लेख छ ।
धुलो दूधको आयात रोकिएपछि बजारमा दूधको अभाव देखिएको छ । दूध अभाव हुँदा भारतबाट झोल दूध आयात गर्न पुनः थालिएको तर नेपालसम्म ल्याइपु-याउँदा प्रतिलिटर ६० पैयाँ पर्न आउने तर नोपलमा हाल ४९ रुपैयाँ २९ रुपैयाँ औषत मूल्य भएकाले मूल्य वृद्धि हुँदा पनि नेपालमै दूधको मूल्य सस्तो पर्नेसमेत उल्लेख छ । दूधको मूल्य लागत कम गर्न तथा  उत्पादन बढाउनका लागि समेत सरकारलाई सुझाव दिएको छ । 

⇔ बर्सेनि २० देखि २२ लाख टन उत्पादन
⇔ जीडीपीमा ९ प्रतिशत योगदान
⇔ ५ लाख कृषक र २० हजार उद्योगमा रोजगारी 
⇔ प्रतिदिन साढे ३ करोड रकम सहरबाट गाउँ प्रवाह
⇔ दुग्ध उद्योगमा मात्र ३० अर्ब लगानी
⇔ उद्योगबाट वार्षिक एक अर्ब राजस्व 
⇔ प्रतिवर्ष प्रतिव्यक्ति दुग्ध उपभोग ७२ लिटर
⇔ १८ सय सहकारी संलग्न, आत्मनिर्भरउन्मुख क्षेत्र