लक्ष्मी सापकोटा
सोमवार, भदौ २, २०७६
457

नेपाल आयल निगमले आफ्नै ब्रान्डमा खाना पकाउने ग्यासका सिलिन्डर उत्पादन गर्ने भएको छ। निगमले चालू आर्थिक वर्षको कार्यक्रमअन्तर्गत विभिन्न तीन स्थानमा ग्यासको भण्डारणगृह निर्माण गरी ग्यास सिलिन्डर उत्पादन गर्ने तयारी गरेको हो । यसका लागि निगमले कार्यक्रमसमेत स्वीकृत गरिसकेकोे छ ।
चालू आर्थिक वर्षमा प्रदेश १ मा झापाको चारआली, प्रदेश २ मा जनकपुरको महेन्द्रनगर र प्रदेश ३ मा मकवानपुरको हेटौंडामा भण्डारणगृह निर्माण गर्न लागिएको निगम प्रवक्ता वीरेन्द गोइतले जानकारी दिए । ग्यासको बोटलिङ प्लान्ट स्थापना गरी आफ्नै ब्रान्डमा खाना पकाउने ग्यास सिलिन्डर पनि उत्पादन गर्न लागिएको उनले जानकारी दिए ।निगमले ‘एनओसी’ ब्रान्डमा सिलिन्डर उत्पादन गर्न लागेको हो।

निगमले आफ्नै ब्रान्डको ग्यास सिलिन्डर उत्पादन नहुँदा निजी व्यवसायीले विभिन्न बहाना देखाउँदै बन्द हडताल गरेर बजारमा ग्यासको असहज गराउँदै आएका छन् । व्यवसायीले एउटा ब्रान्डको सिलिन्डर अर्काे ब्रान्डको सिलिन्डरसँग नसाटिदिएर उपभोक्ताले थप पैसा तिरेरमात्र साट्नुपर्ने अवस्था छ । निगमले ग्यास सिलिन्डर उत्पादन गरेपछि उपभोक्तालाई सहज हुने विश्वास लिइएको छ ।
अहिले निजी क्षेत्रका व्यवासायीले ग्यास उत्पादन गरी बजारमा वितरण गर्दै आएका छन् । लामो समयपछि निगमले आफ्नै भण्डारणगृह र आफ्नै ब्रान्डमा सिलिन्डर उत्पादन गर्न लागेको हो।निगमका अनुसार जनकपुरको महेन्द्रनगर र झापाको आरआलीमा निगमको स्वामित्वमा जग्गा भएकाले सोही जग्गामा बोटलिङ प्लान्टस्थापनागरी सिलिन्डर उत्पादन गर्ने कारखाना निर्माण गरिनेयोजना रहेको छ। निजी क्षेत्रका ५६ वटा खाना पकाउने ग्यास सिलिन्डर उत्पादन गर्ने उद्योगसँग १६ हजार ८ सय टन क्षमताको भण्डारणगृह छ। प्रत्येक उद्योगसँग न्यूनतम ३ सय टनदेखि १ हजार टन क्षमताको भण्डारणगृह छ।
महेन्द्रनगर र चारआलीमा एकै क्षमताको भण्डारणगृह र सिलिन्डर उत्पादन गर्ने कारखाना निर्माण गर्ने निगमको योजना छ । ती दुवै स्थानमा पाँच–पाँच हजार टन क्षमताको ग्यास भण्डारण गर्ने भण्डारणगृह र पाँच–पाँच सय टन क्षमताका सिलिन्डर उत्पादन गर्ने कारखाना निर्माण हुनेछन् । ती दुवै स्थानबाट ३०–३० हजारको दरले दैनिक ६० हजार थान सिलिन्डर उत्पादन गर्ने निगमले जनाएको छ। एक स्थानमा भण्डारणगृह र सिलिन्डर उत्पादन कारखाना निर्माण गर्न करिब ७५ करोड रुपैयाँ लाग्ने निगमले जनाएको छ।
निगमले भण्डारणगृह निर्माण र सिलिन्डर उत्पादन गर्ने कारखाना निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम सुरु गर्न लागेको जानकारी दिएको छ । निगमले आफ्नै भण्डारणगृह र आफ्नै ब्रान्डमा सिलिन्डर उत्पादन गरेपछि ग्यासमा रहेको निजी क्षेत्रको एकाधिकार तोडिनेछ।
निगमका अनुसार महेन्द्रनगरमा निगमको नाममा १० बिघा जग्गा छ। भण्डारणगृह र सिलिन्डर उत्पादन गर्न कारखाना निर्माण कार्य अघि बढाइएकाले उक्त नौ बिघामा उपलब्ध गराइदिन निगमले नेपाली सेनाको मुख्यालयमा पत्राचार गरिसकेको छ। बजारमा विभिन्न ब्रान्डका सिलिन्डर वितरण भइरहेका छन् ।
देशभर मासिक ४५ हजार टनसम्म ग्यास खपत हुन्छ। मुलुकभर १ करोड १० लाख थान सिलिन्डर छन् । पछिल्लो समय ग्यासको खपत दिनप्रतिदिन बढ्दै गएको छ । सहरी क्षेत्रसँगै ग्रामीण क्षेत्रमा समेत ग्यासको प्रयोग बढ्दै गएकाले ग्यासको खपत बर्सेनि बढ्दै गएको हो ।निगमका अनुसार वार्षिक१५ प्रतिशतले ग्यासको खपत बढ्दै गएको छ ।