लक्ष्मण ढुंगाना
शुक्रवार, श्रावण ३१, २०७६
611

बाँके-आन्तरिक राजस्व कार्यालय बाँकेमा व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या निकै बढेको छ । सरकारी तथा निजी क्षेत्रमा कार्यरत सबै कर्मचारीले साउन १ गतेदेखि स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने अनिवार्य व्यवस्था लागू भएसँगै कार्यालयमा सेवाग्राहीको भीड लागेका हो ।
कार्यालयका अनुसार बिहीबारसम्म करिव ११ हजार जनाले व्यक्तिगत प्यान लिएका छन । एकमहिना नपुग्दै प्यान लिन आउनेको यो संख्या हालसम्मकै सवैभन्दा बढी भएको कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख कर अधिकृत प्रकाश पौडेलका अनुसार २०६६ सालमा व्यक्तिगत प्यान लिने व्यवस्था शुरु भएयता २०७६ असारसम्म करिव २८ हजारले लिएका थिए । तर सरकारले प्यान बिना दिइएको तलवको हिसाव खर्चमा देखाउन नपाउने व्यवस्था गरेपछि ३० दिनको अवधिमा ११ हजार बढीले प्यान लिइसकेका छन् । त्यस्तै सो अवधिमा ९ सय वटा व्यावसायिक प्यान वितरण भएको छ । अझै १ हजार ५ सय जति प्रकृयामा रहेको उनले जानकारी दिए । कार्यालयले साउन महिनाभित्र करिव १४ हजार प्यान वितरण गरिने अनुमान गरेको छ ।

बाँके र बर्दिया कार्यक्षेत्र रहेको कार्यालयमा प्यान लिन आउने सेवाग्राहीको भिडलाग्न थालेपछि कार्यालयले ९ वटा टेवुलवाट सेवा उपलब्ध गराएको जनाएको छ । त्यस्तै नेपालगन्ज उद्योग वाणिज्य संघले समेत २ जना स्वयमसेवकलाई खटाएको छ ।
सरकारले साउन १ गतेदेखि स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने अनिवार्य व्यवस्था लागू गरेपछि कुनै पनि कम्पनी तथा फर्मले कर्मचारीलाई तलब दिँदा सिधै नदिइ बैंक खातामा पठाउनुपर्ने भएको छ । यसरी प्यान नम्बर उल्लेख भएपछि व्यक्तिले बुझेको पारिश्रमिकमा कति कर लाग्छ र सो करदाताले कति कर ति¥यो भन्ने स्पष्टता आउनेछ । प्यान नम्बर लिँदा अनलाइनबाट समेत लिन सकिने आन्तरिक राजस्व कार्यालय नेपालगन्जको भनाइ छ ।