कारोबार संवाददाता
मंगलबार, श्रावण २८, २०७६
433

धनकुटाको साविक मूर्तिढुंगा, परेवादिन र ताङ्गखुवा गाविसका माथिल्लो क्षेत्रका १५ हजार किसानले गत आर्थिक वर्षमा तरकारी बेचेरै करिब ३४ करोड रूपैयाँ आम्दानी गरेका छन् ।
बेंशी र तराईका जिल्लामा रोपाइँको मुख्ख सिजन चलिरहँदा धनकुटाको तरकारी जोन क्षेत्रका अहिले तरकारी उत्पादन र बिक्री गर्न व्यस्त छन् । एक दशक अघिसम्म घँघरु र चुथ्रो घारीले छोपिने धनकुटाको माथिल्लो भेगका नागिडाँडा अहिले तरकारील हराभरा भएका छन् ।

स्वदेशी सोच, स्वदेशी लगानी तथा आन्तरिक र संस्थागत जनशक्तिबाट तयार गरिएको कृषि विकास रणनीति कार्यान्वयनको सहयोग परियोजनामा नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत भई आर्थिक वर्ष २०७३-७४ बाट मुलुकका विभिन्न स्थानमा जस्तै धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिंधुवामा पनि प्र्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, तरकारी जोन कार्यलय स्थापना भएको थियो । योसँगै यसको कार्य क्षेत्र रहेको छथर जोरपाटी गाउँपालिका वडा नं. २, ३, ५ र ६ तथा महालक्ष्मी नगरपालिका वडा नं. ८ र ९ मा पर्ने जोरपाटी, सिंधुवा र मुर्तिढुंगामा मात्रै २२ हजार २ सय ३९ मेट्रिक टन गाँजर, रायो, मुला, आलु, काउली र बेमौसमी बन्दाकोपि उत्पादन भएको हो ।
तरकारी बिक्रीबाट यहाँका १४ हजार ८ सय ८९ परिवार किसानले करिब ३४ करोड रूपैयाँ आम्दानी गरेको तरकारी जोन कार्यालय धनकुटा सिंधुवाका निमित्त बरिष्ठ कृषि अधिकृत देविन्द्र साहुले जानकारी दिए । उनले वर्षमा ३ पटकसम्म उत्पादन लिन सकिने तरकारी खेती भएपछि मकै, कोदो र भटमास जस्ता ढिलो उत्पादन दिने खाद्यान्न बाली छाडेर यहाँका किसान व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएको बताए ।
किसानका लागि राम्रो अर्थोपार्जनको माध्यम बनेको तरकारी उत्पादन र निकासीमा भने केही समस्या छन् । किसान र व्यवसायीले विदेश निर्यातका लागि उत्पत्ति र निरोगिताको प्रमाणापत्र सहजरूपमा उपलब्ध हुने वातावरण मिलाइदिन आग्रह गरेका छन् । विगत २ वर्ष यता काउली परिवारका साग, बन्दा र फूल काउली जस्ता तरकारीमा देखा परेको क्लपरुट नामक जरा कुहिने रोगले उत्पादन र गुणस्तर खस्किँदै जान थालेपछि किसानको चिन्ता चुलिएको छ ।
धनकुटाको तांखुवाका कृषक मिलन मगरले भने पछिल्लो समय यहाँको मुख्य उत्पादनको रूपमा रहेको बन्दाकोपीमा आएको रोगले गर्दा उत्पादन घटेकाले किसानलाई सताएको बताए । उपचार विधि के हो भन्ने विषयमा किसान जानकार नभएको उनको भनाइ छ । कृषि प्राविधिकहरूले कृषि चुन लगाएमा रोग रोगथाम हुने बताए पनि त्यसबाटसमेत समस्या समाधान नभएको र कृषि प्राविधिकले माटो परीक्षण गर्न लगेको नमूनाको रिपोर्ट समेत के आयो भन्ने आफूहरूलाई जानकारी नभएको मगरले बताए ।
यता जोन कार्यालयले भने आर्थिक वर्ष २०७५-७६ सम्म ९ सय १० जना कृषकलाई प्रोत्साहन अनुदान वितरण गरेको छ । कार्यालयले किसानको खेतवारीमा नै गएर माटो निर्मलीकरण, अनुसन्धानमा आधारित प्रदर्शन, स्थलगत जनचेतनामूलक कार्यक्रम, एकीकृत विधि व्यवस्थापनका लागि बुलेटिन प्रकाशन तथा वितरण, सहभागितात्मक अनुसन्धानमूलक समस्या निदान प्रविधि प्रदर्शनलगायतका कार्यक्रम सञ्चालन गरिरहेको भए पनि रोग पहिचान हुन समय लाग्ने वरिष्ठ कृषि अधिकृत देविन्द्र साहु बताउँछन् । त्यस्तै वातावरणमैत्री रोग किरा न्यूनीकरणका उपायका लागि फेरोमन ट्याप वितरण तथा बृहत कृषि मेला प्रदर्शनीलगायतका कार्यक्रम गरिरहेकाले समेत यस क्षेत्रका किसानलाई ठूलो राहत मिलेको र यसबाट किसानको आम्दानी र तरकारी उत्पादनसमेत बढ्दै गएको जोन कार्यालयले जनाएको छ ।

विकास घिमिरे