कारोबार संवाददाता
मंगलबार, श्रावण २८, २०७६
447

अर्घाखाँची- मालपोत कार्यालय अर्घाखाँचीमा भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत अनलाइन सेवा सुरु गरिएको छ । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले कम्प्युटमा रहेको सफ्टवेयर क्लिक गरी आइतबारदेखि सेवाको शुभारम्भ गरेका हुन् । कार्यक्रममा प्रजिअ लामिछानेले नेपाल सरकारको सबै सेवाप्रवाहलाई सूचना प्रविधिमैत्री बनाउँदै लैजाने नीतिअनुसारको सेवा सुरु गरिएको बताए । उनले सेवाग्राहीलाई छिटोछरितो, पारदर्शी, सहज र विश्वसनीय बनाउन यो प्रणालीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका कम्प्युटर अधिकृत हीरागोपाल महर्जनले अर्घाखाँची यस्तो किसिमको सेवा प्रदान गर्ने ७९ औं मालपोत कार्यालय रहेको भन्दै देशभरका १२६ वटा मालपोत कार्यालयमा यो सेवा विस्तार गर्ने लक्ष्य राखिएको जानकारी दिए । महर्जनले जग्गा प्रशासनसम्बन्धी सेवा सूचना प्रविधि मैत्री, सहज, छरितो, पारदर्शी र विश्वसनीय बनाउन यो प्रणाली लागू गरिएको बताए । उनले यो प्रणालीमा हरेक दिन मुलुकभर कति जग्गाको कारोबार भयो, कति खरीदबिक्री भयो, कति राजस्व संकलन भयो भन्ने जानकारी विभाग वा मन्त्रालयबाट पनि हेर्न सकिने बताए ।
यस प्रणालीमा घरजग्गाको स्वामित्व हस्तान्तरण हुँदा लिने र दिने साक्षीको औंठा छाप, दस्तखत तथा फोटो र विद्युतीय उपकरणका माध्यमबाट प्रणालीमा समावेश गर्ने एवं उक्त घर–जग्गा किनबेच गर्दा परीक्षण गर्ने व्यवस्था रहेको मालपोत कार्यालयले अर्घाखाँचीले जनाएको छ । घरजग्गाको स्वामित्व हस्तान्तरण हुँदा निवेदन र लिखत स्वीकृत हुनुभन्दा अगावै जग्गाधनीलाई एसएमएस र इमेलमार्फत नोटिफिकेसन जाने व्यवस्था रहेको हुँदा कीर्ते कारोबार प्रायः शून्य हुने मालपोत कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख माधब अर्यालको भनाइ छ ।