गोपाल पोखरेल
सोमवार, श्रावण २७, २०७६
549

रौतामाई (उदयपुर)-उदयपुरको रौतामाई गाउँपालिकाका रौता, आँपटार, पोखरी, सल्ले, पुवारेलगायतका गाउँमा केही वर्ष अघिसम्म खसीबोकाको घाँसको रूपमा मात्रै प्रयोग हुने तेजपत्ता अहिले प्रमुख आम्दानीको माध्यम बनेको छ । ५-६ वर्ष अघि तेजपत्ताको महत्व बुझेका किसान यसको व्यावसायिक खेतीमा लागेपछि तेजपत्ता प्रमुख नगदेबाली बनेको हो । विगत ४ वर्षयता यहाँका किसानले अघिल्लो वर्षको तुलनामा हरेक पछिल्लो वर्ष दोब्बर बढी आम्दानी गर्दै आएका छन् ।
डाँठसहितको तेजपत्ता अघिल्लो वर्ष प्रतिकेजी २३ रुपैयाँमा बिक्री गरिएकोमा यस वर्ष उनीहरूले प्रतिकेजी २८ रुपैयाँसम्ममा बिक्री गरेका छन् । पात मात्र भएकाको मूल्य भने ४० रुपैयाँ प्रतिकेजी छ । हरेक वर्ष मूल्य बढ्दै गएको र बजारको समस्या नभएकाले किसानले तेजपत्ताको व्यावसायिक खेती गर्दै प्रमुख नगदेबालीको रूपमा विकास गरिरहेको आँपटारका टामिन्द्र राई बताउँछन् ।

“जंगलमा प्राकृतिक रूपमा उम्रिएको तेजपत्तालाई व्यावसायीकरण गरी अहिले प्रत्येक किसानले आफ्नो बारीमा रोपेका छन्,” राईले भने, “यसअघि परम्परागतरूपमा संकलन गरी बिक्री गर्दै आएका किसानले गतवर्षदेखि पातको गुणस्तर निर्धारण गरी व्यवस्थितरूपमा बिक्री गर्न थालेका छन् ।” त्यस क्षेत्रमा जडिबुटी र मसलाका लागि बहुउपयोगी मानिने विश्वकै सवैभन्दा उत्तम ‘सिनामोमन तमला’ जातको तेजपत्तासमेत पाइने राईले बताए । “पात संकलन गर्न, हाँगा काट्न र बोक्रा निकाल्न नजान्दा भने जति मूल्य पाउन सकिएको थिएन,” रौता–८ कोल्टेका वीरबहादुर मगरले भने, “तर यी सबै कुरा सिकेपछि पात र बोक्राको फरक–फरक मूल्य पाउन थालेका छौं ।” उनले गुणस्तरीय उत्पादन बजारसम्म पु¥याउन नसकेका किसानले प्रविधिबारे जानकारी पाएपछि दोब्बर बढी आम्दानी लिएको जानकारी दिए ।
किसानले विगत चार वर्षदेखि आफैंले नर्सरी निर्माण गरी बिरुवा उत्पादनसमेत गर्न थालेका छन् । एउटा हुर्किएको बिरुवाबाट ९-१० बर्षसम्म आम्दानी लिन सकिने भएकाले किसानहरूले तेजपत्तालाई प्रमुख नगदेबाली मान्दै आएका छन् । भनेजस्तो आम्दानी भएपछि व्यवसाय बढाउनका लागि उनीहरूले गाउँगाउँमा समूह निर्माण गरेका छन् । व्यावसायिक रूपमा तेजपत्ता उत्पादन र बिक्री गरेका कारण त्यस क्षेत्रका किसान आर्थिकरूपमा सम्पन्न हुँदै गएका छन् ।
तेजपत्ताको बिक्रीबाट किसानले घर खर्च चलाउनुका साथै कतिपयले सुन र घरजग्गा समेत किनेका छन् । स्थानीय सीता राईले गतबर्ष बिक्री गरेको तेजपत्ताको रकमबाट सुन किनेर लगाएको बताइन् । “खसीबाख्रालाई खुवाएर र बारीमै कुहिएर जान्थ्यो,” उनले भनिन्, “गाउँलले ५-६ वर्ष अघि मात्रै बिक्री हुने कुरा थाहा पाएर खेती सुरु गरेका हुन् ।” आफू जस्तै तेजपत्ता बेचेर आएको पैसाले सुन किनेर लगाउने महिला तीन दर्जनभन्दा बढी भएको सीताले बताइन् ।
उदयपुरको रौतामाई गाउँपालिकामा मात्रै बार्षिक करिव ४ सय मेट्रिक टन तेजपत्ता उत्पादन हुने गरेको छ । काठमाडौं, विराटनगर तथा भारतका विभिन्न क्षेत्रमा यसको बिक्री गरिन्छ ।