छविलाल बगाले
सोमवार, श्रावण २७, २०७६
315

चिप्लेढुङ्गा-नेपाली बजारमा सुनको भाउ बढेसँगै सर्वसाधारण सुन किन्नभन्दा बेच्न लागेका छन् । चाडपर्व नजिकिँदै गर्दा सुनको भाउ बढेपछि नेपाली बजारमा सुन किन्ने भन्दा बेच्नेको भिड बढ्न थालेको हो ।
चाडपर्वको मौसममा ग्राहक कुरिरहेका सुन व्यापारी यतिबेला सुन किन्न भन्दा बेच्न आएका ग्राहकहरुबाट हैरान छन् । मूल्य बढेको मौकालाई अवसरका रुपमा लिनेले आफू संग भएको सुन बेच्ने गरेका छन् । अहिले सुनका गहना किन्ने भन्दा पनि बेच्न खोज्नेको संख्या बढी रहेको सगरमाथा सुनचाँदी पसल महेन्द्रपुल पोखराका सुरेन्द्र विश्वकर्माको भनाइ छ । सुनको मूल्य बढेपछि बिक्रीमा भने कमी आएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण नेपाली बजार पनि प्रभावित भएको हो ।

“पसलभरि ग्राहक छन् तर सुन किन्न हैन”, उनले भने, “आफ्नै पसलबाट प्रतितोला ५२ हजार रुपैयाँमा सुन खरिद गरेर लगेकाहरु अहिले त्यही बिल लिएर प्रतितोला ७० हजार रुपैयाँमा बेच्न आएका छन् ।” आफ्नै ग्राहकको सुन खरिद नगर्ने पनि भएन, खरिद गर्न पैसा पु¥याउनै गाह्रो भएको उनको भनाइ छ । तीज आयो भनेर सुनमा लगानी गरेका सुन व्यवसायीलाई निकै मर्का परेको दाबी विश्वकर्माको छ ।
सुनको मूल्य ७० हजार प्रतितोला रहेको छ । तेजाबी सुन ६९ हजार ७ सयमा कारोबार भएको विश्वकर्माले बताए । नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीका प्रथम उपाध्यक्ष रामबहादुर विश्वकर्माले सुन व्यापार १० प्रतिशतमा झरेको बताए । “नेपाली महिलाको महान पर्व तीजलाई लक्षित गहना अहिले यत्तिकै थन्किएका छन् । ग्राहक पुराना गहना लिएर बेच्न आउनुभएको छ”, विश्वकर्माले भने, “नयाँ सुन बैंकमा राखेर ग्राहकको पुरानो सुन खरीद गर्न बाध्य भएका छौ ।” झण्डै तीन -चार किलो सुन खपत हुने पोखराको बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राख्दै आकाशिएपछि यो व्यवसायबाट नै पलायन हुनुपर्ने स्थिति आएको उनको भनाइ छ । “यस्तै अवस्था हो भने व्यवसाय धरासायी बन्छ, कालीगढहरुले विकल्प खोज्नुपर्ने अवस्था आउँछ” उनले भने ।
उनका अनुसार अहिले कास्कीमा झन्डै ५०० बढी सुनचाँदी व्यवसाय दर्ता छन् भने र स्वर्णकार कल्याण संघमा दर्ता भएका ३०० कालीगढ प्रत्यक्ष रोगजारीमा संलग्न छन् ।
सुनको मूल्य बढ्नुमा अन्तर्राष्ट्रिय बजारमा अमेरिका र चीनबीचको पछिल्लो समय चलेको व्यापारिक द्वन्द्व नै प्रमुख कारण भएको व्यवसायीको भनाइ छ । “डलरमा भन्दा सुनमा लगानी बढेकाले मूल्यवृद्धि भयो, माग बढेपछि मूल्य वृद्धि स्वभाविक हो । सुनको मूल्य देशको आन्तरिक अवस्थाले भन्दा पनि अन्तर्राष्ट्रिय कारोवारले फरक सुन व्यवसायी भरत दियालीको भनाइ छ ।
५८ हजार रुपैयाँमा आठ तोला सुन खरिद गरेकी पोखरा चाउथेकी सानुमाया खड्का अहिले त्यही सुन बेचेर छोरालाई अस्ट्रेलिया पठाउने तरखरमा छिन् । “पैसा पुगेको थिएन, सुनको मूल्य बढ्यो, यही बेला सबै सुन बेचेर छोरालाई अष्ट्रेलिया पठाउन लागेको छु, मूल्य घटेपछि पुनः किनौला । अहिलेको समस्या टर्ने भयो ।” सुनको मूल्य बढेकोमा खड्काले खुशी व्यक्त गरिन् ।
दैनिक २५-३० तोला सुनका गहनाको व्यापार गर्दै आएका महेन्द्रपुल रुपाकोट सुनचाँदी पसलका सञ्चालक दशरत सुनार अहिले सुन किन्ने मानसिकताले कोही ग्राहक नआउने गरेको बताए । “नेपालीको आयस्रोत भन्दा निकै उच्च रहेको सुन अब किन्न सहज छैन, तोलाको ७० हजार रुपैयाँ हालेर सुन किन्ने अवस्था छैन,” उनले भने, “चाडवाड नजिकिँदै गर्दा आकाशिएको सुनको मूल्यले सुनका गहना लगाउने इच्छा नेपाली महिलामा मरेको छ ।”
“अहिले सबै ग्राहक सुन किन्ने होइन । बेच्न मानसिकतामा आउनुहुन्छ । दिनको तीन-चार तोला नयाँ सुन बेच्न पनि मुस्किल छ” सेनाले भने । सुनमा लगानी खेर नजाने भएकाले पनि मानिस सस्तोमा किन्न र महङ्गोमा बेच्न खोज्ने उनको भनाइ छ ।

जमुना शर्मा-तारानाथ आचार्य