प्रकाश लम्साल
सोमवार, श्रावण २७, २०७६
760

बारा-जितपुर–सिमरा–१ का साहिलले शुक्रबार व्यक्तिगत प्यान नम्बर लिए । यसअघि बिना प्यानमै काम गदै आएका साहिल प्यान नुहँदा काम गर्ने सिलसिलामा कतिपय अवस्थामा पाउने छुट लिन नपाएको बताउँछन् । घर निर्माणको काम गर्ने साहिल ठूला ठेकेदारले आफूलाई भुक्तानी दिँदा र उद्योगमा कहिलेकाही स–साना काम पाउँदा सरकारले तोकेको छुटमा पर्न पान लिएको बताउँछन् ।
सन्देश सप्लार्यस सिमरा–२ का रमेश घिमिरेले नियमित रूपमा कर तिर्दै आएका छन् । उनी समृद्धिको मुख्य आधार राजस्व हुने हुँदा सबै करको दायरामा सहभागी भईदिँदा मुलुकले आफैं गति लिने बताउँछन् । भन्छन्, “करको सहज दायरामा ल्याउँदै गरेको सिस्टमप्रति सकारात्मक छु ।”

संघीय सरकारले चालू आर्थिक वर्षबाट प्यान नम्बर अनिवार्य गरेपछि राजस्व कार्यालयहरूमा सर्वसाधारणको भीड बढेको छ । बाराको सिमरास्थित आन्तरिक राजस्व कार्यालयबाट चालू आर्थिक वर्षको २६ दिनमा ५ हजार ३ सय ३० सेवाग्राहीले व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिएका छन् । यसअघि अघिल्लो आर्थिक वर्षसम्म कार्यालयबाट २८ हजार ७ सय ७८ जना व्यक्तिगत प्यान नम्बरले लिएका थिए ।
सरकारले गरेको व्यवस्थापछि विशेषगरी व्यक्तिगत प्यान प्रमाणपत्र लिन आउनेको संख्या निकै बढेपछि सिमरा कार्यालयले छुट्टै पाँच जनाको समूह बनाएर पि–प्यानका लागि मात्रै खटाएको आन्तरिक राजस्व कार्यालय सिमराका प्रमुख कर अधिकृत तुलसीप्रसाद चौलागाईले बताए । उनले अहिले दैनिक ४ सयदेखि पाँच सयसम्म सेवाग्राही व्यक्तिगत प्यान लिन आउने गरेको जानकारी दिए । फारमदेखि अन्य आवश्यकीय प्रक्रिया कर्मचारीले नै निःशुल्क दिँदै आएको र व्यक्तिगत प्यान लिनेको संख्या हेर्दा उत्साहप्रद रहेको उनको भनाइ छ ।
प्यान लिने वातावरण सहज बनाइएपछि सेवाग्राहीले पनि सहज महसुस गरेका छन् । सिमरा–२ का केदार आचार्यले अब आफूले काम गरेको स्थानबाट पाएको तलव उद्योगले करमा खर्च देखाउनुपर्ने भएकाले कर छली रोकिने र विकासका लागि आफूहरूकै पैसा खर्च हुने गरेकाले अरुलाई पनि प्यान लिन सम्झाउने गरेको बताए ।
अहिले सरकारी कार्यालय, सार्वजनिक संघसंस्था, विद्यालय, अस्पताल, गैरसरकारी संस्थालगायत निजी क्षेत्रका संघसंस्था एवम् उद्योग व्यवसायिक फर्मबाट कर्मचारी र कामदार पि–प्यान लिन आउन थालेका छन् ।
पथलैया–वीरगन्ज औद्योगिक करिडोरमा ठूलो संख्यामा भारतीय कामदार कार्यरत छन् । कार्यालयका अनुसार व्यक्तिगत स्थायी लेखा नम्बरका लागि विदेशीले निज कार्यरत रहेको कार्यालय, उद्योगको सिफारिस र विदेशी भनी प्रमाणित गराउने कागजात अनिवार्य बुझाउनुपर्ने कानुनी व्यवस्था छ । यी सबै प्रक्रिया पु¥याएरै प्यान दिन थालिएको कार्यालयले जनाएको छ । अन्तःशुल्कको नवीकरण र भ्याटको अन्तःशुल्कको प्रमाणपत्र नवीकरण साउन महिनाभित्रै गर्नुपर्ने भएकाले पनि सेवाग्राहीको कार्यालयमा थप घुइँचो बढेको हो ।

व्यवसायी पनि सहभागी
निजी क्षेत्रको संगठनले भने सरकारले अपरिपक्व निर्णय गरेको जनाएको छ । तर बाराका उद्योगी व्यवसायीले भने पि–प्यानमा मौन सहमति जनाउँदै कामदारलाई प्यान नम्बर लिन उत्साहित बनाउँदै आएका छन् । यसले पनि आन्तरिक राजस्व कार्यालयमा आउने सेवाग्राहीको भीड बढेको हो ।
चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले एक हजार रूपैयाँभन्दा बढी मूल्यको खर्चका लागि प्यानमा दर्ता हुनुपर्ने व्यवस्था गरेको छ । जिल्लाका कतिपय उद्योग व्यापारीले यो आफैंमा राम्रो व्यवस्था भए पनि तत्काल कार्यान्वयनमा जान अलि असहज पर्ने देखिएको बताउँदै आएका छन् । तर, जिल्लामा उत्साहप्रद पि–प्यान लिनेको सहभागिताका पछाडि उद्योगी व्यवसायीका संघ–संगठनले मौन सहमति जनाएको संकेतका रूपमा हेरिएको छ ।
आन्तरिक राजस्व विभागका प्रवक्ता यज्ञप्रसाद ढुंगेलले सरकारले अध्ययन गरेरै यो व्यवस्था ल्याएको भन्दै साउनबाटै कार्यान्वयन भएको बताए । पारिश्रमिक पाउने सबै व्यक्तिलाई करको दायरामा ल्याउन र कारोबार एवं व्यावसायिक संस्थाले गर्ने कर्मचारी खर्चलाई पारदर्शी बनाउन यो व्यवस्था गरिएको उनले जिकिर गरे ।
तीन वर्ष अगाडि नै सरकारले ‘सबैका लागि प्यान’ भन्ने अभियान ल्याएको थियो । व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको संख्या नेपालमा ८ लाख ७७ हजार ४ सय ७७ रहेको सरकारी तथ्यांकमा उल्लेख छ ।