नीरज पिठाकोटे
सोमवार, श्रावण ६, २०७६
457

मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको व्यापार÷व्यवसायक्षेत्रको आन्दोलनले देशकै प्रमुख नाका वीरगन्जमाराजस्व र ढुवानीमा नकारात्मक प्रभाव परेको छ । सरकारले साउन १ गतेदेखि लागू गरेको विभिन्न करको विरोधमा अहिले उद्योगी व्यवसायी तथा यातायातक्षेत्रको आन्दोलनले अर्थतन्त्रमा नकारात्मक असर पारेको हो । सरकारले लागू गरेकोसवारी तथा चलानीपत्र निगरानी प्रणाली (भेइकल एन्ड कन्साइन्मेण्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) तथा विभिन्न कर नीतिको विरोधमा उद्योगी व्यवसायी र देशभरका ढुवानी व्यवसायी मालवाहक गाडी थन्क्याएर हड्तालमा उत्रिएका कारण त्यसको प्रत्यक्ष असरराजस्व असुली र सामान ढुवानीमा परेको हो ।
सरकारले साउन १ गतेदेखि ढुवानी व्यवसायलाई मूल्य अभिवृद्धि कर (भ्याट)को दायरामा ल्याउनुका साथै अनलाइनमार्फत निगरानी गर्ने नीति लागू गरेपछि त्यसको विरोधमा देशभरका ढुवानी व्यवसायी हड्तालमा उत्रिएका छन् । ढुवानी व्यवसायीको हड्तालका कारण बुधबारदेखि मालसामानको ढुवानी ठप्पभएपछि वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा रहेका साना ठूला गरीझन्डै सात सय उद्योग बन्द हुने अवस्थामा पुगेपछि उद्योगी चिन्तित भएका छन् ।

उद्योगलाई चाहिने कच्चा पदार्थको मौज्दात सकिन लागेको र उत्पादित तयारी मालसामान पनि बिक्रीका लागि बजारमा पठाउन ढुवानी बन्द भएर नपाएकाले करिडोरका सबै उद्योग बन्द हुने वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले बताए । पाँचदिनदेखि मालसामानको ढुवानी ठप्प हुँदा विदेशबाट आयात गरिएका कच्चा पदार्थ र अन्य मालसामान वीरगन्ज भन्सार र सिर्सिया सुख्खा बन्दरगाहमै थन्किएका छन् ।
ढुवानीका लागि गाडी नपाउँदा आयात गरिएको कच्चा पदार्थ चार दिनदेखि भन्सार नाकामै थन्किएको छ । मालसामान ढुवानी गर्ने ट्रक व्यवसायीको हड्तालका कारण ठप्प रहेको मालसामानको ढुवानीलाई सहज बनाउन वीरगन्ज उद्योगी व्यवसायीले माग गरेका छन् । भ्याटमा दर्ता नभएका सवारी साधनलाई मालवस्तु ढुवानी गर्न नपाएको भन्दै देशभरका मालवाहक यातायात व्यवसायीले सवारी साधन ग्यारेज र घरमा थन्क्याएर राखेपछित्यसको असर आर्थिक क्षेत्रमा परेको छ । भारत तथा तेस्रो मुलुकबाट रेल र स्थलमार्ग हुँदै आयात गरिएका मालसामान भन्सार परिसरमा रहेका यार्ड र गोदाममा थन्किएका छन् ।
ढुवानीका साधन नपाउँदा आयातकर्ताले पनि मालसामानको भन्सार जाँचपासनगराउँदा त्यसको प्रत्यक्ष असर भन्सार कार्यालयको राजस्व असुलीमा परेको भन्सारका कर्मचारीले बताएका छन् । वीरगन्ज भन्सार कार्यालयले दैनिक औसतमा ६० देखि ६२ करोडसम्म राजस्व संकलन गर्दै आएकोमा ढुवानीक्षेत्रको बन्दले साउन १ गते एक तिहाइ मात्रै राजस्व संकलन भएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी मनिष महतोले बताए । उनका अनुसार,साउन १ गतेदेखि ४ गते शनिबारसम्ममा जम्मा ५५ करोड ९७ लाख ३१ हजार ५ सय ९२ रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी महतोले जानकारी दिए ।
साउन १ गते३ करोड ३६ लाख ३३ हजार ३२ रुपैयाँ, २ गते ८ करोड ५१ लाख ८९ हजार ७ सय २१ रुपैयाँ, ३ गते २२ करोड ९५ लाख ९७ हजार ३ सय ५०रुपैयाँ,४ गते २४ करोड १५ लाख ८० हजार ७ सय ८९ रुपैयाँ मात्रै राजस्व संकलन भएको छ । त्यस्तै रेलमार्गबाट आयात हुने सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयलेसाउन १ गते१ लाख रुपैयाँ मात्रै राजस्व संकलन गरेको थियो । २ गते भने भन्सार राजश्व असुली शून्य नै भएको प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले बताए । सामान्य अवस्थामा दैनिक औसतमा १२ करोडको हाराहारीमा राजस्व संकलन गर्ने गरेको छ ।

समस्या समाधान गर्न समिति
भेइकल एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस), प्यानमा अनिवार्य दर्ता र ढुवानीमा भ्याटलगायतका समस्याबारे छलफल गर्न सरकार र व्यवसायी सम्मिलित समिति गठन हुने भएको छ । अर्थ मन्त्रालयमा आइतबार भएको सहमतिपछिसरकारबाट २ प्रतिनिधिसहित निजी क्षेत्रबाट तीन प्रतिनिधि रहनेछन् । नेपाल उद्योग वाणिज्य महासंघले उपाध्यक्षद्वय किशोर प्रधान र उमेशलाल श्रेष्ठ तथा प्रदेश ३ का अध्यक्ष दिने श्रेष्ठलाई कार्यदल सदस्यमा मनोनित गरेको छ । कार्यदलमा अब एकजना विज्ञ पनि रहनेछन् । कार्यदलले दिएको सुझावका आधारमा अघि बढ्ने सहमति भएको छ । छलफलमा अर्थमन्त्री खतिवडाले भइरहेका आन्दोलन फिर्ता लिन आग्रह गरेका थिए तर व्यवसायीले भने सरकारले समस्या समाधानको लागि पहल गर्ने गरी लिखित प्रतिबद्धता जनाउनु पर्ने माग राखेका थिए । त्यसपछि कार्यदल बनाउने र कार्यदलले जे सुझाव दिन्छ त्यसैका आधारमा अघि बढ्ने समझदारी बनेको हो ।