Logo

राजस्व संकलन ५० प्रतिशतले वृद्धि

हेटौंडा- आन्तरिक राजस्व कार्यालय हेटौंडाले वितेको आर्थिक वर्ष २०७५-७६ मा राजस्व संकलनमा उल्लेख्य प्रगति गरेको छ । आब २०७४-७५ को तुलनामा बितेको वर्ष झन्डै ५० प्रतिशतले राजस्व संकलनमा वृद्धि भएको जनाइएको छ ।
आब २०७४-७५ मा २ अर्ब ९३ करोड १५ लाख ९० हजार रुपैयाँ राजस्व संकलन भएकोमा आव २०७५-७६ मा ४ अर्ब २८ करोड ५२ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । अघिल्लो आवको तुलनामा बितेको वर्ष ४६ दशमलव १८ प्रतिशत बढी राजस्व उठेको हो । कार्यालयले आव २०७५-७६ मा लक्षित राजस्वको ७ दशमलव ४६ प्रतिशत बढी राजस्व संकलन गरेको छ । अनुमान गरिएभन्दा २९ करोड ७५ लाख ३२ हजार रुपैयाँ बढी राजस्व उठेको हो । आन्तरिक राजस्व कार्यालय हेटौंडाका प्रमुख कर अधिकृत सन्त ढकालका अनुसार आयकर र मूल्य अभिवृद्धि करमा अनुमान गरिएभन्दा बढी संकलन भएको छ । आयकर अनुमान गरिएभन्दा पाँच प्रतिशत र मूल्य अभिवृद्धि कर करिब १२ प्रतिशत बढी संकलन भएको ढकालले बताए ।
अन्तःशुल्कबाट सबैभन्दा बढी राजस्व संकलन भएको छ । गत आवमा २ अर्ब ४१ करोड २८ लाख २५ हजार रुपैयाँ अन्तशुल्कबापत कार्यालयलाई प्राप्त भएको छ । अन्तःशुल्कमा लक्ष्य गरिएभन्दा पाँच करोड ९८ लाख २१ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार बितेको आवमा मूल्य अभिवृद्धि करतर्फ ७१ करोड ८४ लाख ६४ हजार, आयकरतर्फ ८८ करोड ३२ लाख ५५ हजार, घरबहाल करतर्फ २ करोड ६२ लाख १३ हजार, स्वास्थ्यतर्फ २० करोड ९५ लाख १९ हजार र शिक्षातर्फ २ करोड १३ लाख २ हजार रुपैयाँ राजस्व संकलन भएको छ । कार्यालयमा १९ हजार ४ सय ४१ व्यावसायिक प्यान लिएका मध्ये १५ हजार ८ सय २ जनाले गत आवमा कर तिरेका छन् । त्यस्तै भ्याटमा दर्ता भएका ३ हजार ६ सय ३९ मध्ये ८ सय ५ जनाले विवरण पेश गरेका छैनन् ।¬

प्रतिक्रिया दिनुहोस्