कारोबार संवाददाता
शुक्रवार, श्रावण ३, २०७६
2196

देश चरम आर्थिक संकट उन्मुख देखिएको छ । नेपाल राष्ट्र बैकले ११ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार चालु खाता घाटा बढेसंगै शोधनान्तर स्थिति तथा ब्यापार घाटा अनियन्त्रित ढंगले बढेको देखिएपछि देश गहिरो आर्थिक संकटउन्मुख भएको देखिएको हो ।
राष्ट्र बैकका अनुसार ११ महिना अर्थात जेठ मसान्तसम्ममा चालु खाता घाटा विस्तार भई २ खर्ब ४८ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको जेठ मसान्तसम्मा चालु खाता घाटा २ खर्ब १० अर्ब २४ करोड रहेको थियो । चालु खाता घाटा बढेसंगै शोधनान्तर स्थिति पनि ९० अर्ब ८३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४ अर्ब ३४ करोडले घाटामा रहेको थियो । शोधनान्तर स्थिति भनेको देश भित्र आउने तथा बाहिरिने रकम बिचको फरक हो ।

राष्ट्र बैकका अनुसार आर्थिक वर्ष २०७५-७६ को एघार महिनामा कुल वस्तु निर्यात १८.७ प्रतिशतले वृद्धि भई ८७ अर्ब ८३ करोड पुगेको छ भने कुल वस्तु आयात १७.३ प्रतिशतले बढेर १२ अर्ब ९९ अर्ब ८० करोड पुगेको छ । जेठ मसान्तसम्ममा कुल वस्तु व्यापार घाटा १७.२ प्रतिशतले वढे १२ खर्ब ११ अर्ब ९६ करोड पुगेको भन्दै राष्ट्र बैकले उक्त अवधिमा निर्यात–आयात अनुपात ६.८ प्रतिशत रहेको जनाएको छ ।
गन्तव्यका आधारमा भारततर्फ ३३.३ प्रतिशत र अन्य मुलुकतर्फ १.५ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा २७.१ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पोलिष्टर यार्न, जुटका सामान, चाउचाउ, दाल, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, तयारी पोशाक, जुत्ता तथा चप्पल, छाला, पश्मिना लगायतका वस्तुहरुको निर्यात घटेको छ ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात १५.१ प्रतिशत, चीनबाट भएको आयात ३०.७ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १६.१ प्रतिशतले बढेको छ भने वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपुर्जा, तयारी पोशाक, एम.एस. बिलेट, विद्युतीय सामान लगायतका वस्तुको आयात बढेको छ
ब्यपार घाटा बढेसंगै कुल विदेशी विनिमय सञ्चिति पनि घटेको छ । २०७५ असार मसान्तमा ११ खर्ब ०२ अर्ब ५९ करोड विदेशी विनिमय सञ्चिति रहेकोमा २०७६ जेठ मसान्तमा घटेर १० खर्ब ३० अर्ब ८८ करोड रहेको राष्ट्र बैकले जनाएको छ ।
तर, २०७६ जेठमसान्तमा रेमिटेन्स १७.५ प्रतिशतले वृद्धि भई ७ खर्ब ९९ अर्ब २ करोड पुगेको छ ।
साथै, जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ४.१ प्रतिशत रहेको थियो । अर्थात् २०६७ जेठमा भन्दा २०७६ जेठमा महंगी बढेको राष्ट्र बैकले जनाएको छ ।
११ महिनाको आर्थिक परिसूचकमात्र होइन गत आर्थिक वर्षमा राजस्व तथा खर्चको लक्ष भेट्न पनि असफल अर्थमन्त्री डा युवराज खतिवडाले अर्थतन्त्र संकटउन्मुख हुँदा कुनै नीतिगत परिवर्तन गर्न सकेका छैनन् । उल्टो उनले चालु आर्थिक वर्षको वितरणमुखि बजेट ल्याएर सरकारको दायित्व बढाउने तथा अर्थतन्त्रलाई झन् संकटउन्मुख बनाउने काम गरेका छन् ।