मनोरञ्जन शर्मा
बिहिवार, श्रावण २, २०७६
568

रूपन्देही-सरकारले बुधबारबाट सुरु गरेको वेबमा आधारित ढुवानी प्रणाली (भेईकल एन्ड कन्साईनमेन्ट ट्रयाकिङ सिस्टम) भीसीटीएसको नकारात्मक प्रभाव परेको छ । आन्तरिक रूपमा त मालवाहक ढुवानीका साधन त गुडेनन् नै भारतबाट हुने आयात पनि पूर्णरूपमा प्रभावित भएको छ ।
नेपालकै दोस्रो ठूलो भन्सार नाका भैरहवामा भारतबाट दिनहुँ ३ सय ५० देखि ४ सय ५० को संख्यामा मालबाहक ट्रकहरू आउने गरेकामा बुधबार न्यून मालवाहक ट्रक आएको र भन्सार यार्ड पनि खालीनै रहेको भैरहवा भन्सार कार्यालयका अधिकृत तथा सूचना अधिकृत कलिराम पौडेलले बताए । दैनिक ४० करोडको हाराहारीमा राजस्व संकलन गर्ने यो भन्सारको राजस्व असुली बुधबार ३ करोड पनि नपुगेको पौडेलले जानकारी दिए ।

बुधबार फलफूल, तरकारी र छिटो गल्ने सड्ने केही वस्तु मात्र क्लियरिङ भई भन्सारबाट बाहिरिएका छन् । भारतबाट मालसामान लिएर आउने मालवाहक ट्रकहरू र त्यहाका ट्रान्सपोर्ट कम्पनीहरूले नै नेपालका लागि सामानको लोड गर्न बन्द गरेको बताइएको छ । भारतबाट सामान लिएर आउने मालवाहक ट्रक भन्सार बिन्दुबाट प्रवेश गरेसँगै नेपाल सरकारले सुरु गरेको भेइकल एन्ड कन्साईनमेन्ट ट्रयाकिङ सिस्टममा जानुपर्ने मात्र नभई भारतबाट सामान ढुवानी गर्दाको भाडामा नेपालमा मूल्य अभिवृद्धी करसमेत बुझाउनुपर्ने भन्दै भारतीय मालबाहक ट्रक सेवासँगै त्यहाँका ट्रान्सपोर्ट कम्पनीले मालसामान ढुवानी गर्न छाडेको भन्सार एजेन्टहरूले बताएका छन् ।
बुधबार बिहानै एकाएक भारतीय ढुवानी कम्पनीले आफूहरूले मालसामान नेपाल लिएर आउन नसक्ने भन्दै फोनमा जानकारी गराएपछि अवस्था नाजुक बन्दै गएको थाहा भएको गोयनका गु्रपका अध्यक्ष रामगोपाल गोयनकाले बताए । गोयनकाका उद्योगका कच्चा सामग्री लिएर बुधबार भारतबाट ८ ट्रक आउने भनिए पनि सबैले नयाँ नियमका कारण ढुवानी गर्न ईन्कार गरेको उनले बताए ।
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा अर्घाखाँची सिमेन्ट प्रालिका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले यो पद्धति अझ बढी अध्ययन गरेर ल्याएको भए उत्कृष्ट हुने भन्दै निजी क्षेत्रले सहयोग गर्दा गर्दै पनि अहिलेको यो वातावरण बन्नु दुःखद् भएको बताए । सिस्टमका कारण बुधबार अर्घाखाँची सिमेन्टमा कुनै पनि ट्रकले माल लोड गरेनन् । प्रारम्भमा ठूलो तहबाट परीक्षणका रूपमा सुरु गरेको भए राम्रो हुने र कारोबारको अंक र अन्तरजिल्ला (एकै जिल्ला)को हकमा यो लागू नगरी गैरजिल्लामा सामान ढुवानी गर्दा मात्र अनिवार्य गरेको भए राम्रो हुने अग्रवालको भनाइ छ ।
भन्सार एजेन्ट संघका अध्यक्ष डा. शान्तकुमार शर्माले सरकारले सुरु गरेको यो पद्धति पारदर्शिता अपनाउन उत्कृष्ट भएको र धेरैले स्वागत गरेको भए पनि अझ बढी अध्ययन र सबैलाई यसको महत्वका बारेमा सिकाएर लागू गर्न सकेको भए राम्रो हुने बताए ।
भैरहवा वितरक संघका अध्यक्ष राजकुमार जोशीले सामान बिक्री वितरण र ढुवानीमा असहज भएको भन्दै अर्को व्यवस्था नभएसम्मका लागि होलसेल तथा थोक बिक्री वितरण गर्न रोकेको बताए ।

उद्योग वाणिज्य संघको विरोध

सिद्धार्थ उद्योग बाणिज्य संघ भैरहवाले अनिवार्यरूपमा उद्योगी व्यवसायीलाई प्रत्यक्ष असर पार्ने गरी विनातयारी ल्याइएकोे नियम एकै पटक लागू गर्दा विरोध भएको जनाएको छ । सरकारी निर्णयको विरोधमा संघले बुधबार भैरहवामा विरोध -याली निकालेको थियो ।
-यालीले प्रमुख जिल्ला अधिकारी अर्जुन पोखरेलललाई ज्ञापनपत्रसमेत बुझाएको छ । प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको ज्ञापनपत्रमा नयाँ नियम तथा ऐनले समग्र उद्योग व्यवसाय धरासायी हुने र उपभोग्य वस्तुको मूल्य बढ्ने उल्लेख छ । संघका अध्यक्ष कुलप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्ने सम्बन्धमा सरकारको समेत सहभाागिता हुनुपर्ने, उद्योगी व्यवसायीको पूँजी र कार्यरत श्रमिकका आधारमा ठूला, मझौला र साना उद्योगको वर्गीकरण गरी मापदण्ड बनाई क्रमिक रूपमा ठूला उद्योगबाट लागू गर्दै जाने व्यवस्था गरिनुपर्ने, अस्थायी, दैनिक ज्यालादारी र करारमा कार्यरत श्रमिकलाई कोषमा सहभागिताका लागि बाध्यात्मक गर्न नहुने, तेस्रो मुलुकका कामदार राखेवापत जम्मा गर्नुपर्ने वार्षिक रकम घटाइनु पर्ने, नेपालमा उपलब्ध हुन नसकेको अवस्थामा भारतीय मूलका श्रमिकलाई सूचीकृत गर्ने व्यवस्था सरल र स्थानीय स्तरबाटै हुनुपर्नेलगायतका माग राखिएको छ ।