कारोबार संवाददाता
बिहिवार, श्रावण २, २०७६
416

नयाँ प्रविधि अनुसरण गर्न समय लाग्छ : अर्थमन्त्री

सरकारले मुलुकभर साउन १ गतेदेखि लागू गरेको ‘भेहिकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम’ (भीसीटीएस) लाई चरणबद्ध रूपमा लागू गर्न व्यवसायीले माग गरेका छन् । उनीहरूले यो प्रणाली राम्रो भए पनि यसको कार्यान्वयनमा विभिन्न कठिनाइ रहेकाले चरणबद्ध कार्यान्वयन गर्न माग गरेका हुन् ।
असारदेखि आंशिकरूपमा लागू गरिएको यो पोर्टल बुधबारबाट पूर्ण कार्यान्वयनमा आएको राजस्व अनुसन्धान विभागले जानकारी दिएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले भीसीटीएस प्रणालीको शुभारम्भ गरे । कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले उक्त नयाँ प्रविधि भएकाले केही असहजता भए पनि देशको अनौपचारिक अर्थतन्त्रलाई औपचारिक ‘फ्रेम’मा ल्याउन यो प्रणाली आवश्यक भएको बताए । मन्त्री खतिवडाले अवैध व्यापार, राजस्व छल्ने प्रवृत्तिको अन्त्य हुुनुका साथै वैध व्यापार र राजस्व संकलन दुवै वृद्धि हुने दाबी गरे । “नयाँ आउँदा असजिलो हुन्छ, तर प्रविधिको कुरामा अभ्यस्त हुँदै सिक्दै जाने हो,” उनले भने, “यसले व्यवसायलाई पारदर्शी मात्र बनाउने नभई देशको आधा हिस्सा ओगट्ने अनौपचारिक क्षेत्रको अर्थतन्त्रलाई पनि औपचारिक अर्थतन्त्रमा प्रवेश गराउने छ ।”

कार्यक्रममा सहभागी व्यवसायीहरूले प्रविधिको पहुँच, विषयवस्तुका बारेमा पर्याप्त जानकारी विना यो प्रणाली लागू गर्दा समस्या आउने बताए । उनीहरूले पहिले भन्सार विन्दु र उद्योगबाट लागू गर्दै अन्यत्र लागू गर्न सुझाव दिए ।
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले यो प्रणाली ठीक भए पनि व्यवसायीलाई अभ्यस्त बनाएर मात्रै लागू गर्दा प्रभावकारी हुने बताइन् । उनले अभ्यासमा जानासाथ कारबाहीको कुरा सान्दर्भिक नभएको भन्दै देशैभरीका व्यवसायीलाई यस विषयको अभिमुखीकरण गरेपछि मात्रै यसलाई पूर्ण रूपमा लागू गर्न सुझाव दिइन् ।
नेपाल उद्योग परिसंघका अध्यक्ष शतिष मोरले यसको कार्यान्वयनका लागि सहजीकरण आवश्यक भएको बताए ।
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले साना व्यवसायी तथा स्थानीय ढुवानीकर्ताको हकमा यो व्यवहारिक नभएको भन्दै यसलाई चरणवद्ध रूपमा लागू गर्न माग गरे । विभागले मालवस्तु ढुवानी गर्ने साधनले मालसामान ओसार–पसार गर्नुपूर्व ढुवानी कम्पनी वा व्यवसायीले वा आयातकर्ताले मालसामानको विवरण वेबमा आधारित केन्द्रीय सूचना प्रणालीमा प्रविष्टी गरेर मात्र ओसार–पसार गर्नुपर्ने कानुनी व्यवस्थाबमोजिम विकास गरिएको नयाँ सफ्टवेयर प्रणालीको विकास गरी कार्यान्वयनमा ल्याएको हो ।
भीसीटीएस व्यावसायिक प्रयोजनका लागि देशभित्र मालसामान ओसारपसार गर्नुअघि ढुवानी गरिने सामानको विवरण निर्धारित वेब पोर्टलमा ‘इन्ट्री’ गराउनुपर्ने व्यवस्था हो । सरकारले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ) ऐन २०५२ अनुसार यो प्रणाली लागू गरेको हो ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले अहिलेनै धेरै व्यवसायी प्रणालीमा आवद्ध भइसकेकाले यसको कार्यान्वयनमा समस्या नआउने बताए । उनले तीन महिनासम्म यसलाई प्रवद्र्धन गर्ने गरी विभागले कार्यक्रम लागू गरेको जानकारी दिए ।