कारोबार संवाददाता
बिहिवार, श्रावण २, २०७६
332

अर्घाखाँचीको सीतगंगा नगरपालिकाले आर्थिक वर्ष ०७६-७७ को बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । असार १० गते पाँचौं नगरसभामा सर्वसम्मत रूपमा पारित भएको नीति तथा कार्यक्रमअनुसार नगरपालिकाले औपचारिक रूपमा बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेको हो ।
स्थानीय सरकारले असार १० गते बजेट ल्याउनुपर्ने निर्देशन गरे पनि असार ३० गते सीतगंगाले बजेट ल्याएको छ । भौगौलिक रूपमा नेपालकै सबैभन्दा ठूलो नगरपालिका सीतगंगाले नेपाल सरकारको समानीकरण अनुदान र सशर्त अनुदान ४० करोड, संघीय सरकारको राजस्व बाँडफाड १४ करोड, सामाजिक सुरक्षाभत्ता संघबाट प्राप्त हुने रकम ९ करोड, आन्तरिक आय २ करोड ८८ लाख १० हजार, अघिल्लो वर्षको बचत ३ करोड ५० लाख र प्रदेशबाट समानीकरण अनुदान र राजस्व वाँडफाडको १ करोड ७० लाख गरी जम्मा ७८ करोड ३० लाख ८१ हजार विनियोजित रकम नगर उपप्रमुख टीका रेश्मीले प्रस्तुत गरेका थिए । जसमा चालू खर्च ४६ करोड ९८ लाख र पूँजीगत खर्च ३१ करोड ३२ लाख ८१ हजार छ ।

वडास्तरबाट आएका योजनामा १३ करोड रकम विनियोजन गरिएको छ । यो आवको पाचौं नगरसभाले नगरपालिकाको भवन निर्माण, पाँचवटा वडा कार्यालय भवन निर्माण, पर्यटन तथा उत्पादनको आधारमा कृषि अनुदान र नगरभित्रका मुख्य ४ वटा सडकलाई सहिदको नाममा नामकरण गरी प्राथमिकतामा राखिएको नगर प्रमुख सूर्यप्रसाद अधिकारीले बताए । दुईवटा गाउँपालिका बन्ने क्षेत्रफल भएको क्षेत्रलाई एउटै सीतगंगा नगरपालिका बनाउँदा विकासले फड्को मार्न नसकेको नगरसभाले ठहर गरेको छ । आफैँमा भूगोलले ठगेको सीतगंगा नगरपालिका ७ सय ५० वर्गकिलोमिटरमा फैलिएको नगरपालिका हो ।
नीति तथा कार्यक्रममा नगरस्तरीय बहुवर्षीय ठूला पूर्वाधार सडक, नगरस्तरीय मझौला पूर्वाधार सडक, नगरस्तरीय साना पूर्वाधार सडक प्राथमिकतामा राखिएको छ भने सिँचाइलाई पनि विशेष जोड दिइएको छ । सीतगंगा नगरपालिकाको क्षेत्रभित्र कम्तीमा ५० प्रतिशत नगरबासीलाई रोजगारी प्रदान गर्ने गरी तारे होटल, रिसोर्ट, होमस्टे, भ्युटावर निर्माण गर्ने निजी लगानीकर्तालाई ५ वर्षको व्यवसाय कर छुट दिइनुका साथै पहुँच मार्ग, विद्युत्, खानेपानीको व्यवस्थापन नगरपालिकाबाट गरिने नीति अगाडि सारेको छ ।