कारोबार संवाददाता
शुक्रवार, असार २७, २०७६
225

धनगढी-सत्ता र प्रतिपक्षका सांसदहरूको कडा विरोधकाबीच सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७६÷०७७ को बजेट पारित भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलले सत्तापक्षका सांसदमाथि ह्वीप जारी गरेपछि प्रदेश सरकारको बजेट सुदूरपश्चिम प्रदेशसभाबाट सर्वसम्मतिमा पारित भएको हो । बिहीबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले सांसदहरूको प्रश्नको जवाफ दिँदै बजेट पारित गर्न प्रस्ताव पेश गरेका थिए । मन्त्री बोहराको प्रस्तावलाई सभामुख अर्जुनबहादुर शाहले निर्णयार्थ पेश गरेपछि सत्तारुढ नेकपा सांसदले बजेट पास गर्न ‘हुन्छ’ भनेका थिए । तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद्हरूले ‘हुन्छ’ वा ‘हुन्न’ मध्ये कुनै पनि जवाफ दिएनन् ।
आर्थिक वर्ष २०७६-७७ को राजस्व र व्ययको अनुमान (बजेट) कार्यान्वयन गर्न बनेको विधेयक २०७६ र विनियोजन विधेयक २०७६ पारित गर्न अर्थमन्त्री बोहराले प्रस्ताव पेश गरेका थिए । बिहीबार बिहानको सुदूरपश्चिम प्रदेशसभाको बैठकमा बजेटमाथिको छलफल सकिएपछि बिहीबार दिउँसो ३ बजे बोलाइएको थियो ।

बजेट पास भएपछि प्रतिक्रिया दिँदै अर्थमन्त्री बोहराले सबैलाई सन्तुष्ट बनाउन सक्ने खालको बजेट कुनै पनि ठाउँमा आउन नसक्ने बताए । उनले असन्तुष्टि भए पनि बजेट ल्याउनमा आफू सफल भएको प्रतिक्रिया दिए ।
यसअघि, प्रदेश सभामा बजेटमाथि छलफलको क्रममा सांसद्हरूले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री बोहराले बजेटलाई सन्तुलित बनाउन प्रदेश सरकारको मन्त्रिपरिषद्ले नै निर्णय गरेको बताए । उनले अर्थ विविध शीर्षक र भौतिक पूर्वाधार विकास मन्त्रालयमा बचेको रकमबाट बजेट नपुगेको क्षेत्रमा विकासका कार्यक्रम राखी बजेटलाई सन्तुलित बनाउने बताए ।
समानुपातिक सांसद्हरूलाई अन्याय भएको विषयमा कार्यविधि संशोधन गरेर सभानुपातिक सांसदलाई सम्मान हुने गरिने अर्थमन्त्री बोहराले बताए । उनले नियमकानुन न्यूनतम मापदण्ड भएकाले स्वःनियमन भए मात्रै भ्रष्टाचार अन्त्य हुने बताए । “स्वनियमन भएन भने नियत खराव भएका मानिसले जतिसुकै कडा कानुन भए पनि प्वाल पारिहाल्छन्,” अर्थमन्त्री बोहराले भने, “भ्रष्टाचारीलाई कारबाही गर्न प्रदेश सरकार प्रतिवद्ध छ । भ्रष्टाचार भएको छ भने प्रमाणसहित ल्याउनुस् । जुनसुकै कर्मचारी भए पनि हामी कारबाही गर्छौं ।”
आयातलाई प्रतिस्थापन गर्ने मुख्य उद्देश्यका साथ बजेट व्यवस्था गरिएको दावी गर्दै अर्थमन्त्री बोहराले कृषि र निर्यातमुखी उद्योगलाई प्र्राथमिकता दिएको बताए । उनले आउँदो तीन वर्षमा कृषिमा आत्मनिर्भर हुने र निर्यात गर्ने सामग्री उत्पादन गर्ने उद्योगलाई विशेष छुटको व्यवस्था गरेको बताए ।
प्रदेश गौरवको योजनाअन्तर्गत जलविद्युत् निर्माणका लागि समेत प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि बजेट विनियोजन गरेको अर्थमन्त्री बोहराले बताए । जलविद्युत् निर्माणका लागि मोडल तयार भइरहेको भन्दै उनले आगामी आर्थिक वर्षमा २०÷३० मेगावाट विद्युत् उत्पादन गर्ने जलविद्युत् आयोजना प्रदेश सरकारले आफ्नै लगानीमा निर्माण गर्ने बताए ।
अर्थमन्त्री बोहराले प्रदेशका ९ वटै जिल्लामा प्रदेश गौरवमा सडक छनोट भइसकेकाले सोको निर्माणका लागि ४२ करोड रूपैयाँ विनियोजन गरिएको बताए । उनले आवश्यकताका आधारमा साना ठूला सबै क्षेत्रका योजनामा बजेट छुट्याएको बताए ।
लामो समयसम्म बजेटकै विषयलाई लिएर अवरुद्ध भएको प्रदेशसभाको बैठक सरकार र प्रतिपक्षीबीच भद्र सहमति भएपछि असार २१ गते मात्रैदेखि सञ्चालन भएको थियो । २२ गतेदेखि लगातार बैठक बसेर प्रदेशसभामा बिहीबारसम्म बजेटमाथि छलफल गरिएको थियो ।

आउँदो बजेट ९० प्रतिशत खर्च हुन्छ : अर्थमन्त्री
बजेट पास भइसकेपछि अर्थमन्त्री बोहराले सुदूरपश्चिम प्रदेश सरकारको आउँदो आर्थिक वर्षको बजेट अत्यधिक खर्च हुने बताए । उनले संघीय सरकारले धेरैजसो कार्यालयहरू प्रदेश सरकार मातहत दिइसकेको र कर्मचारीसमेत समायोजन भएकाले बजेट कार्यान्वयनको आधार पनि तयार भएको बताए । उनले प्रदेश लोकसेवा विधेयक प्रदेशसभामा आइसकेकाले सो विधेयक पास गरी कर्मचारी भर्ना गर्ने र करारमा समेत कर्मचारी भर्ना गरी आउँदो वर्ष ९० प्रतिशत भन्दा बढी बजेट खर्च गर्ने बताए ।
प्रदेश सरकारको चालू आर्थिक वर्षको बजेट ५४ प्रतिशत खर्च भइसकेको अर्थमन्त्री बोहराले बताए । उनले भौतिक प्रगति भइसकेको र भुक्तानी गर्न बाँकी रहेको भन्दै आर्थिक वर्ष सकिँदासम्म ७० प्रतिशतभन्दा बढी खर्च हुने दाबी गरे ।

मुकेश चौधरी