लक्ष्मण ढुंगाना
बुधवार, असार २५, २०७६
405

बाँकेको कोहलपुर नगरपालिका–८, का देवेन्द्र अधिकारी टिस्युकल्चर प्रविधिवाट विभिन्न बिरुवा उत्पादन गरी बिक्री वितरण गर्दै आएका छन् । २०७० सालदेखि खजुरा–४ मा ३ लाख लगानी गरेर केराखेती थालेका उनले हाल नेपाल कृषि विकास फार्म मार्फत टिस्युकल्चर ल्याबवाट उत्पादन गरिएका बिरुवा आयात गरेर ग्रिनहाउसमा राखी हुर्काएर देशका विभिन्न जिल्लामा बिक्री वितरण गर्दै आएका छन् । केराको बेर्नाको माग अत्याधिक भएको सम्भावना देखेपछि ०७१ सालमा ६५ लाख रूपैयाँको लागतमा संरचना निर्माण गरी ग्रीन हाउस सञ्चालनमा ल्याएको उनले बताए ।
केराको बिरुवा उत्पादनमा पाएको सफलतासँगै ग्राहकको माग बमोजिम हाल उनले कागती, अनार, लिची, मेवा, आप, भुईंकटहरू, अम्बा, अंगुरलगायत विभिन्न रुखबिरुवा उत्पादन गर्दै आएका छन् । ती मध्य केरा, कागती, अनार, भुईंकटहर र अम्बाको टिस्युकल्चर प्रविधिबाट आयातित बिरुवा हुर्काएर र अन्य बिरुवा कलमी गरेर विभिन्न जिल्लामा बिक्रीवितरण गर्दै आएका छन् । विभिन्न बिरुवाको माग बढ्न थालेपछि करिव एक करोड रूपैयाँ ऋण लिएर स्किन हाउसका साथै नर्सरीमा थप लगानी विस्तार गरेको उनी बताउँछन् । त्यही ग्रिनहाउस र स्किन हाउसवाट उनले वर्षमा ७ लाख बढी टिस्युकल्चर प्रविधिबाट उत्पादन गरिएका केराका बिरुवा बिक्री गर्दै आएका छन् भने १ लाख कागती र २ लाख अन्य बिरुवा बिक्री वितरण गरी मनग्य आम्दानी गर्न सफल भएका छन् ।

यसवर्ष १४ लाख बिरुवा उत्पादन गर्ने लक्ष्य लिएको बताउने अधिकारीको कोहलपुरमा ३, बाबानगरमा १० कट्ठा क्षेत्रफलमा रहेको नर्सरीबाट यसवर्ष सबै खर्च कटाएर ३० लाख रूपैयाँ र बर्दियामा गरिएको केराखेतीवाट थप १५ लाख आम्दानी भएको बताए ।
टिस्युकल्चर प्रविधिका बिरुवामा भविष्य देखेका उनले दैलेखको गुँरास गाउँपालिकामा ४ करोड लगानीमा टिस्युकल्चर ल्याब सञ्चालनको तयारीमा रहेको बताए । आफ्नै ल्याब स्थापनापछि अन्यत्रवाट बिरुवा ल्याएर बिक्री गर्नुपर्ने अवस्थाको अन्त्य हुने उनको भनाइ छ । “यसअघि अरुको ल्याबमा तयार भएको बिरुवा नर्सरीमा ल्याएर हुर्काएर बिक्री वितरण गर्दथ्यौं,” उनले भने, “अब आफ्नै ल्याबमा बिरुवा तयार गरिने छ ।”
उनले सञ्चालन गरिरहेको टिस्युकल्चर ल्याबमा दैलेखको गुँरास गाउँपालिकाले समेत ४९ प्रतिशत लगानी गर्ने भएको छ । गाउँपालिकाले लगानी सुरक्षाका साथै व्यावसायिक बजार योजनामा सहयोग गर्ने र नाफाको २० प्रतिशत गाउँपालिकाले पाउने गरी सम्झौता भएको उनको भनाइ छ । “१० वर्षका लागि सम्झौता भएको सो व्यवसायबाट क्रमस गाउँपालिकाको रकम फिर्ता गरिँदै जाने सम्झौता भएको छ,” उनले भने “यसैवर्ष सञ्चालन गर्ने गरी तयारी भइरहेको छ ।”
हाल उनले बिरुवा बिक्री गर्ने मात्र नभई बर्दियाको गुलरियामा १० विगाह क्षेत्रफलमा व्यावसायिक केरा खेती गरेका छन् भने बारबर्दिया नगरपालिकाको जयनगरमा कागती, मेवा र अंगुर खेती गर्ने तयारीमा रहको उनले बताए । “त्यसका लागि जग्गा भाडामा लिएर प्रारम्भिक काम थालिसकेको छु,” उनले भने, “शुरुको वर्ष १७ लाख लगानी हुने अनुमान छ ।”
उनले सञ्चालन गरेको फार्ममा १२ जनाले पूर्णरूपमा रोजगारी पाएका छन् भने अन्य धेरै जना ज्यालादारीमा काम गर्दछन् ।