कारोबार संवाददाता
मंगलबार, असार २४, २०७६
277

म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि करिब ५३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख सञ्जु बरुवालले पाँचौ नगरसभामा ५२ करोड ९५ लाख ९८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । आन्तरिक आयतर्फ ३ करोड ३ लाख, वित्तीय समानीकरण अनुदान १३ करोड ३६ लाख, सशर्त अनुदान २४ करोड ९९ लाख, राजस्व बाँडफाँड ९ करोड १७ लाख ३ हजार, सडक वोर्डबाट ४० लाख, चालु वर्षमा खर्च हुन नसकेर बाँकी रहने २ करोड रुपैयाँ बजेटको स्रोतमा अनुमान गरिएको छ ।
नगर प्रमुख हरिकुमार श्रेष्ठले प्रस्तुत गरेकोे नीति तथा कार्यक्रम पारित भएपछि उपप्रमुख बरुवालले बजेट प्रस्तुत गरेकी थिइन् । उपप्रमुख बरुवालले बजेट प्रस्तुत गर्दै बजेटको लक्ष्य प्राप्तीका लागि राजनीतिक दल, सम्पूर्ण संघ संस्था र नगरवासीको साथ र सहयोगबाट तर्जुमा भएका योजनालाई प्रभावकारी र वैज्ञानिक दंगबाट कार्यान्वयन गर्नुपर्ने बताइन् ।

बेनीदेखि वडा कार्यालय जोड्ने सडक स्तरोन्नति गर्ने, कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउने, निजी र सहकारी क्षेत्रसँग साझेदारी गर्ने, लैंगिक समानता र समावेशी बनाउने, पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रर्वद्धन गर्ने नीति तथा कार्यक्रममा उल्लेखित विषय पुरानै राखिएको नगरप्रमुख हरिकुमार श्रेष्ठले बताए ।
एक वडा एक युवा क्लव, एक खेलमैदान, साना सिँचाइलाई प्राथमिकता दिने, अण्डा, दूध र मासुमा आत्मनिर्भर बनाउने, विद्यार्थी अनुपातका आधारमा शिक्षक दरबन्दी मिलान गर्ने, नगर शिक्षा कार्यविधिको प्रभावकारी कार्यान्वयन गर्ने, सामुदायिक विद्यालयबाट एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई प्रोत्साहित गर्ने, युवा स्वरोजगारका लागि सिपमूलक तालिम सञ्चालन गर्नेलगायत केही नयाँ कार्यक्रम पनि समावेश भएको छ ।

धिरन खत्री