कारोबार संवाददाता
बुधवार, असार ११, २०७६
396

मेलम्ची नगरपालिका–३ हैबुङका पूर्ण तामाङलाई विश्वसामु नेपाल चिनाउनका लागि आफ्नो जिल्लाका संस्कृति विशेष गरी बाह्य पर्यटकलाई देखाउने लक्ष्य छ । जिल्लामा भएका धार्मिक तीर्थस्थलको प्रवद्र्धनका साथै नेपालीको अतिथि सत्कारको शैलीका कारण पर्यटकले खुलेरै प्रशंसा गरून् भन्ने उनको अर्काे उद्देश्य हो ।
सिन्धुपाल्चोकमा भएका पर्यटकीय आकर्षक गन्तव्यबारे विदेशीहरूमा जानकार नभएकै कारण कला संस्कृति ओझेलमा परेकाले उनी पर्यटक आकर्षित गर्ने अभियानमा रहेको बताउँछन् । “सरकारले सन् २०२० लाई पर्यटन घोषणा गरेको छ, यो समयमा यहाँ आउने विदेशीलाई खुसी पार्नु प्रमुख ध्येय हुनेछ,” उनी भन्छन्, “यो हाम्रो लागि देश चिनाउने सुनौलो अवसर हो ।” उनले यहाँ आइपुग्ने पर्यटकलाई कसरी खुसी पार्न सकिन्छ भन्ने योजना बुनिरहेका बताए । अहिले आएका पाहुनालाई खुशी पार्न सके त्यसको प्रभाव पछिसम्म पर्ने भएकाले पर्यटक पल्काउनका लागि अहिले मेहनत गुर्नपर्ने उनको भनाइ छ ।

पूर्णको योजनामा गाउँका युवाहरूको पनि साथ छ । त्यसैले उनी आफ्नो गाउँबाट प्रतिनिधित्व गरेर सदरमुकाम चौतारामा सञ्चालित अतिथि सत्कार व्यवस्थापन तालिममा सहभागी छन् । नेपाल स्पिकर व्यूरोको आयोजनामा गाउँमा होमस्टे सञ्चालन गरिरहेका व्यवसायीहरूलाई प्रदान गरिएको तालिममा उनी आफू उत्सुकताका साथ सहभागी भएको बताउँछन् । “हामी अझै धेरै सिक्दैछौं, प्रशिक्षकले के दिने भन्दा पनि आफूले के लिने भन्न्ेमा ध्यानकेन्द्रीत छ,” उनले भने, “आफूलाई पहिलेदेखि नै रुचि भएको विषय भएकाले व्यवसायलाई थप प्रवद्र्धन गर्नक लागि यो निकै फलदायक हुने विश्वास छ ।”
पर्यटन वर्ष २०२० लाई लक्षित गरि नेपाल सरकार प्रदेश नं. ३ उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयको सहयोगमा होमस्टे एसोसिएसन अफ नेपालले कार्यक्रमको संयोजन गरेको हो । विशेष गरी जिल्लाका विभिन्न हिमाली गाउँमा होमस्टे सञ्चालन गरिरहेकाहरूलाई अतिथि सत्कारका लागि थप मद्दत पुग्ने हेतुले यस्तो तालिम प्रदान गरिएको हो ।
जिल्लाका विभिन्न गाउँका ४० प्रशिक्षार्थीसँगै भेटिएका मेलम्ची नगरपालिका गिरानचौरका भोलानाथ लामिछानेसमेत संस्कृतिको विकाससँगै आयआर्जन बढाउने लक्ष्यका साथ तालिममा सहभागी छन् । धर्मुस–सुन्तली फाउण्डेसनद्धारा निर्माण गरिएको एकिकृत बस्तीमा रहेका उनी त्यहाँ आउने पर्यटकलाई खुसी तुल्याउनका लागि तालिममा सहभागी भएको बताउँछन् । “नमुना एकीकृत बस्ती हेर्न आउनेहरू थुप्रै हुन्छन्, उनीहरूका लागि आरामदायी बास र सहज सुत्ने व्यवस्था अझै राम्रोसँग हुन सकेको छैन,” उनले भने, “आफ्नो गाउँमा आउने पर्यटकलार्ई थप सुविधा र उच्च सम्मानका साथ सत्कार गर्ने विधि सिक्नकै लागि यहाँ आइपपुगेको छु ।” उनले विदेशीले रुचाउने खानेकुरा पकाएर खुवाउनका साथै आफ्नो व्यवसाय प्रवद्र्धन नै पहिलो रोजाई राखेर तालिममा सहभागी भएको सुनाए ।
विशेष गरी पर्यटन वर्षलाई लक्षित गरिए पनि गाउँका युवालाई आत्मनिर्भर बनाउनका लागि यो तालिमको आयोजना गरिएको आयोजकको दाबी छ । “यसले असुरक्षित वैदेशिक रोजगारीलाई न्यूनीकरण गर्दै गाउँमै रोजगारीको वातावरण सिर्जना गर्दछ,” आयोजक नेपाल स्पिकर ब्युरोकी प्रतिनिधि एवं कार्यक्रम संयोजक सीता थापाले भनिन्, “गाउँमै होमस्टे सञ्चालन गरेर युवाहरूलाई आर्थिक रुपमा अब्बल बनाउने योजना पनि हो ।” उनले यो तालिमबाट युवाहरूले प्राकृतिक स्रोतको व्यवस्थापन गर्दै युवाहरूलाई जीविकोपार्जनमा थप सहयोग पुग्ने बताइन् ।
तालिममा जिल्लाका मेलम्ची नगरपलिका, भोटेकोसी गाउँपालिका, जुगल गाउँपालिका, बाह्रबिसे नगरपालिका, बलेफी गाउँपालकाका हामेस्टे सञ्चालकहरू सहभागी छन् । तालिममा पर्यापर्यटनमार्फत आफ्नो गाउँ समृद्ध निर्माणका लागिसमेत महत्वपूर्ण हुने संयोजक थापाको दाबी छ । “अहिले प्रकृति देखाएर व्यवसायीहरूले आयआर्जन गरिरहेका छन्,”’ सीता भन्छिन्, “घर, आँगन, टहराबाट पनि पर्यावरण पर्यटनभित्र रहेर उपयुक्त होमस्टे सञ्चालन गर्न सकिन्छ ।” उनले यो तालिममा पर्यावरणमैत्री पर्यटनलाई समेत जोड दिइएको जानकारी दिइन् ।

किशोर बुढाथोकी