कारोबार संवाददाता
बुधवार, असार ११, २०७६
275

वीरगन्ज- बाराका दुई वटा उपमहानगरपालिका मध्य एउटा उपमहानगरपालिकाले मात्रै बजेट ल्याएको छ । बाराको सबैभन्दा पुरानो कलैया उपमहानगरपालिकाले भने जनप्रतिनिधिहरूकै अवरोधले अधिवेशन हुन सकेन । उपमहानगरपालिकाको अधिवेशनको तयारी हुँदा असन्तुष्टि जनाउँदै उपमेयर नजमा खातुनको नेतृत्वमा जनप्रतिनिधिहरू कलैया उपमहानगरपालिकाको मूलगेटमा धर्ना बसेपछि अधिवेशन हुन नसकेको हो ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले भने आगामी आर्थिक वर्षका लागि १ अर्ब २८ करोड रूपयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । उपमहानगरपालिकाको तेस्रो नगरसभामामा उपप्रमुख सरस्वतीदेवी चौधरीले १ अर्ब २८ करोडभन्दा बढीको बजेट प्रस्तुत गरिन् । उपप्रमुख चौधरीले आयतर्फ संघीय सरकारबाट प्राप्त २९ करोड २० लाख, प्रदेश सरकारबाट प्राप्त हुने ८९ लाख ५४ हजार, वित्तीय समानीकरण अनुदान स्वरूप ३ करोड, राजस्व बाँडफाँडतर्फ नेपाल सरकारबाट प्राप्त हुने २० करोड ४९ लाख अनुमान गरिएको छ । त्यस्तै प्रदेश सरकारबाट १ करोड ९९ लाख १२ हजार गरी जम्मा २२ करोड ४८ लाख १२ हजार, सशर्त अनुदानतर्फ नेपाल सरकारबाट ३८ करोड २८ लाख र प्रदेश सरकारबाट २ करोड, विशेष अनुदान र समपुरक अनुदान स्वरूप ४ करोड, आन्तरिक राजस्व प्रक्षेपण २० करोड, विकास कार्यमा जनसहभागिता स्वरूप २ करोड र चालू आर्थिक वर्षको बचत मौज्दात १० करोड गरी कुल १ अर्ब २८ करोड ८५ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।

उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा सडक तथा यातायात सञ्जाल निर्माण, शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालनको व्यवसायीकीकरण, आवास तथा सहरीकरण, चुरे संरक्षण तथा नदी नियन्त्रण, गरिवी निवारण, युवा तथा खेलकुदलगायत क्षेत्रलाई प्राथमिकता दिएको छ ।
यसअघि नगरसभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपमहानगरपालिकाका प्रमुख डा. कृष्ण पौडेलले आगामी वर्ष उपमहानगरभित्र निर्माणाधीन राष्ट्रिय गौरवका योजनालाई स्थानीयस्तरबाट सहयोग र संयोजन गर्ने बताए । त्यसैगरी आगामी वर्ष यातायात र सडक सञ्जाललाई मुख्य प्राथमिकतामा राखिएको उनले जानकारी दिए ।